शासकीय मरण/मारणको लामो शृङ्खला चलेको नारायणहिटी दरबार यतिबेला संग्रहालयको रूपमा सर्वसाधारणका लागि खुला छ । परिसरमै चतुर्व्यूह नारायणको मन्दिर स्थापना गरिए पनि यसको इतिहास नै हत्याकाण्डको सिलसिलासँग जोडिएको छ ।
एकीकरण कालपछि मात्र हेर्ने हो भने पनि यही दरबारमा दुई ठूला हत्याकाण्डहरू भए । यसबाहेक शक्ति संघर्षको लागि चलेका अनेक षड्यन्त्र पनि दरबारले लामो समयसम्म भोग्यो ।
तर, सांस्कृतिक सम्पदाहरूप्रति कमैले वास्ता गर्ने गरेका कारण नारायणहिटी भन्ने बित्तिकै न त नारायणको मन्दिरलाई कसैले चिन्ने गर्छन् न त सँगै रहेको हिटीलाई नै । यिनै दुईको संयोजनबाट बनेको नारायणहिटी दरबार मन्दिर र हिटीभन्दा चर्चित हुन थालेको छ । अहिले नारायणहिटी भनेर जुन हिटीलाई चिनाइन्छ, यससँग जोडिएको इतिहास झनै रोचक र कहालीलाग्दो छ ।
सात्विक सम्प्रदायको रूपमा मानिने वैष्णवहरूको मूल देवता नारायणलाई साक्षी राखे पनि दरबार भित्र र बाहिर भने षड्यन्त्र र फोहोरी खेलको शिलशिला लामै समय चलेको देखिन्छ ।
नारायण हिटीको मानदेवसँग जोडिएको इतिहास किंवदन्तीको रूपमा रहेको भए पनि लिच्छविकालीन अभिलेख भने हिटी र नारायण मन्दिर दुवै ठाउँमा पाइँदैन ।
तर, हिटीमा रहेको तीन अभिलेखमध्ये एउटा अभिलेख भने मल्लकालीन समयको हो । यो समयमा हालको नारायणहिटी दरबार क्षेत्रमा रहेको संरचनाको बारेमा इतिहास मौन छ । तर, शाहकालमा आएर भने यो महत्वपूर्ण दरबार क्षेत्रको रूपमा यसको विकास भयो ।