अमेरिकाबाट एक पत्रकारको गगन थापालाई खुलापत्र

गगन थापा ज्यू, 
नमस्ते!

केही साताअघि एउटा टेलिभिजन कार्यक्रममा तपाईंले बढो भाबुक हुँदै भोलि आफ्नो बच्चाले बाउ राजनीतिमा लागेकोमा लज्जाबोध गर्नु नपरोस् वा त्यस्तै आशयको कुरा राख्नु भयो। मेरो बिचारमा यदी ती कलिला नानीलाई दिनदुनियाँको समझ हुने हो भने भोलि होइन, आजै लज्जाबोध गर्ने अवस्था छ। यदी म गलत छु भने तपाईं सांसद र मन्त्री भएर गरेको एउटा मात्र अलौकिक काम के रहेछ, त्यो बताइदिए यो पंक्तिकार धन्य हुनेथियो।


आफ्नो नामको अगाडी ‘युवा नेता’ भन्ने फुर्को जोड्न रुचाउने तपाईंलाई ‘भाग्य विधाता’ सम्झिने र तपाईंसँग हात मिलाउन पाए मात्र पनि स्वर्ग पुगेको महसुस गर्ने मान्छेको ठूलै भिड छ। तपाईं मिडियामैत्री पनि भएको कारण कनिष्टदेखि बरिष्ठसम्मका पत्रकारलाई राम्रैसँग मिलाएर राख्नु भएको छ र तपाईंको बारेमा मिडियामा चमत्कारजन्य समाचार मात्र आउँछ। नेपालबाट पत्रकारिताको खोरिया फाँडेर अमेरिका आएका तपाईं जस्तै आफ्नो नामको अगाडी युवा पत्रकार भन्ने फुर्को जोड्न रुचाउने वा नरुचाउने व्यक्तित्वले पनि बेलाबेलामा ‘गगन थापा जस्तो नेता नेपाल मै छैन’ भनेर पाखुरा सुर्किने गरेका छन्। अब तपाईंमा के त्यस्तो गुण भएर छुट्टै देखिनु भयो, त्यो कुरा भने पंक्तिकार जस्तो मुढ बुद्धिले बुझ्ने कुरा भएन। आशा छ, मेरो कमजोर मस्तिष्क र गुढ कुरा बुझ्न नसक्ने क्षमतालाई सम्झेर माफ गरिदिनु हुनेछ। यदी तपाईं जस्तो देशलाई काँध मै राखेर हिँड्ने नेता ज्यूहरुले माफ गरिदिनु भएन भने यो अकिञ्चनको सर्बनास हुने निश्चित छ।

नेपालमा राजनीति गर्नको लागि अत्यावश्यक र न्युनतम योग्यता जस्तै: ढुङ्गा हान्ने, टायर बाल्ने र तोडफोड गर्ने योग्यता तपाईंसँग रहेको तपाईंका अवैतनिक हनुमानबाट जानकारी पाएको छु। त्रिचन्द्र क्याम्पस अगाडीको बाटोमा तपाईंले गाडीको सिसा फुटाउने हो वा प्रहरीहरुको टाउको फुटाउने उद्देश्यले ढुङ्गा हान्दै गरेको तस्बीर पत्रपत्रिकामा प्रकाशित नै भएको थियो। त्यो सुन्दर तस्बीर यो पंक्तिकारसँग पनि सुरक्षित छ। म पनि एक किसिमले तपाईं को ‘फ्यान’ नै हुँ। मेरो तपाईंसँग ‘राजा चिनाई’ छ, अर्थात् मैले तपाईंलाई राम्रोसँग चिनेको छु तर तपाईंले मलाई चिन्नु हुँदैन, यो कुनै अच्चमको कुरा भएन।

तपाईंको अलौकिक व्यक्तित्वबाट यो पंक्तिकार तपाईं अमेरिका अध्यन गर्न आएको समय मै कायल भएको थियो। तपाईंले कक्षा लिएको, कफी पिएको देखि झ्यालबाट हेरेको र जाडो मानेको सम्म क्रमिक रुपमा अनलाइन पोर्टलहरुमा प्रकाशित भएका थिए। अब यस्तो कभरेजको लागि स्वयम तपाईं नै योग्य हुनुहुन्छ वा तपाईंले कुनै गुलियो चटाउनु भयो वा तपाईंको पद र प्रतिष्ठाको त्रासले उनीहरुले मरिमेटेर अक्षरको खेती गरे, त्यो बेग्लै कुरा भयो।  तर तपाईंको एक–एक पाटो सार्बजनिक हुँदा पंक्तिकार जस्तो अबुझ र अज्ञानीलाई भने फाइदा नै भएको छ, जसको लागी त्यस्ता पत्रकारहरु धन्यबादका पात्र छन्।

