भारतमा पनि कोरोनाविरुद्ध खोप बितरण गर्ने तयारी, एकपटकमा २ सय जनासम्मलाई लगाइने

भारत सरकारले कोरोनाविरुद्ध खोप लगाउन  ११२ पृष्ठ लामो गाइडलाइन बनाएकाे छ। 

स्वास्थ्य मन्त्रालयको टोलीले नेसनल एक्सपर्ट ग्रुप अन भ्याक्सिन एडमिनिस्ट्रेसन (एईजीभीएसी) ले बनाएकाे उक्त गाइडलाइन समीक्षा गरिरहेको छ।

गाइडलाइनअनुसार राज्य तथा केन्द्र प्रशासित राज्यले आफ्नो क्षेत्रमा खोप लगाउने अभियान सुरु गर्ने मिति आफैंले तोक्न सक्नेछन्। 

सुरुमा देशमा अग्रपंक्तिमा काम गर्ने तथा कोरोनाको अति जोखिममा रहेका नागरिकलाई खोप दिइने सरकारले जनाएको छ।

तर, हरेक चरणमा सय जनालाई मात्र काेराेना भाइरसविरुद्धकाे खोप दिइनेछ। 

खोपको उपलब्धता तथा माग बढी भए एकपटकमा २ सय जनासम्मलाई पनि दिन सक्ने जनाइएकाे छ। 

भारतको केन्द्र सरकारले ६ देखि ८ महिनासम्ममा ३० करोड नागरिकलाई खोप लगाउने तयारी गरेको छ। त्यसका लागि ६० करोड खोप खरिद गरिनेछ।

जसमा सिरम इन्स्टिच्युट, भारत बायोटेक, जायडस र स्पुतनिकका खोप पर्छन्।

एईजीभीएसका प्रमुख एवं नीति आयोगका सदस्य डा. बिके पालले खाप भण्डरणका लागि २ देखि ८ डिग्रीसम्मको तापक्रमको भण्डारस्थल व्यवस्था भइरहेको जानकारी दिएका छन्। उनका अनुसार चार किसिमका खोप सजिलै भण्डारण गर्न सकिनेछ। 
 

प्रकाशित मिति: : 2020-12-13 07:47:00

प्रतिकृया दिनुहोस्