रमिते सरकार, आन्दोलनमा स्वास्थ्य कर्मचारी (भिडियाेसहित)

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

नेपालको सबैभन्दा पुरानो वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोरोना महामारीको भत्तालगायत अन्य सेवा सुविधाको माग राख्दै धर्ना दिएको अर्को साता ५० दिन पुरा हुनेछ। तर, सरकार उनीहरुको मागलाई लिएर अझै उदासिन देखिन्छ। 
 
विश्वब्यापी महामरीको रुप लिएको कोभिडविरुद्ध अघिल्लो मोर्चामा रहेर काम गरेका यहाँका स्वास्थ्यकर्मीले चैतदेखि भत्ता नपाएको गुनासो गरेका छन्। औषधि खर्चलगायत सेवा विस्तार, भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्रीमा सरकार मात्र होइन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारी पनि उत्तिकै उदासिन रहेको उनीहरुको आरोप छ। 

लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएपछि स्वास्थ्यकर्मीले एक साताअघि न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका थिए। स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकार उदासिन बन्दा यसको मार बिरामीले खेप्नु पर्ने निश्चित छ। स्वयम न्याम्सले पनि यसतर्फ कर्मचारीलाई अवगत गराउन खोजेको थियो। 
 नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्य स्वास्थ्यकर्मीको संयमताका कारण धर्नाले बिरामीलाई खासै प्रभाव नपरेको दावी गर्छन। उनी बिरामीलाई ध्यानमा दिएर २–३ सय स्वास्थ्यकर्मी मात्र धर्नामा बसेको बताउँछन्। वीरमा हाल १५ सय कर्मचारी नियुक्त छन्। उनीहरू एकै पल्ट सडकमा उत्रिने हो भने यसले ठूलो समस्या निम्त्याउने उनको भनाई छ। 

‘हामीले आफ्नो माग पनि छोडेका छैनौं। बिरामीको सेवा गर्न पनि पछि हटेका छैनौं,’ अध्यक्ष आचार्यले बिएल नेपाली सेवासँग भने। 

उनले स्वास्थ्यकर्मीले राखेको माग जायज भएको बताए। उनले आफ्ना लागि भन्दा पनि कोरोना संक्रमितको सुरक्षित उपचारका लागि थुप्रै कुराको माग गरेको बताए। भने, ‘स्वास्थ्य सामाग्री गुणस्तरीय भएन भने संक्रमितबाट संक्रमण फैलिने सम्भावना प्रबल रहन्छ। बिरामीलाई जोगाउन पनि गुणस्तरीय सामाग्री आवश्यक छ।’

विगतमा पनि गुणस्तरीय सामाग्री उपलब्ध नगराएका कारण अस्पताल कर्मचारीलगायतका परिवारको घरमा कोरोना संक्रमण फैलिएको उदाहरण छ। कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन राज्यले उचित सेवा सुविधा उपलब्ध गराउनुपर्ने ठाउँमा उल्टै हिजो खाईपाई आएको सेवा सुविधासमेत नदिने घटनाले स्वास्थ्यकर्मीको मनोबल कमजोर भएको उनको भनाई छ। 

सरकारले घोषणा गरेको कोरोना भत्ता तथा सेवा सुविधासमेत आफूहरुले नपाएको आन्दोलनरत कर्मचारी बताउँछन्। 
‘यस्तो अवस्थाको अन्त्य हुनुपर्छ। स्वास्थ्यकर्मीले पाउनुपर्ने सेवा सुविधासमेत पाउनुपर्छु’, उनी  भन्छन्। 

वीर अस्पताललाई खिचडी अस्पताल बनाएको अध्यक्ष आचार्यको आरोप छ। ‘वीरलाई कोभिड अस्पताल बनाएको छ। सम्पूर्ण सेवा अवरूद्ध छ। हिजो अस्पतालले हेरेको जुन लक्षित समूह थियो। त्यस समूहले कहाँ उपचार पाउने त्यो ठाउँ निश्चित हुनुपर्यो। त्यसको लागि व्यवस्था मिलाउनु पर्यो। यदी व्यवस्था मिलाउन नसक्ने हो भने वीर अस्पताललाई कोभिड अस्पताल बनाउनु हुदैन’, उनले भने। 

