गौतम बुद्ध उद्यानको ‘सेल्फी ब्रिज’मा पर्यटकको भीड (तस्वीर)

लुम्बिनी प्रदेशमा पर्ने रुपन्देहीको खैरेनीबजारको चोकबाट साढे दुई किलोमीटर उत्तरतर्फ पुग्दा मंगलवार पर्यटकहरुको चहलपहल थियो। 

बुद्ध सामुदायिक वनको स्वमित्वमा रहेको करिब आठ हेक्टर क्षेत्रफलमा सुन्दर उद्यान निर्माण गरिएको छ। 

वन समितिका सदस्य हरि पौडेलले ‘पिकनिक स्पट’बाट सुरु भएको उक्त ठाउँ अहिले उद्यानको रुपमा विकासित गरिएको बताए। यो क्षेत्र अहिले पर्यटक घुमघाम र मनोरञ्जन गर्ने प्रमुख गन्तव्य बनेको छ।

नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यले गत वर्ष ‘देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६’ आयोजना गरिएको थियो। उक्त कार्यशालाको आयोजक बुद्ध सामुदायिक वन उपभोक्ता समूह, देवदह नगरपालिका पर्यटन प्रवद्र्धन समिति र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र प्रवद्र्धकको रुपमा ड्रिम देवदह ‘युनिटी फर चेञ्ज’ रहेका थिए। 

एक हप्ता चलेको कार्यशालामा देशभरिका १७ जना मूर्तिकारहरुले देवदहको इतिहाससँगै बुद्धसँग जोडिएका जीवनी झल्काउने कलात्मक काठका मूर्तिहरू बनाएका थिए। विभिन्न आकृतिमा बनेका मुर्तिहरु उद्यानका विभिन्न भागमा सजाएर राखिएका छन्। 

यी सुन्दर काष्ठकलाका मूर्तिहरु भुवन थापा, राजन काफ्ले, लक्ष्मण भुजेल, राजु पिठाकोटे, प्रथमराज बज्राचार्य, बुद्ध चौधरी, भीमबहादुर श्रेष्ठ, हरिराम अधिकारी, दिनेश्वर महतो, केडी याख्या, अनमारी तामाङ, विशाल सारु मगर, कुमार थापा र हरिबहादुर थापाजस्ता चीर–परिचित मूर्तिकारले सिजना गरेका थिए। 

काष्ठकलाले यो उद्यानको प्रचारप्रसारमा ठूलो सहयोग पुर्‍याएको छ। त्यसपछि यो ठाउँको चर्चा एकाएक चुलियो। देशका विभिन्न ठाउँबाट मूर्ति निर्माण गर्ने बेलामा हजारौँ आगन्तुक आए। 

देवदह सेरोफेरोमा दर्जनाैँ सामुदायिक वन छन्। तीमध्ये सबैलाई समेट्ने गरी बुद्ध सामुदायिक वनमा पार्कको निर्माण भएको हो। देवदह नगरपालिकाभित्र पर्ने सामुदायिक वन समितिहरु मिलेर विभिन्न संघ–संस्थाको सहयोगमा ‘गौतम बुद्ध राष्ट्रिय उद्यान’ को रुपमा नामाकरण गरिएको थियो। 

यो उद्यान प्राचीन ‘कोलिया राज्य’ को राजधानी देवदहबाट करिब ६–५ किमी उत्तर गोठादी मार्गमा पर्छ। उद्यान एउटा प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भइसकेको छ। 

यहाँ आउने पर्यकटहरुलाई बुद्धको समग्र जीवनी र इतिहास जान्नबुझ्न पाउने देवदह–४ भवानीपुर निवासी कोलिया राज्य बुद्ध मावली समितिका निवर्तमान अध्यक्ष तथा समाजसेवी क्याप्टेन चन्द्रबहादुर राना मगरले जानकारी दिए। 
       
देवदह सिद्धार्थ गौतमकी आमा मायादेवीको माइती गाउँ हो, जो गौतम बुद्धको मावलीका रूपमा परिचित छ। 

अहिले उद्यान निर्माण कार्य र सजाउने काम धमाधम भइरहेको छ। बगैँचा निर्माणदेखि झरना, ताल, झोलुङगे पुल, चिल्ड्रेन पार्क, रिङरोडलगायत निर्माण गर्ने अवधारणा रहेको सदस्य पौडेलले बताए। 

उद्यानको प्रमुख आकर्षण भनेको काष्ठकला र ‘सेल्फी ब्रिज’ हो। हामी मंगलवार पार्कमा पुग्दा कोही बुद्धका मूर्ति अवलोकन गर्दै थिए। 

कोही पर्यटकहरु काठले बनेका पुलमा उभिएर फोटो खिच्नमा मस्त थिए।खैरेनी, बुटवल, पोखराका एक हुल युवतीहरु जीया, सृष्टि, जया , रोशनी विभिन्न ‘पोज’मा धमाधाम सेल्फी खिच्दै रमाइरहेका थिए। 

विगत केही महिना कोरोना महामारीले आगन्तुकको केहि कमी भयो। वरिपरीका ठाउँबाट र छिमेकी जिल्लाबाट भने पर्यटक नियमित आइरहेका संयोजक समरबहादुर खड्काले बताए। 

हिजोआज दैनिक तीन सयको हाराहारीमा पर्यटक पार्क भ्रमणमा आउनेगरेका छन। शनिवार र अरु बिदाका दिन भने पर्यटकहरु उल्लेख्य मात्रमा आउने गर्छन। 

कसरी पुग्नेः 

बुटवलबाट पूर्वतिर महेन्द्र राजमार्गमा हुँदै १५ किमी खैरेनी बजार, चोकबाट उत्तर गोठादी मार्ग हुँदै २.५ किमी  गौतम बुद्ध राष्ट्रिय उद्यान पर्छ।

प्रकाशित मिति: : 2020-12-09 14:00:00

प्रतिकृया दिनुहोस्