तीन जनाको कमाइले पनि घर चलाउन धौ-धौ (भिडियाेसहित)

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

अमिका परियार, वर्ष ५७। घरः नगरकोट। पूर्ण बहादुर परियार र कान्छी परियारकी माइली छोरी। दिदी र भाइबहिनी गरेर ६ जनाको परिवार।

आमाबाबु दुबै कृषिका साथै डकर्मीको काम गर्ने। त्यसैले घरको आर्थिकस्थिति सामान्य थियो। बुवा पूर्ण बहादुरले उनलाई स्कूल नपठाएका होइनन् तर अध्ययनमा उनको खासै रुची थिएन। त्यसैले उनले बीचैमा पढाई छोडिन। 

अध्ययन अध्यापनमा लाटी भएपनि घरको काम गर्ने कुरामा निकै बाठी थिइन। उनी पुरै समय घरको कामकाजमा बिताउने गर्थिन। २० वर्षको हुँदा उनले नाताले सोल्टी पर्ने आरुबारीका १८ वर्षीय लक्षु परियारसँग बिहे गरिन्। यो २०४० सालको कुरा हो। 

अमिकालाई बिहे गर्ने कुरामा खासै चासो थिएन। तर, काठमाडौँमा घर भएको केटा र हेर्दा सोझो देखिने कारण परिवारको सहमतिमा उनले बिहे गरिन्। 

श्रीमान तीन भाई र एक बहिनीमध्ये माइला थिए। नन्दको पहिले नै बिहे भइसकेको थियो। 

जीवनभर श्रीमानले उनलाई माया गरेनन्। तर, सासुले औधी माया गर्ने। झट्ट हेर्दा सोझो देखिने श्रीमानको असली अनुहार उनले त्यतिबेला थाहा पाइन, जब बिहे गरेको केही दिनमा रक्सी पिएर उनलाई डङ्डङ्कती कुटे।

घरमा आउने लोग्ने मान्छेसँग बोलेको त टाढाको कुरा, बाटो हिँड्दा परपुरुषलाई हेर्दा पनि उनले कुटाई खानुपथ्र्यो।   

भाईको अभद्र व्यवहार देखेर दाजु पहिले नै छुट्टिएर बस्न थालिसकेका थिए। देवर भने उनीहरूसँगै बस्थे। भाईहरूबीच सम्बन्ध त्यति राम्रो नभएपनि देउरानीहरू भने निकै मिल्थे। 

बिहे गरेको दुई वर्षपछि अमिकाले जेठो छोरा रामचन्द्रलाई जन्म दिइन। त्यसको तीन वर्षपछि जेठी छोरा अनिताको पनि जन्म भयो। २८ वर्षको उमेरमा अर्को छोरी अरुणाको पनि जन्म भयो। ४० वर्षमा अर्की छोरी अमिताको जन्म भयो। ४१ वर्षमा छोरा अर्बिन हुँदै ४४ वर्षमा इशानको पनि जन्म भयो। 

तर, जति सन्तान जन्मिएपनि श्रीमानबाट कुटाई खाने उनको नियती भने बन्द भएन। अमिकाले पहिलो सन्तानको रूपमा छोरा जन्माउँदा देउरानीले लगातार तीन वटा छोरीलाई जन्म दिइन्। 

यसपछि घरमा थप कलह उत्पन्न भयो। पुरुष प्रधान समाजमा घरको अंश छोरीलाई नभई छोराको हकमा जाने कारण देवर–देउरानीको मनमा चिसो पसेछ। पछि गएर घर दाजुको छोराको हुने आशंकाका बीच देवर–देउरानीले छुट्टिएर बस्ने र छुट्टिदा घर बेचेर आधा अंश लैजाने प्रस्ताव राखेछन्। जुन प्रस्ताव अमिकालाई स्विकार थिएन। 

उनी घर बेच्ने भन्दा पनि सबैजना सँगै मिलेर बस्ने कुरा गर्थिन। यसले घरमा ठूलै रडाको उत्पन्न भयो। अमिकाको प्रस्ताव विपरित देउरानी गाली गलौचमा उत्रिइन्। अहिले पनि उनको कानमा देउरानीले गरेको गाली गुञ्जिने गरेको छ। 

