यसपालीको दशैं तिहार राम्रै बित्यो। दशैंमा खुलेर निर्धक्क हिँड्न, तिहारमा पट्का पड्काउन र देउसी भैलो खेल्न मलाई निकै रमाईलो लाग्थ्यो। मेरो बुवाले किन पहाडमा जीवन बिताउने निर्णय गर्नुभएको होला भनेर अचम्म लाग्थ्यो। तराईमा भएको बेला साथीहरूको घरमा जान्थें अनि हेर्थें पहाडमा भन्दा कम मिहिनेतमा नै मौसम अनुसारको उब्जनी, धानका बाला झुलेका, तोरी फुलेका, लटरम्म आँप, लिच्ची र कटहर फलेका।
सुन्दर बगैंचा, बाटोमा भारी बोकेर बयल गाडा गुडेको देखेर म कल्पिन्थें– मेरो बुवाले पनि तराईमा मौजा जोड्नु भएको भए, यो पहाडको उकालो त उक्लिन पर्दैनथ्यो। तर अब समयले कोल्टो फेरेको छ। अब त यस्तो लाग्छ, त्यो तराईको मौजावाला हुनुभन्दा त यही पहाडको मकैबारी, पाखो र तलको बगर खेत नै ठिक रहेछ।
तराईमा मौजा उठाउन गएको श्याम उतै अपहरणमा पर्यो। म र भानु भने रमाईलोसँग तराईमा दशैं र तिहार मनाएर घर फर्किसक्यौं। जेहोस्–यसपालीको दशैंमा देवी देउता बनाएको मूर्ति हेर्ने मेरो ईच्छा पूरा भयो।
म विगतका पाना पल्टाउन थालें। हिउँले खाएका काला–काला पहाडको ठाउँमा चौंरी गोठ देख्दा विद्यार्थी जीवनको याद आउँथ्यो। कति निर्धक्क हिँड्ने गथ्र्यौ हामी यो ठाउँमा। १६ बर्षको जवानीमा भेटिएका ती साथीहरू मेनुका, कमला, जानुका, रमा सबैजना मसँग विद्यालयको शैक्षिक भ्रमणपछि नजिकिएका थिए।
सबै मेरो प्रेममा भावविभोर भइसकेका थिए। विदाको एकदिन पिकनिक गएर फर्किदा झमझम पानी पर्यो। म मौका छोपेर पालैपालो सबै केटी साथीको हात समाउँदै हिँड्दै थिएँ। उनीहरूको स्पर्शले कताकता हराइरहन्थें म।
अनि झन्झन् उनीहरुको हात कस्सिएर समाउन मन लाग्थ्यो। म त्यही बहानामा चिप्लीएर लड्थें। उनीहरू मलाई हात समाएर उठाउँथे।
त्यसदिन घर फर्किन निकै ढिलो भएकोले हामी चौरी गोठमै बास बस्यौं। त्यतिबेला कसैको घरमा बास पाउन गाह्रो थिएन। तर, मलाई ती केटी साथीको डर थियो। कतै भोलि उनीहरूलाई आमाबुवाले एक जवान केटासँग रात बिताएकोमा गाली गर्ने त हैनन्? चौरी गोठभित्र आगो बालेर पालैपालो भिजेका लुगा सुकाउँदै त्यो रात कटाएका थियौं।
जानुकाले कुर्ने गरेको लाकुरीको रुख, मेनुकाले कुर्ने गरेको त्यो गोरेटो बाटो र कमलाले कुर्ने गरेको करेसा बारी, यी सबै ठाउँमा भिन्दाभिन्दै उनीहरूलाई भेटेर म मन साट्ने र माया गाँस्ने गर्थें। मेरो विद्यार्थी जीवन तिनै युवतीसँग प्रेम गर्दै, पढ्दै बित्यो। उमेरले फड्को मार्दै गर्दा मैले त्यो बाल्यकालको प्रेम त्यतै छोडें। त्यसपछि जवानीमा पाईला टेक्दै गर्दा अरु तीन केटी मेरो जीवनमा आए। ती हुन्– बिनु, कविता र सविता।
