औषधि मुखमा हालिदिने सहयोगीकाे चाहना भयाे

जीवनका बिभिन्न आरोह–अवरोह , उकाली–ओराली , सुख–दुःख अनि हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु । 

जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दुःख अनि कष्टहरुसँग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु ।

‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडाहरु केवल मलाई मात्र थाहा छ । 

म देख्थें, मेरो अगाडी लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठूलाठूला पत्थर अनि आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । 

मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ती काँडाहरुलाई पन्छाउनु पर्नेछ, पत्थरहरुलाई फुटाउनु पर्नेछ अनि आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ ।

‘के म यसो गर्न सकुँला र?’ आफैँसँग प्रश्न गर्थें। आफ्नै प्रश्नमा आफैँले उत्तर दिन्थें, कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ।’ अतः मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु। 

‘अब उठ्नै सक्दिन कि’ भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । 

महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधिको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदोरहेछ । 

मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिँड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिँड्नुभन्दा पनि कठिन रहेछ। 

तर, मैले मेरा बहहरु ब्यक्त गर्ने कोसँग? मैले साथीसँगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पीडालाई महसुस गर्नसक्ने कोही देखिनँ। 

आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । 

अतः मेरो हरेक दु:खमा म एक्लै रोएँ, पीडाहरुमा आफैँ सम्हालिएँ अनि अनेकन समस्याहरुसँग एक्लै जुधिरहें । 

मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन्। तर, एक पटक पुछिएको सिउँदोमाथि पुनः सिन्दूर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाइन्छ र ?

फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको  धनि कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाइएला र ?

 लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे, अनि के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्वीकार गर्ला र ? म मेरा हितैषीहरुलाई प्रश्न गर्थें । 

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसँगै सुख र दुस्ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दुस्खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु ।

त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन ।

तर,  मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी  साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ ‘के यो पुरुष प्रधान समाजले मेरो यो  निर्णयलाई स्विकार गर्ला र?’

मलाई थाहाछ श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छु भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ ।

तर, म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी सधैँ मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सद्भाव र सुवेक्षाले मप्रति रिस र इर्ष्याको सोच राख्ने  दुईचार जनाले स्वत: हार खानेछन् ।

अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्तव्यमान्य ब्यक्तित्वहरु,  सञ्चारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु।

महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साक्षी राखि जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

उही तपाईंकी छोरी/चेली श्वेता खड्का

प्रकाशित मिति: : 2020-12-06 17:08:00

प्रतिकृया दिनुहोस्