विवादको दलदलमा फसेको दलमा मात्र सरकार नपसोस्

थाहा खबर

काठमाडौँ
तस्बिर : थाहाखबर

बद्रीविनोद प्रतिक

एक वर्ष जति हुन लाग्यो सरकार परिवर्तनको हल्ला चलेको। यो हल्ला विपक्षीबाट होईन , सत्तारुढ दल कै केही नेताका कारण चलेको हो। दलभित्रको खिचातानीले अनुमानको खेतीपाती चलिरहेको छ।

चुनावको बेलामा हामी एउटै हौ भनेर भोट मागेका नेताहरू यति बेला अलग अलग गुट उपगुटमा विभाजित छन। नेताहरू गुट उपगुट बनाएर सरकारलाई तर्साउन लागि परेको बेलामा यस्ता हल्ला चल्नु स्वभाविक पनि हो। प्रतिपक्ष गतिलो नहुनुको पीडा नेपाली जनताले भोगेका छन्।

लोकतन्त्रमा गतिलो प्रतिपक्ष चाहिन्छ। प्रतिपक्ष गतिलो भएन भने दल भित्रबाटै भए पनि सरकारलाई सचेत गराउने एउटा समुह बनाउनु पर्छ। उसको काम सरकारले लिक छोडन थाल्यो भने सचेतको साईरन बजाउने काम हो। तर आफ्नै दलको सरकार ढाल्न पैताला देखि टुप्पी समको बल निकालेर मैदानमा उत्रनु दलका शीर्ष नेताको  काम कदापी होइन। 

नेपालमा जुन दिन देखि राणा सासनको अन्त्य भयो। त्यही दिनदेखि स्थायी सरकारको पनि  अन्त्य भएको हामी सवैले भोगेको हो। सात साले प्रजातन्त्र, निरंकुश राजतन्त्र, ४६ साले संवैधानिक राजतन्त्र यी सबैमा हामीले ६ महिना वर्ष दिन नपुग्दै सरकार बदलेर, नयाँ-नयाँ अनुहार हेर्ने गरेका थियौँ।  उनीहरूका गुलिया योजना सुनेर मुख रसिलो पार्ने बानी बसालेका थियौँ। सशस्‍त्र आन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि उही पारा खोजिरहेका छौँ।

अहिले तीन वर्ष पुग्न लाग्यो एउटै सरकार छ। त्यो सरकारको अनुहार हेर्दा हेर्दा केही मानिसहरूलाई दिक्क लाग्नु स्वभाविक हो। अस्थीर स्वभावको सरकारमा आलो पालो गर्दै आएका नेताहरू अहिले छटपटाउनु स्वाभाविक हो। भर्खर स्थापित नयाँ व्यवस्था जोगाउनको लागि भने पनि अस्थिर मनस्थिति त्यागेर सरकार पाँच वर्ष टिक्छ भन्ने सन्देश दिनु अहिलेको आवश्यकता  हो।

प्रकाशित मिति: : 2020-11-29 15:51:00

प्रतिकृया दिनुहोस्