डा. अरुणा उप्रेती
यस वर्षको दसैंमा ‘लाङटाङ’ मा घुम्न गइयो । ‘कोरोना’ को जाँच गरेको कागज पनि लाङटाङ जान चाहिन्छ भन्ने सुनियो । हाम्रो जाँच गरेको थिएन, ‘जो होगा, देखा जाएगा’ भनेर लाङटाङ पुग्दा त्यस्तो कागज कसैले मागेन । त्यहाँ कोही पर्यटक पनि थिएनन् ।
काठमाडौंको उकुस–मुकुस र धुवाँबाट मुक्त भएर लाङटाङ पुग्दा एकातिरबाट नदीको कलकल आवाज, अर्कोतिर झ्याँउकिरीको झ्याउँ झ्याउँ । कहिलेकाहिँ हावा चलेर पातहरु बजेको आवाज सुन्दा मन धेरै नै आनन्दित भयो ।
सात दिन लाङटाङको यात्रा गर्दा मलाई न इमेलको याद आयो, न पत्रपत्रिका, न टीभी । यहाँसम्म कि सात दिनसम्म कहिले ६ घण्टा, कहिले १० घण्टा हिँडिरहँदा पनि थकाइको अनुभव भएन । खुट्टा पनि दुखेनन् ।
स्याफ्रुबेंसीबाट हिँडेदेखि नै मैले कुनै खास ठाउँ पुगेर मात्र बास बस्नुपर्छ भन्ने भावना त्यागें । जहाँ रात पर्छ, त्यहीँ बसुँला भन्ने विचार गरेर हिँडेको हुनाले लाङटाङको खोलासँगै हिँडिरह्यौं । हिँडाइ नै गन्तव्य थियो । कुनै ठाउँमा पुग्नैपर्ने लक्ष नलिएकाले प्रकृति हेर्दै, हिँड्दै जंगल र खोलाको आनन्द लिइयो ।
‘कोरोनाका बेला नजाऊ’ भन्ने थुप्रै थिए । तर परिवारसँग आफ्नै देशमा घुम्न जाने विचारले लाङटाङ यात्रा गर्दा लाग्यो, गएर ठीक गरिएछ । सात वर्षअघि यात्रा गर्दा यस्तो राम्रो ठाउँमा पुनः परिवारका सदस्यहरु लिएर आउँछु नै भन्ने विचार गरेकी थिएँ ।