अमिकाले घर बेच्न नमाने पनि श्रीमानलाई देवर–देउरानीले फकाउन सफल भए। एकदिन उनको श्रीमानलाई २–३ हजार रुपैयाँको प्रलोभन दिँदै मालपोत कार्यालय पुगेर लालपुर्जामा हस्ताक्षर गर्न लगाएछन्। श्रीमानले गरेको हस्ताक्षर अस्विकार गर्दा घर लिलाम हुने र एकपैसा पनि हात नपर्ने डर देखाएपछि उनलाई लागेछ–मर्नुभन्दा बौलाउनु बेस।

चार वटा ढलान गरेको कोठाको घर २० लाखमा बेच्दा उनलाई १० लाख दिने सर्त भएको थियो। तर, उनले ९ लाख १० हजार मात्र पाइन। 

देवर–देउरानीका कारण सस्तोमा घर बेच्नुपर्दा अहिले सुकुम्बासीको जीवन जिउन विवश छ, अमिकाको परिवार। 

उनी भन्छिन्, ‘अरुको घरमा बस्दा आफ्नो घर जस्तो कहाँ हुन्छ? भाग्यमा जे लेखेको छ, त्यही भोग्नुपर्ने रहेछ।’ जवानीमा आफूलाई कुटपिट गर्ने श्रीमान अहिले ५५ वर्षका भए। शारीरिक रूपमा पनि असक्त छन्। 

जेठ छोरा रामचन्द्र ३५ वर्षमा टेके तर अविवाहित छन्। उनी पेन्टिङलगायत अन्य काम गर्छन। विवाहित जेठी छोरी अनिता र नाती आयन पनि आफैसँग बसेका छन्। ‘छोरीको श्रीमान पनि राम्रो भएन। छोरी र नातीलाई छाडेर गइहाल्यो। आफ्नो छोरी हो। माया लाग्छ। त्यसैले सँगै राखेको छु’, उनले भनिन। 

जेठी छोरी भने अहिले ज्याला मजदुरी गर्छिन। हाल नाति खेलाएर बस्ने अमिका घरमा त्यति कै बस्दिनन्। उनी कहिले ज्याला मजदुरी त कहिले खेतालामा बारी खन्न जान्छिन्। ‘श्रीमान अपाङ्ग छन्। काम गर्नेपर्यो’, उनले भनिन। 

८ जना परिवारको पेट पाल्न तीन जनाले गरेको कामले नभ्याएको बताउँदै उनले भनिन्, ‘माइली छोरी अरुणाले महिनामा पैसा पठाइरहेकी छन्। घरमा सबैभन्दा बढी ठेकभर उनले नै गरेकी छन्। उनले पैसा नपठाएको भए सायद हामी भोक्कै हुन्थ्यौंहोला।’

 अरुणा भारतको गोवामा सुपरमार्केटमा काम गर्छिन। विगत ५ वर्षदेखि उनी गोवामा बसेर काम गरिरहेकी छिन्। जो घरका लागि मासिक २०–३० हजार पठाउँछिन्। 

अमिकाको तीन छोराछोरी कमाउने भए पनि उनलाई अरु तीन छोराछोरीको चिन्ता छ। जो ८ र ९ कक्षामा श्री अरुणोदय माध्यमिक विद्यालयमा अध्यनरत छन्। 

‘छोराछोरीको पढाईका लागि हाम्रो खर्च भएको छैन्। विदेशी दाताले पढाइदिई रहेका छन’, उनले भनिन्, ‘उनीहरुले राम्रोसँग पढेर जागिर खाए पुग्छ।’ 

अमिकालाई अहिले एउटा कुराको निकै चिन्ता छ। छोराछोरीले कमाएको पैसाले सानो जग्गा किनेर घर बनाउने। 

‘आफ्नो त उमेर बितिहाल्यो। अब छोराछोरीले गर्छन् भन्ने आश छ। सानो जग्गा किनेर झुपडी बनाएर बस्ने मन छ,’ उनले भनिन्।
 

प्रकाशित मिति: : 2020-12-07 12:21:00

प्रतिकृया दिनुहोस्