डिसेम्बर २०२० सम्म आइपुग्दा कोभिड–१९ भनिने सार्स–कोभ–२ भाइरसका जम्माजम्मी तेह्र खोप अन्तिम परीक्षण चरण पुगेको समाचार बाहिरिएको छ । त्यसमा धेरै खोप परीक्षण चरण पार गरी सर्वसाधारणले लगाउनसमेत सुरु गरेका छन् । कतिपयमा भने यसको कस्तो प्रभावकारिता रहला भन्ने उच्च चासो भेटिन्छ । खोप जतिसुकै प्रकारका भए पनि उनीहरूको अन्तिम लक्ष्य हाम्रो प्रतिरक्षा प्रणालीलाई कोभिड–१९ भाइरस पहिचान गर्न र नष्ट गर्न तालिम दिनु हो । फरक फरक खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई फरक फरक तरिकाबाट भाइरस पहिचान गर्नका लागि सक्रिय गर्ने विधि छन् । कोभिड–१९ को खोप के हो भन्ने सहजै बुझ्न कोभिड–१९ को संरचनाबारे बुझ्न जरुरी छ ।
विश्वसनीयताको हिसाबमा अन्य भाइरसका खोप र कोभिड–१९ को खोपमा कुनै फरक देखिन्न । सबै तोकिए हाराहारीकै भरपर्दा हुने निश्चित रहन्छ ।
सार्स–कोभ–२ भाइरस न जिउँदो न त मरेको भन्न मिल्ने एक प्रकारको पार्टिकल (कण) हो । भाइरस नामक जन्तुको जेनेटिक–कोड आरएनए निर्मित हुन्छ । उक्त कोडमा कन्ससनेस वा जैविक स्मृति भनिने सूचनाहरू सुरक्षित रहन्छन् । कोभिड–१९ सूचनाहरू जब मानव कोशिकाभित्र पुग्न पाउँछन् तब मानव कोशिकाभित्रकै पोषण र ऊर्जा शक्ति आदिको प्रयोग गरी आफ्नो पार्टिकल बनाउन चाहिने सम्पूर्ण पार्टपुर्जा बनाउन मानव कोशहरूलाई नै सजिलै परिचालन गरिदिन सक्ने निर्देशनहरू रहने गर्छन् । कोभिड–१९ को आरएनएको जेनेटिक कोडमा रहेको प्रोटिन बनाउने सूचना यही विधि पछ्याएर हाम्रो कोशिकाको सिस्टमलाई नै ह्याक गरी हाम्रो शरीरको सेलहरूलाई अनगिन्ती कोभिड–१९ कणहरू बनाउन बाध्य पारी शरीरभित्र व्यापक संक्रमण फैलाउन र हामीलाई हायलकायल बनाउन सक्षम बनिदिन्छ ।
कोभिड–१९ को कण बोसोको पातलो सुरक्षात्मक खोलभित्र लुकेको जेनेटिक कोडयुक्त आरएनए र मानव कोशिकाको झिल्लीलाई प्वाल पारेर भित्र छिर्न सघाउने रौँ जस्ता स्पाइक प्रोटिनहरूबाट निर्मित हुन्छ । खोप बनाउन पहिला सार्स–कोभ–२ भाइरसको आरएनएमा भेटिने जेनेटिक कोडहरू झिकियो । उक्त कोडहरूबाट कोभिड–१९ संक्रमण हुँदा मानव कोशिकाको झिल्लीलाई प्वाल पारेर भित्र छिर्न सघाउने सार्स–कोभ–२ भाइरसको रौँ जस्ता स्पाइक प्रोटिनहरू बनाउन चाहिने निर्देशन रहेका जेनेटिक कोडको टुक्रा छुट्टाएर निकालियो । निकालिएको टुक्रालाई अत्यन्त सानो बोसोको ‘न्यानो पार्टिकल’ भित्र प्याक गरी कैद गरिदिएर ल्याबमा निर्मित सेन्थेटिक आरएनए बनाइयो ।