ती तीनजनासँग पनि मैले प्रेमको रासलिला रचें। राम्री राम्री केटी देख्नासाथ पैसाको रवाफ देखाएर होस् वा महंगो उपहार दिएर, म उनीहरूलाई आफ्नो प्रेम जालमा पारिहाल्थें। उनीहरू सबैलाई प्रेमको जालमा पार्नु र मप्रति लिप्त बनाउनु मेरो खुबी थियो। जब उनीहरू मेरो प्रेममा लिप्त भएर मेरो गैरहाजिरीमा रुन्थे मलाई आफू सफल प्रेमी भएको भान हुन्थ्यो र मख्ख पर्थें। बिनु, कविता र सवितासँगको केही बर्षको भेटघाट र घुमफिरपछि म काठमाडौं आएर व्यापार गर्न थालें। गाउँ फर्कदा उनीहरूलाई पालैपालो उपहार र मिठामिठा खानेकुरा लगिदिन्थें।
समय बित्दै गयो म व्यापारतिर व्यस्त भएँ। मेरा सबै प्रमिकाहरूको विवाह भयो। कसैले मेरो नाममा धेरै आँशु बगाए, कसैले वरमाला मलाई नै पहिराउँछु भन्दै प्रतिक्षामा बसे। कसैलाई भने मैले विवाह गर्छु भनेर घरमा माग्न जाँदा अर्कै केटासँग विवाह पक्का गरिसकेका रहेछन्।
त्यसपछि म पनि व्यापार गरेर धेरै पैसा कमाएर राम्री केटी छानेर विवाह गर्ने अठोट गरेर पैसा, नाम र प्रतिष्ठा कमाउन थालें। यही नाम, पैसा र प्रतिष्ठा कमाउने क्रममा मेरो अरु दुईजना राम्री केटीसँग जम्काभेट भयो। मेरो सौहार्दपूर्ण व्यवहार र ऋष्टपुष्ट खाइलाग्दो शरीर देखेर सबै केटी मप्रति आर्कषित हुन्थे। म भने बजारमा पुतली किने झैं दुई तीनजनासँग एकैपटक प्रेम गर्न खोज्थें।
नारीको कोमल हृदय क्षणभरमै पगाल्नु मेरो विद्यार्थी जीवनदेखि कै बानी थियो। यही क्रममा अंकिता र निरु पनि भेटिए। उनीहरू पनि मसँग वैवाहिक सम्बन्ध गाँसेर सुनौलो भविष्यको कल्पनामा डुब्दै मेरो माया जालमा परे। उनीहरू मेरो स्र्पशमा दंग पर्दै मेरो ईशारामा नाँच्दै थिए। मेरो भने उनीहरूमध्ये कोहीसँग पनि घरजम गर्ने सोच थिएन।
एउटीसँग घरजम गर्ने मन थियो तर जात नमिल्ने हुनाले त्यो प्रेम पनि गाउँमै छोडेर आएँ।
त्यसपछि मैले मेरो जीवनसाथी खोज्ने जिम्मा साथीलाई दिएँ। मित्रताको कदर गर्नु मेरो जिम्मेवार थियो किनभने मेरा सबै प्रेमिकालाई महंगो उपहार किनिदिने पैसा मलाई साथीले नै जुटाइदिन्थ्यो।
मेरो लक्ष्य अर्को हुँदाहुँदै पनि दिनभरीको थकान मेटाउन म साथीहरूको अगाडि छानीछानी केटी घुमाउन कतिको क्षमतावान छु भनेर देखाउन मात्रै प्रेमको नाटक गर्थें। मेरा सबै प्रेमिकाहरूले मसँग घरजम गर्ने सपना देखेका थिए सायद। तर मैले सबैलाई मिनिरल वाटरको बोतल झैं पानी सकिएपछि बेवास्ता गरे झैं वास्ता गरिन्। कोही मलाई नै पर्खेर पागल झैं भए।
कसैले मेरो यादमा आफ्नो घर बिगारेर मलाई स्वार्थीको उपनाम दिए। कोही भने मसँगको विछोडको पिडा सहन नसकेर प्रेमलाई सफल बनाएर छोड्छु भनेर जंगल समेत पसे। एउटी त मेरै मायामा सहिद भइछे। यसपाली गाउँमा जाँदा पो थाहा भयो, लोकतन्त्र ल्याएर मेरो खोजी गर्छु अनि मसँगै विवाह गर्छु भन्दै लड्दै थिइरे।
एकदिन मेरो मिल्ने साथी भानुलाई भेटिछ र भानुसँगको भलाकुसारीमा भानुले नै खोजेको केटीसँग घरपरिवारको सल्लाह अनुसार मैले विवाह गरेको थाहा पाएर जानाजान लडाकु र आर्मीको दोहोरो भिडन्तमा छातीमा गोली थापेर मरिछे । उ त मलाई पनि राम्री लाग्थी तर जात नमिलेको हुनाले घरपरिवारले मेरो कुरा मानेनन्। मैले आफूले सबै अरु केटीसँग बिताएका विगत बिर्सदैं भानुले खोजेको केटीसँग विवाह गरें। मेरो समय श्रीमती र भानुको साथमा रमाउँदै बित्थ्यो। श्रीमतीलाई घरमै छोडेर म पैसा कमाउन व्यस्त थिएँ। असल श्रीमान, असल साथी हुँदै समाजको प्रतिष्ठित व्यक्ति भएर जीवन चलाउँदै थिएँ।
