हाल देशका बिभिन्न शहरमा हिन्दु राष्ट्र सहित राजसंस्थाको पुनर्स्थापनाको माग भइरहेको छ।
स्वतस्फुर्त रुपमा भइरहेको जुलुसमा जनताको सहभागिता पनि विस्तारै जुट्न थालेको छ। पहिले झापा, बुटबल, त्यसपछि मोरङ, नेपालगञ्ज हुँदै हेटौडामा पनि आइतबार विशाल ¥याली भएको थियो।
राजसंस्थासहित हिन्दु राष्ट्रको माग गरिरहेका नेपाली जनतालाई हालै पर्यटन मन्त्री योगेश भट्टराईले अनर्गल आरोप लगाएर आफ्नो चरित्र प्रदर्शन गरिरहेका छन्। चार तारे र हँसिया हतौडा भएको झण्डा बोकेको गरिने जुलुस मात्र जुलुस हुने तर नेपालको राष्ट्रिय झण्डा बोकेको जुलुस मजाकियाहरुको भिड हुने, कुन कम्युनिस्ट सिद्धान्तमा छ, त्यो पंक्तिकारलाई जानकारी छैन।
यस्ता झिनामसिना कुराको पछाडि लाग्नु सरोकारको बिषय होइन। तर फरक मतलाई स्वीकार गर्न नसक्ने र आफ्नो बिरोधी पक्षलाई भूत भन्नु कहाँसम्मको जायज हो, त्यो प्रबुद्ध पाठकवर्गले छिनोफानो गर्ने बेला आइसकेको छ।
यदी राजवादी जुलुसमा सहभागी भूत नै रहेछन् भने पनि कमसेकम वीपी कोइराला र मदन भण्डारीको भूत होइनन् भन्ने हेक्का मन्त्री भट्टराईलाई हुनु जरुरी छ।
यी दुई नेताका भूतहरु बिदेशीको इशारामा चल्ने कार्यक्रममा मात्र सहभागी हुन्छन्, यसमा मन्त्रीज्यू ढुक्क भए हुन्छ।
नेपालको लागि कार्ल मार्क्सको योगदान के छ? त्यसको दारीसहितको फोटोलाई भगवान जस्तो मान्ने गरिन्छ, त्यो पंक्तिकारको चासोको विषय होइन। आफूले खाएको थालमा प्वाल पार्नु आम नेपालीको चरित्र हो।
पूर्वाग्रह राखेर नसोच्ने हो भने नेपालमा योगदान दिने र त्याग गर्ने भनेको दुई व्यक्ति मात्र छन्। पहिलो– पृथ्वीनारायण शाह र दोश्रो– राजा महेन्द्र।
यसबाहेक अरु भनेको धमिलो पानीमा माछा मार्ने र भाग्यले पाएको बेला देशलाई लुटेर कङ्गाल बनाउने मात्र हुन्। यसै आलेखद्वारा म काङ्ग्रेस र कम्युनिस्टका कार्यकर्तालाई प्रश्न गर्न चाहन्छु– यो देशको लागि वीपी कोइराला, मदन भण्डारी र पुष्पलालले के–के योगदान दिए? उनीहरुको केवल एउटा एउटा मात्र योगदान कसैले बताइदिए पंक्तिकार धन्य हुने थियो।
कागले कान लग्योभन्दा कान नछामी कागको पछाडि दौडेको जस्तो पृथ्वीनारायण शाहले कीर्तिपुरमा डोकोभरि नाक र कान काटेर भरेका थिए भनेर बिरोध गरिन्छ।
आजभन्दा दुई सय चालिस बर्षअगाडि कीर्तिपुरको जनसँख्या कति थियो होला र कति मान्छेको नाक र कान काटेर डोकोमा भरे होलान्, त्यो कुरालाई विश्वास गर्न निकै गाह्रो छ।
लौ उनले काटेकै थिए भने केवल उनको मात्र बिरोध गर्नु त्यति न्यायसङ्गत हुदैन। प्रचण्ड र बाबुरामको इशारामा साढे सत्र हजार मान्छे मारिँदा उनीहरुलाई चुँइक्क बोल्न नसक्नेले एकहोरो पृथ्वीनारायण शाहको मात्र बिरोध गर्नु कतिको न्यायोचित होला। त्यसको फैसला गर्ने काम प्रबुद्ध पाठकवर्गको हो।
