दैलेखमा पेट्रोलको मात्रा पत्ता लगाउन चिनियाँ टोली आउँदै, नेपालमा कहाँ–कहाँ छन् पेट्रोल खानी ?

बाह्रखरी

काठमाडौँ

रोविन पौडेल

 दैलेखमा पेट्रोलको मात्रा पत्ता लगाउन चिनियाँ टोली आउँदो जनवरीमा नेपाल आउने भएको छ । टोलीले त्यस क्षेत्रमा रहेको पेट्रोलको परिमाण थाहा पाउन गरिने ड्रिलिङ (दुलो पार्ने)को काम गर्नेछ । करिब चार किलोमिटर गहिरो ड्रिलिङ कार्य गएको अक्टोबरदेखि सुरु गर्ने योजना थियो । कोरोना कहरका कारण पर धकेलिएको हो ।

कोरोनाका कारण चीनबाट प्राविधिक टोली नआउँदा काम सुरु गर्न नसकिएको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले बाह्रखरीलाई बताए ।

“उक्त कार्य अब सन् २०२१ लागेपछिमात्र सुरु गर्ने कार्यक्रम छ,” रजौरेले भने, “ड्रिलिङ सकिएपछिमात्र के कत्रो आकार, के कस्तो प्रकारको पेट्रोलियम तथा ग्यास भन्डार रहेको पत्ता लाग्नेछ ।”

उनका अनुसार चिनियाँ प्राविधिक टोली र उपकरण जनवरीमा नेपाल आउनेछ । त्यसपछि यकिन भइसकेको स्थानमा ड्रिलिङ गर्ने योजना छ । नेपाल र चीन सरकार मातहतका निकायको संयुक्त सहभागितामा दैलेखमा विभिन्न सर्भे भइसकेको छ । सर्भेले सकारात्मक संकेत देखाएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सर्भे भएको हो ।

सन् २०१९ को अक्टोबरदेखि २०२० को मार्चसम्म भौगर्भिक, भूरासायनिक सर्भे भएको थियो । साथै, २० किलोमिटर लम्बाइ तथा २० किलोमिटर चौडाइको सम्भावित क्षेत्रमा सिस्मिक र म्याग्नेटोटेलुरिक सर्भे सम्पन्न भएको रजौरेले जानकारी दिए । सिस्मिक र म्याग्नेटोटेलुरिक सर्भेबाट प्राप्त डेटा विश्लेषण गर्दा दैलेखको भूगर्भमा पेट्रोलियम तथा ग्यास भन्डार रहनसक्ने अनुकूल बनावट भेटिएको छ । सोही आधारमा खानी तथा भूगर्भ विभागले ड्रिलिङको लागि उपयुक्त स्थान टुंगो लगाइसकेको छ ।

रजौरेका अनुसार तीनदेखि पाँच महिनाको अवधिमा ड्रिलिङको काम सकिनेछ । दैलेखको खानी अन्वेषणमा चाइना जिओलोजिकल सर्भेका तर्फबाट प्रा. डा. टान फुयेन र नेपालका तर्फबाट रजौरेको नेतृत्व छ ।

प्रकाशित मिति: : 2020-12-06 11:10:00

प्रतिकृया दिनुहोस्