इस्लामाबाद अदालतको फैसलाः पाकिस्तानका पूर्व प्रधानमन्त्री ‘भगौडा’ सहित अपराधी घोषित

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तानको एउटा उच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई भगौडा घोषित गरेको छ। 

इस्लामाबादको उच्च अदालतले उनलाई अपराधी घोषित गरेको हो। सरिफ विगत केही महिनादेखि बेलायतको लन्डनमा बसोबास गर्दै आइरहेका छन्। 

उनीविरूद्ध इस्लामाबाद उच्च अदालतमा भ्रष्टाचारसम्बन्धि दुईवटा मुद्धा दायर थियो। 

बुधबार अदालतले फैसला सुनाउदै गर्दा विदेश विभागअन्तर्गत युरोप निर्देशक मुबासिर खान उपस्थित भएका थिए। 

उनले लन्डनस्थित पाकिस्तानी दुतावासमार्फत सरिफलाई अदालतको पहिलेको निर्णयहरूको जानकारी दिएको अदालतलाई बताए। 

यति गर्दा पनि पूर्व प्रधानमन्त्री सरिफ अदालतमा उपस्थित नभएपछि दुई न्यायाधीसको बेञ्चले अपराधी घोषित गरेको थियो। निर्णय सुनाउने न्यायाधीसमा आमेर फारुख र मोहसिन थिए। 

यसअघि आफूविरूद्ध अदालतमा परेको भ्रष्टाचारको मुद्धा खारेज गराउन सरिफले उच्च अदालतमा निवेदन दिएका थिए। 

अदालतले आफ्नो निर्णय सुनाउनुअघि सरकारी छानवीन समितिका वकिलहरुलाई सरिफले सहयोग गरेको वा नगरेको प्रश्न सोधेका थिए। तर, सबैले सहयोग नगरेको बताएपछि निर्णय यस्तो आएको हो। 

सरिफको छोरी मरियममाथि लागेको अर्को भ्रष्टाचारको मुद्धा ९ डिसेम्बरमा छिनोफानो हुदैछ।
 

प्रकाशित मिति: : 2020-12-04 15:52:00

प्रतिकृया दिनुहोस्