चोङछिङ शहरकाे खानीमा ग्यास चुहावट हुँदा कम्तीमा १८ श्रमिकको मृत्यु

चीनको दक्षिण पश्चिमी प्रान्तको एक कोइला खानीमा ग्यास चुहावट हुँदा कम्तीमा १८ श्रमिकको मृत्यु भएको छ।

चोङछिङ शहरको डायोसुइडोङस्थित कोइला खानीमा शुक्रबार कार्बन मनोअक्साइड  चुहावट हुँदा खानीमा काम गरिरहेका कम्तीमा २४ जना फसेका थिए।

करिब दुई महिनादेखि बन्द अवस्थामा रहेको उक्त खानी केही दिन पहिले मात्र सञ्चालनमा आएको थियो। 

खानीमा फसेका अझै पाँच व्यक्तिलाई बाहिर ल्याउनका लागि उद्धार कार्य जारी रहेको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएकाे छ।

शनिबारसम्म एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने १८ जनाको मृत शरीर बाहिर ल्याइएको थियाे। 

उक्त खानीमा सन् २०१३ मा तीन व्यक्तिको मृत्यु भएपनि खानीलाई सुरक्षित मानिँदै आएको थियो।

भूमिगत खानीभित्र पहिरो जाँदा र ग्यास चुहावटका कारण मृत्यु हुनुलाई खानीभित्र अपनाउनुपर्ने आवश्यक सुरक्षा सावधानी नअपनाउनु नै प्रमुख कारण मानिन्छ।

चीनमा खानीभित्र यस प्रकारका दुःखद दुर्घटना हुनुलाई खानी सञ्चालन गर्ने उद्योग तथा कम्पनीको लापर्बाहीका रूपमा लिने गरिन्छ।
 
घटनाबारे अनुसन्धानका लागि सरकारले अनुसन्धान टोली गठन गरिसकेको छ।

प्रकाशित मिति: : 2020-12-06 12:09:00

प्रतिकृया दिनुहोस्