आफ्नो माग लिएर स्वास्थ्य मन्त्रालय पुगेको तर त्यहाँबाट पनि कुनै चासो नदेखाएको अध्यक्ष आचार्यको भनाई छ। ‘हामीले मन्त्रालयमा आफ्नो माग राखौं। ज्ञापन पत्र बुझायौं। हामीलाई आश्वासन मात्र दिइयो’, उनले भने।

वीर अस्पतलमा कर्मचारीले डेढ महिनादेखि गरेको आन्दोलनले बिरामीलाई खासै असर नपरेको बिरामी कुरुवा बिमला गुरुङ बताउँछिन्। 'यहाँ आन्दोलन भएता पनि मेरो बिरामीलाई कुनै असर परेको छैन्,’ प्यारलाइसिस भएका जेठाजुलाई अस्पताल ल्याएकी बिमला भन्छिन्, 'बिरामीलाई खाना, औषधि सबै समयमै दिइरहनु भएको छ। बिरामीलाई केहि चिजको कमि हुनदिनु भएको छैन्।' 

अस्पतालका कर्माचारीले प्रवेशका निम्ति लगाएको रोक गलत भएको असपतालका निर्देशक केदार सेन्चुरी बताउँछन्। 'आन्दोलन गरेर सर्वसाधारणलाई नोक्सान हुनसक्छ। अहिलेको अवस्थामा आन्दोलन गर्नु उचित होइन' उनले भने, 'अस्पतालका कर्मचारीले राखेको माग ठिक भए पनि हालको स्थितिमा त्यसको कुनै अर्थ छैन।’ 

उनले कर्मचारीले राखेको मागलाई मध्यनजर गर्दै कोभिड भत्ता, स्वास्थ्य सुरक्षालगायत अन्य भत्ता दिन राज्य तयार भएको तर ढिला हुने बताउँछन्। ‘कर्मचारीले राखेको माग अस्पतालको आम्दानीबाट दिनुपर्ने हुन्छ’, उनी भन्छन्, 'चैत महिनादेखि अस्पतालमा आम्दानी भएको छैन। अस्पतालको आम्दानी घटेपछि कहाँबाट दिनु कोभिड भत्ता।’

पहिले दिनमा १३ देखि १४ लाख कमाई हुने अस्पतालमा अहिले घटेर २ देखि ३ लाख मात्र भएको उनको भनाई छ। ‘अस्पतालको आम्दानी घटेका कारण मङ्सिरदेखि कर्मचारीलाई तलब दिनसमेत रकम छैन’, उनले भने। 

आन्दोलनरत कर्मचारीले न्यून गुणस्तरीय स्वास्थ्य सामग्री पाएको आरोप भने उनी अस्वीकार गर्छन, 'यहाँ आउने सबै स्वास्थ्य सामग्री विभागबाट आउछ। जुन गुणस्तरीय नै हुन्छ। कहिलेकहिँ १/२ वटा समान बिग्रियो भन्दैमा त्यसलाई गुणस्तरहिन सामान भन्न मिल्दैन।' 

एउटा पीपीई खरिदमा २५ सय लाग्ने बताउँदै उनले भने, ‘२/३ सय कर्मचारीलाई खरिद गरेर सकिन्न्। अस्पतालको आम्दानी छैन।’
अस्पतालका कमचारीले गरेको आन्दोलनलाई रोक्न धेरै पटक वार्ता भएको उनले बताए। तर, कुनै निस्कर्षमा नपुगेको उनको भनाई थियो। 

प्रकाशित मिति: : 2020-11-28 20:50:00

प्रतिकृया दिनुहोस्