आन्दोलनरत भारतका किसानले आज (मंगलबार) देशव्यापी बन्दको आह्वान गरेका छन्।
मोदी सरकारले ल्याएको कृषि कानुनविरुद्ध पन्जाब र हरियाणका किसान १२ दिनदेखि आन्दोलनमा छन्। त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन्।
यसै क्रममा उनीहरूले मंगलबार भारत बन्दकाे घाेषणा गरेका हुन्। किसानले दिल्लीलगायत देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेका छन्।
आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन्। यस बन्दका लागि किसानले १८ वटा विपक्षी पार्टीको सहयोग पाएका छन्।
किसान नेता बलवीर सिंह राजोवालले भनेका छन्, ‘बन्द बिहानदेखि साँझसम्म हुनेछ।’
उनका अनुसार आज दूध-सब्जी आपूर्ति रोक्न आह्वान गरिएको छ। तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह रोकिने छैन। चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ।
सोमबार सिंघु बोर्डर र किसानको दोस्रो प्रदर्शन स्थल पुगेका थिए।
सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ। तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन।
सरकारले न्यूनतम समर्थन मूल्यप्रति किसानको आशंका गलत रहेको दाबी गरेको छ। सरकारले कानुनमा केही परिवर्तन गर्न तयार रहेको संकेत दिएको छ तर किसानले तीनवटै कृषि कानुन रद्द नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।
सरकारसँग उनीहरूको अर्काे वार्ता भोलि बुधबार हुनेछ।