२०६३ सालमा विदेशीको इशारा र सहयोगमा भएको कथित राजतन्त्र बिरोधी आन्दोलनमा तत्कालीन राजा ज्ञानेन्द्रको सदासयताका कारण राजतन्त्र हटेर गणतन्त्र आएको हो।
पहिलो राष्ट्रपति बन्न पाइने आशामा बिदेशी शक्तिको आडमा प्रचण्डसँग मिलेर देश र जनताप्रति घात गर्न तयार तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई अन्तिम समयमा प्रचण्डले उनको हैसियत देखाइदिएपछि उनी राष्ट्रपति बन्न सकेनन्।
त्यसको वियोगमा उनको मृत्यु पनि भयो। होइन भने उनी अहिलेसम्म जिवितै हुन्थे र देश र जनताप्रति धोका दिइरहेका हुन्थे। कोइरालाको अभिष्ट पुरा नभएपछि गणतन्त्र नेपालको राष्ट्रपति भएका डा. रामवरण यादव र विधा भण्डारी पुरा देशकै अभिभावक हुनपर्नेमा केवल काङ्ग्रेस र कम्युनिस्टको पनि कुनै एउटा निश्चित गुटको अभिभावक भएको जगजाहेर छ।
मलाई सम्झना भएसम्म डा. यादवले गरेको एक मात्र स्मरणीय काममा धरानमा अनुजा बानियाँ नामकी एक युवतीले बसमा एक करोड रुपैयाँ र हिराको हार भेटेको र जसको हो उसलाई खोजेर दिएको भन्ने काल्पनिक घटनाको लगतै फोन गरेर बधाई दिएका थिए।
अहिले डा. यादव त्यो कुरा सम्झिदा के महसुस गर्दा हुन? लाटो खान्छ एक बल्ड्याङ्ग, बाठो खान्छ पाँच बल्ड्याङ्ग भनेको जस्तो सत्यतथ्य नबुझी धेरै लोकप्रिय हुन खोज्दा उनी भूइँमा पछारिन पुगेका थिए। हालकी राष्ट्रपति विधा भण्डारीले को नयाँ नयाँ साडी फेरेर यताबाट उता र उताबाट यता गर्नुबाहेक अर्को कुनै गतिबिधि देखिएको छैन।
अहिले देखिएको हिन्दु राष्ट्रसहितको राजतन्त्रको पक्षधरको प्रदर्शनलाई मूल्यांकन गर्न गल्ति गर्यो भने समस्या समाधानको बाटोभन्दा पनि अगाडि जानसक्ने हुनसक्छ।
विदेशीको पनि द्वेध नीतिको कारण नेपालको राजतन्त्र समाप्त भएको कुरामा दुईमत छैन। बेलायतको राजतन्त्रलाई भगवान जस्तो मान्ने अमेरिकी नीति, नेपालको राजतन्त्र को बारेमा भने मौन छ। यदी राजतन्त्र समाप्त पार्नु नै थियो भने एकपटक जनमत संग्रह गर्ने साहस गरेको भए हुन्थ्यो, जसको लागि कोही पनि तयार हुने आँट राख्दैनन्।
उनीहरूलाई थाहा छ, यदी जनमत संग्रह गर्यो भने परिणाम सत प्रतिसत हिन्दु राष्ट्र सहितको राजतन्त्रको पक्षमा आउने छ।
अहिलेको प्रदर्शनलाई मध्य नजर गर्ने हो भने त्यो भिड उच्च मध्यम र उच्च वर्गीयहरुको हो। किनकी जुलुसमा प्रायः सबै मोटर साइकल र मोटर चढेर आएका छन्। कांग्रेस र कम्युनिस्टको जस्तो अति नै निम्न वर्गीय मान्छेलाई एक थाल मासु–भात र एक बटुको रक्सीको लोभ देखाएर जम्मा पारिएको जस्तो यो भिड होइन।
आजसम्मको राजनीतिक घोचपेच र सरकारको असफल गतिबिधि देख्दा नेपाल हिन्दु राष्ट्रसहितको राजतन्त्रको पक्षमा थियो र सदासर्बदा रहने छ। अर्थात् नेपालको लागि यो शासन व्यवस्था नै अपरिहार्य छ। हालको गणतन्त्र केवल बिदेशी शक्तिको इशारा र सहयोगमा नेपालका दलाल नेता र लोभी कार्यकर्ताको फगत एउटा नाटक मात्र हो।