बेनजीरकी कान्छी छोरी पनि राजनीतिमा

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोकी छोरी आसिफा भुट्टो जरदारी पनि राजनीतिमा होम्मिएकी छिन्। उनले सोमबार मुल्तानमा पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) को र्‍यालीमा भाषण गरेकी थिइन्। 

यस अवसरमा आसिफाले भनिन्, ‘अब बेला भइसकेको छ, सत्तामा आसिन कठपुतली सरकारलाई घर पठाउने। हामी सबै इमरानलाई मतदानद्धारा होइन, कसैको निगाहले प्रधानमन्त्री बनेको मान्यता राख्छौं।’

आसिफाका भाई बिलावल भुट्टो जरदारी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष हुन्। उनलाई गत साता कोरोना संक्रमण भएको थियो। भाईको सहयोगका लागि आसिफा राजनीति मैदानमा उत्रिएको बताइएको छ। 

मुल्तानमा भएको र्‍याली बिथोल्न सरकारले प्रशासन प्रयोग गरेको आरोप लागेको छ। र्‍याली हुने ठाउँमा मानिसहरू नपुगोस् भनेर प्रहरीले ब्यारिकेट र कन्टेनर्स लगाएर समर्थक रोक्ने प्रयास गरेका थिए। 

तर, उनलाई सुन्न मानिसको भिड लागेको थियो। पूर्व प्रधानमन्त्री नवाज शरीफको छोरी मरियम र जमात–ए–इस्लामका नेता मौलाना फजल–उर–रहमान पनि र्‍यालीमा समावेश थिए। पीडीएममा कूल ११ विपक्षी पार्टी समावेश छन्। 

आसिफ बेनजीरको तीन केटाकेटीमध्ये कान्छी छोरी हुन्। २७ वर्षकी आसिफाको सम्पूर्ण पढाई बेलायतमा भएको थियो। आसिफाको दिदी बख्तावरको बिहे लन्डनमा एक व्यापारीसँग भर्खरै भएको थियो। 

पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजीरको २७ डिसेम्बर २००७ मा हत्या भएको थियो। यसपछि उनका श्रीमान आसिफ अली जरदारी पाकिस्तानका राष्ट्रपति नियुक्त भएका थिए।

प्रकाशित मिति: : 2020-12-01 14:51:00

प्रतिकृया दिनुहोस्