मिति : २०१८ को जुलाई १६
स्थान : भर्जिनिया (अमेरिका)
समय : बिहानको १२ः३०
संगीतका गुरु श्याम सुन्दर, स्वरुप र दीपक आचार्य (तबला वादक)ले भने– जाऊँ स्विमिङ गर्न । सत्यलाई खोइ किन हो स्विमिङ गर्न जाने जाँगर चलेको थिएन । उनले भने,– “म आज जान्न है ।”
उनी एक्लै थिए । त्यतिकैमा अमृत खतिवडा (भान्जा) गजल लेख्छन् । आफ्नै टोलमा कम्युनिकेसन सेन्टर चलाएर बसेका उनी कम्युटरमा गजल लेखेर दिन काट्दा रहेछन् । सत्यले एक दिन देखे– अमृतले गजल लेखिरहेको । भने– “तिमी गजल लेख्छौ ?”
उनले कम्प्युटर अर्कोतर्फ कोल्ट्याएर लजाउँदै भने– “होइन, कहाँ लेख्नु ।”
सत्यले कम्प्युटर आफूतर्फ फर्काएर भने– “खोई, हेरौँ त । गजल छन् त !”
बल्ल भने– “हो दाइ, गजल नै हो ।”
जुन हेर्यो त्यही राम्रा, गज्जब गज्जबका ! सत्य गजल प्रिन्ट गरेर घर फर्किए ।
फूर्सदमा अमृतका गजल सत्यले कम्पोज गर्न थाले । श्याम सुन्दर आचार्यलगायतले उनका गजल गाएका छन् ।
सत्य–स्वरुप अमेरिका गएका बेला श्याम सुन्दरको (भर्जिनिया)मा नै बस्छन् ।
त्यसैबेला म्यासेन्जरमा अमृत झुल्किए । उनले भनेका थिए, “दाइ मैले यो एउटा गजल लेखेको छु, हेर्नु त, तपाईंलाई कस्तो लाग्छ ।”