तपाईंलाई राजनीतिको सर्बोच्च बिन्दुमा देख्न चाहनेले समय समयमा ‘अब गगन थापा प्रधानमन्त्री हुनुपर्छ’ भनेर भन्ने गरेका छन्। यो कुरामा मेरो पनि पूर्ण सहमति छ। किनकी तपाईंसँग प्रधानमन्त्री हुने सबै योग्यतहरु छन्। तपाईंले ढुङ्गा हान्ने र तोडफोड गर्नेमा पीएचडी बराबर कै ज्ञान लिनुभएको छ भने शैक्षिक योग्यता पनि मनग्य नै छ। तपाईं कै पार्टीको गिरिजाप्रसाद कोइराला केवल दश कक्षा पढेर नै धेरै पटक प्रधानमन्त्री भएको कारण तपाईं प्रधानमन्त्री हुनुभयो भने कुनै अच्चम नमाने हुन्छ। 
एउटा कुरा के भने, तपाईंले कुनै बेला आफ्नो पार्टीको सरकार नभएको बेला तत्कालिन सरकारलाई अफ्ठ्यारोमा पार्नको लागि ढुङ्गा हान्नु भयो। त्यस्तै ढुङ्गा तपाईंलाई त्यसैगरी हान्यो भने तपाईं के गर्नु हुन्छ? काङ्ग्रेस पार्टीको सदस्य भएको कारण तपाईं पनि कहिले पनि पुरा नहुने वीपीको सपना बोकेर हिड्नु भएको छ होला तर त्यस्तो ‘डेट एक्सपायर’ सपना देख्नु र त्यस्तो सपना साकार पार्छु भनेर हिँड्नु मुर्खता मात्र भएको सल्लाह दिन चाहन्छु। आशा छ, यसलाई तपाईंले सकारात्मक रुपमा लिनु हुनेछ।

तपाईंले बाख्रापालनको लागि सरकारसँग लिएको रकम हिनामिना भएको भनेर धेरै समाचार आएको थियो तर त्यसको बारेमा तपाईंको तर्फबाट कुनै जवाफ नआएको किन हो? त्यो कुराको जिज्ञासा धेरैलाई जस्तो यो पंक्तिकारलाई पनि लागेको छ। तपाईं जस्तो सार्बजनिक व्यक्तित्वले यस्ता गम्भीर आरोपहरुलाई खुलासा गर्नुपर्छ भन्ने मेरो बुझाइ हो। 

एकपटक तपाईंलाई बाटोमा मान्छेहरुले बिरोध गर्दा ‘त्यो बेला मलाई पनि रिस उठेको भए के हुन्थ्यो’ भनेर मसँग पनि ‘मशल पावर’ छ भनेर खुलासा गर्नुभएको थियो। 

पहिलो संबिधान सभाले संबिधान निर्माण गर्न नसकेर संबिधान सभा खारेज हुँदा त्यो प्रकरणलाई त्यसका सम्पूर्ण सदस्य असफल भएको यो पंक्तिकारको बुझाई छ। यसरी पटकपटक असफल भएको तपाईं जस्तो मान्छेले मैले देशलाई आकासमा पुर्याउने छु भनेर भनेको आफैमा हास्यास्पद छ। यसरी कुनै विशेष गर्न नसक्ने तर बिपक्षी पार्टीको सरकारलाई कसरी असफल बनाएर जनताको अगाडी अलोकप्रिय बनाउने एक सुत्रीय अभियानमा लाग्नुभन्दा मैले केही गर्न सकिन भनेर जनतासँग माफी मागेर यो देश बनाउने नाटक नगर्दा नै बेश हुन्थ्यो। अब सांसद र मन्त्री भएर लुटको धनमा फुपूको श्राद्ध नै मात्र गर्ने हो भने मलाई केही भन्नु छैन। 

अन्तमा मलाई आशा छ, तपाई जस्तो प्रजातन्त्रबादी नेताले मेरो कुरालाई आलोचनाको रुपमा लिनुहुनेछ र मलाई माफ गरिदिनु हुनेछ। साथै म केपी ओली र उनको पार्टीको अरिङ्गाल नभएको पनि जानकारी गराउँन चाहन्छु। 

तपाईंको प्रशंसक
नवीन रायमाझी
हाल: अमेरिका

 

प्रकाशित मिति: : 2020-11-28 14:36:00

प्रतिकृया दिनुहोस्