एकदिन एउटी महिला म कहाँ सहयोगका अपेक्षा माग्दै आइपुगिन्। उनको विवाह भएको एक बर्ष पनि नपुग्दै श्रीमानलाई आज्ञात व्यक्तिले अपहरण गरेका रहेछन्। श्रीमानको खोजी गर्ने क्रममा गुर्हादै उनी म कहाँ आइपुगिन्। म पनि उनको श्रीमानको खोजीमा लाग्न थालें। ठाउँठाउँमा गएर उनको श्रीमान खोज्ने क्रममा थाहै नपाई हामी एकअर्कालाई प्रेम गर्न पुगेछौं। त्यति धेरै केटीको स्र्पशले तृप्त नभएको मेरो मन विवाहपछि उनीसँग नजिकिन थाल्यो। मेरो काँधमा अर्को जिम्मेवार थपिए जस्तो लाग्यो।
सबैकुरा सोच्दासोच्दै मेरो फोनको घण्टी बज्यो। फोनमा उनी नै बोल्न थाली, जसको बारेमा म सोचिरहेको थिएँ। ‘आकास आज मानव अधिकारवादीको संस्थामा जानुछ। तिमीलाई थाहै छ मलाई अगाडि गएर केही बोल्न आउँदैन। तिमी मलाई त्यहाँ पुर्याईदेउ न है।’
उनको कुरा सकिन नपाउँदै मैले जवाफ दिएँ–‘आज मेरो धेरै काम छ। सरी पुष्पा आज म तिमीसँग साथी जान सक्दिन।’ यति भनेर फोन काटें।
पहिला पो मेरो श्रीमती थिइन र उ मेरो लागि नयाँ थिइ र म पनि नजिकिएको थिएँ। अब त उसको स्पर्श मेरो लागि पुरानो भइसकेको थियो। हुन त उ मलाई धेरै माया गर्थी। दशैंअगाडि घर जाँदा तिमी गएपछि म एक्लै हुन्छु भन्थी। फेरि यसपटक उसले मसँग पैसा पनि मागेकी थिई। उसले मलाई गरेको मायाको बदलामा सहयोग त गर्नैपर्ने थियो। सोच्दासोच्दै फेरि फोनको घण्टी बज्यो। पुष्पा भन्दै थिई–‘म तिमीलाई बिदा गर्न विमानस्थल नै आउँछु।’
मैले उसलाई भनें–‘नभेटी नहुने भए घरमै आउ सानी, आउ घरमै आउ।’ म उसलाई मायाले सानी भन्थें।
यसपल्ट सानीले मसँग धेरै चित्त दुःखाई। सधैं मलाई सबै काम छोडेर भेटन आउने सानी आज फुर्सद छैन भन्दै रुन थाली। मलाई उसको आँशुले पगालेन। मैले हतारहतार उसँगको कुरा सकेर फोन राखें। अन्तै फोन गरेर गफ गर्न थालें। आखिर मलाई मन पराउनेहरूको कुनै कमि थिएन। तैपनि सानीले मलाई माया गरे हुन्थ्यो झैं लाग्थ्यो। उसले दिएको मायाको बदला म उसलाई आँशु दिन्थें। तैपनि उ मलाई माया गर्न छाड्दिन थिई।
उनी बुद्धिमानी थिईन् तर मेरो प्रेममा भने उनको बुद्धि भ्रष्ट भइसकेको थियो। मलाई भने उनको प्रेम बोझिलो लाग्न थालिसकेको थियो। म आफनै श्रीमतीलाई सम्झन पुगें। मेरी श्रीमती मलाई कति माया गर्छे। मेरो घरको हेरचाहमा उ कति थकित हुन्थी। म अफिस जानेबेला मेरो हरेक सामान मेरो हातमै राख्थी। यति धेरै माया गर्ने मेरो श्रीमतीलाई मैले पहिलो प्राथमिकता दिनैपथ्र्यो। मेरो लागि अब मेरो पहिलाको प्रेमिका र मलाई माया गर्ने सानीभन्दा मेरै श्रीमती प्राथमिकता थिई।
