टोटेनहम युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेकाे छ।
बिहीबार राति अष्ट्रियन क्लब लास्कसँग ३–३ गोलको बराबरीमा रोकिएपनि टोटेनहमले अन्तिम ३२ मा स्थान पक्का गरेको छ।
४२औँ मिनेटमा मिचर्लको गोलबाट घरेलु टोली लास्कले १–० को अग्रता लिएको थियो।
४५औँ मिनेटमा लुकास मोउराको क्रसलाई पेनाल्टी बक्समा एन्डराडेले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले टोटेनहमलाई पेनाल्टी प्रदान गरेको थियो। जसमा ग्यारेथ बेल चुकेनन्।
५६औँ मिनेटमा टांगी एनडोम्वेलेको पासमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए।
८४औँ मिनेटमा जोहाननेस इगेस्टिनले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
८७औँ मिनेटमा डेल अलीले पेनाल्टीमार्फत गोल गरेपछि टोटेनहमले खेलमा पुनः ३–२ को अग्रता लिएको थियो। तर ९०औँ मिनेटमा मामोउडोउ कारामोकोले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए।
यही समूहको अर्काे खेलमा बेल्जियन क्लब रोयल एन्टवेर्पले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडमाथि ३–१ को जित निकाल्दै समूहमा शीर्षस्थानमा यथावत रहन सफल भयो।
समूह ‘जे’ मा टोटेनहमले ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाएको छ।
शीर्षस्थानमा रहेको रोयल एन्टवेर्पको १२ अंक छ। लास्कको ७ तथा लुडोगोरेट्स राजग्राडले अंकको खाता खोल्न सकेनन्।