बलात्कार मुद्दामा धर्मगुरु सिद्धबाबालाई सफाइ

बलात्कार मुद्दामा धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले सफाइ दिएको छ। 

सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनलाई सफाइ दिएकाे हाे।

सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको अदालतका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले जानकारी दिए। 

सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि उनकाे मुद्धा हेर्ने सरकारी वकिल सरुवा भएकाले  पेशी सार्न माग गरेको थियो।

तर, न्यायाधीश कोइरालाको इजलासले सोमबार पेसी नसर्ने भन्दै सुनुवाई अघि बढाएका थिए। 

पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन।

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।

तीनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरी त्यसविरूद्ध फैसला माग्दै जिल्लन अदालत सुनसरी अदालतमा निवेदन दिन पुगेका थिए। 

गत कार्तिक ४ गते चतरास्थित आश्रममैँ कोठासँगै रहेको बैठक कक्षमा बोलाएर करणी गरेको आरोप छ।

आफूलाई करणी गरेको भन्दै ती पीडित महिलाले एक महिना चार दिनपछि उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको थियो।

त्यसअघि कार्तिक १९ गते 'कृष्णदासजी महाराज'ले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत्‌ आफ्नो चरित्र हत्या गरेको भन्दै ती महिलाविरुद्ध नेपाल प्रहरीको अपराध सनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएका थिए।

पक्राउ पर्नुअघि नर्सिङहोम भर्ना भएका गिरी जिल्ला अदालत सुनसरीको आदेशको पुस १४ गतेको आदेशपछि तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा सिद्धबाबाले आफूविरुद्धको आरोप निराधार भएको बताएका विवरण सार्वजनिक भएका थिए।

 

 

 

प्रकाशित मिति: : 2020-12-07 16:47:00

प्रतिकृया दिनुहोस्