सानीको श्रीमानको पत्ता लाग्ने कुनै लक्षण थिएन। सबैभन्दा पहिले मैले मिनिरल वाटरको बोतल झैं सानीलाई फाल्नै पथ्र्यो। म त्यसैको मौका खाजीरहेको थिएँ। तर सानी मेरो मिठो बोलीलाई उसको दुःख बिसाउने छाहरी ठान्थी। मलाई भने उसको कुनै दुःख सुन्न मन लाग्दैनथ्यो।
म आफ्नो समय भानु र श्रीमतीसँग बिताउँथें। तरपनि उ एक्ली छे भनेर म फोन गर्ने र भेट्ने गर्थें। त्यही क्रमलाई निरन्तरता दिँदै काम विशेषले विदेश जाने बेला मैले सानीलाई फोन गरें र भनें–‘सानी राम्रोसँग बस है। म जान लागें। फर्केर आएपछि भेटौंला।’ मेरो एक कल फोनले उ मख्ख परी र रुन्चे आवाजमा मलाई विदा गरी।
‘राम्रोसँग जाउ। छिट्टै काम सकेर आउ। तिमीबाट सहयोगको अपेक्षा राखेको छु।’ आज मलाई मनमा लाग्यो, सानीसँग मैले भेट्नुपर्ने यत्तिका दिन थियो तर म घरपरिवारसँगै रमाएर फर्कें। उ विचरी एक्लै कसरी दशैं मनाई होली। म घर जाने बेला सानीले भनेकी थिई–‘तिमी गएपछि म एक्लै हुन्छु आकाश, म तिमीलाई चोखो प्रेम गर्छु। तिम्रो यो सहयोगको सबै बेलीविस्तार म श्रीमान भेटिएपछि उहाँलाई सुनाउँछु। उहाँले पनि तिमीलाई त्यसपछि माया गर्न थाल्नुहुनेछ।’
म भने मेरी श्रीमतीसँग डराएर सानीसँग चोखो प्रेम गर्न पनि डराउँथे। जेहोस् अब म फर्केपछि उसको सबैकुरा ध्यान दिएर सुन्ने छु। अब म स्वार्थी हुँदिन। मैले मेरो श्रीमतीलाई बाधा पुग्ने काम के गरेको छु र? यही सोच्दै म विदेश पुगें।
त्यहाँ एक महिनाको काम सकेर फर्कनासाथ सानीलाई फोन गरें। उसको फोन उठेन। म उसको फोन आउँछ कि भन्ने प्रतिक्षामा बस्न थालें। तर न उसको फोन आयो, न त मैले गर्दाखेरी उठ्यो। सानीलाई के भयो भन्ने कुराले मलाई दिनरात पोल्न थाल्यो। आजभन्दा पहिला मैले कुनै नारीलाई यसरी सम्झेको थिइन। भोलि बिहान गएर सानीलाई मेरो माया व्यक्त गर्नेछु। उसलाई आफूसँगै राख्ने निर्णय गरेर कोठाको समेत व्यवस्था गरेर निदाउने कोशिश गरें। निकै बेरपछि आँखामा परेलाको बिर्को लाग्यो।
भोलिपल्ट बिहानै उठेर सबै काम सकेर पत्रिका पढ्दै थिएँ। पहिलो पृष्ठमा मेरो आँखा अडियो, जहाँ लेखिएको थियो–‘तीन बर्षपछि श्रीमानको पत्ता लाग्यो। श्रीमतीलाई श्रीमानले अपहरणकारीको आग्रहमा सँगै समथल भूमिमा बोलाए र दोश्रो दिन नकाबधारी अज्ञात व्यक्तिहरूले श्रीमान कै अगाडि बलात्कार गरे र श्रीमानलाई जिउँदै जलाए।’
अर्को पृष्ठमा लेखिएको थियो–‘तराई अनिश्चितकालिन बन्द, बाली उठाउन आएका एक व्यक्तिको गोली प्रहारबाट हत्या।’ गोली प्रहारबाट हत्या हुने तराईमा मौजा भएको मेरो साथी थियो भने सामूहिक बलात्कारपछि हत्या भएको मेरै सानी थिई। अब मैले सानी जस्तो निःस्वार्थ प्रेम गर्ने कोही भेट्ने छैन।
मेरो प्रेममा आँशु बगाउने धेरै नारीको श्रापले होला आज म सानीको प्रेममा भावविवह्ल भएर रुनुपर्यो। मेरो स्वार्थ लुकेको प्रेमको कारणले मैले सानीको मायालाई चिन्न सकिन।