प्रश्नको घेरामा ‘राजावादी सर्पहरू’ हुर्काउने ओली

Break n Links
Break n Links

नेपाल यतिबेला राजावादीहरूले मच्चाएको ताण्डवले अशान्त छ । यसले प्रभावितहरूलाई त चयनको श्वास फेर्न दिएको छैन नै, ताण्डव मच्चाउने स्वयं पनि चयनले निदाउन सकेका छैनन् । घटनाक्रम जे जसरी अगाडि बढेर पटाक्षेप भएको छ, त्यसबाट तथ्यभन्दा पनि परस्पर विरोधी सत्यहरू उभिएका छन् । यस्तो विभाजित सत्यले बनाउने भनेको अनुमान र आशंकाहरूको ढिस्को हो, अहिले त त्यो पहाड नै भएको छ भन्दा पनि हुन्छ ।

यस्तो तरल अवस्थामा स्वभावतः षडयन्त्रका सिद्धान्तहरूको जगजगी हुन्छ । अहिले देश यही चरणमा प्रवेश गरेको छ । यसबाट चारैतिर संशयको बादल मडारिरहेको छ ।यसपछि घटनाक्रम कसरी अगाडि बढ्ने हो ?, कोही पनि यकिनका साथ भन्न सक्ने अवस्था छैन । भनाइ नै छ, भोलि कसले देखेको हुन्छ र ?

यो अप्रिय घटनाका लागि जिम्मेवार को हो ? यसको सतहमा देखिने उत्तर त एउटै हुन्छ, ज्ञानेन्द्र शाह । उनले फागुन ७ गते जनतासँग आफूलाई सघाउन सार्वजनिक आव्हान गरे । त्यही अपिलले विभिन्न थरिका पात्र र प्रवृत्तिहरूको भीड जम्मा गर्ने काम गरेको छ ।

आव्हान गर्ने ज्ञानेन्द्र निर्मल निवासमा थिए, उनले खोजेका खेतालाहरूको काम लगाउने सीप र क्षमता भएन । त्यसैको परिणाम बन्यो, शुक्रबारको ताण्डव नृत्य र त्यसले निम्त्याएको ठूलो धन–जनको क्षति । यो सँगै परिस्थितिलाई आकलन गरेर त्यही अनुसारको तयारी गर्न र शान्ति सुरक्षा कायम गर्न चुकेको नालायक सरकार पनि यो घटनाका लागि उत्तिकै जिम्मेवार छ ।

यस्तो बेला त्यो सरकारको मुखिया र उनको पृष्ठभूमिसँग जोडिएर एक हैन अनेक प्रश्नहरू उठ्छन् । यति मात्र हैन, उनको काम गर्ने शैली र बोल्ने भातीको कुरा पनि उठ्छ । त्यसको आधारमा उनलाई हेर्ने राजावादी र गणतन्त्रवादीहरूको धारणाको कुरा पनि उठ्छ । उनले आफूलाई सत्तामा पुर्‍याउन के कस्ता किसिमका राजनीतिक दाउपेच र तिकडमहरू गर्दै आए ?, त्यसको बारेमा पनि कुरा त उठ्छ नै ।

यी सबै प्रश्नको एकमुष्ट जवाफ हो, केपी ओली : एक पात्र र प्रवृत्ति । यही नै कारण यो उपद्रोमा ओलीको भूमिकालाई लिएर उनैतिर चोर औला ठडिएको छ । एकातिरबाट गणतन्त्रवादी माओवादी अध्यक्ष प्रचण्डले आशंका व्यक्त गर्दै सार्वजनिक रूपमै भने ‘राजावादी आन्दोलनमा ओलीको सहयोगी भूमिका हुन सक्छ ।‘ त्यसको ठीक अर्कोतिरबाट राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीले पनि भन्न भ्याए, ‘ओली पनि राजावादी नै हुन् ।‘

एकातिरबाट मात्र हैन, परस्पर विरोधी दुबैतिरबाट आएका आशंकाका कारण ओलीको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाउन सकिन्छ, कतै उनी नै आजको दिन ल्याउन योजनाबद्ध रूपमा त लागिरहेका थिएनन् ? केही दिनयता उनले गरेका उग्र भाषण र एकलकाँटे क्रियाकलापको टाइमलाइनले पनि त्यस्तै शंका गर्ने ठाउँ दिन्छ । जसले गर्दा उनले सजिलै ‘क्लिन चिट’ पाउँने अवस्था छैन ।

तर विडम्बना, ओलीको पृष्ठभूमि र भूमिकालाई केन्द्रमा राखेर यो घटनामाथि बहस उठ्न सकेको छैन । त्यो नहुनु उनलाई एक किसिमको अभयदान प्राप्त हुनु हो । यसले ओली र उनको ओमालेलाई मात्र सहयोग पुग्छ, गणतन्त्र नेपाललाई हैन ।

यो अक्षरकर्मी गणतन्त्रप्रति ओलीको प्रतिबद्धतालाई लिएर निरन्तर प्रश्न उठाउँदै आएको छ । त्यसका पछाडि केही बस्तुनिष्ठ आधारहरू छन् । राजावादीको ताण्डवले तावा तातेको समयमा ‘बेलाको बोली’ होला कि भन्ने झिनो आशाले फेरि एकपटक त्यही विषयलाई उठाउने प्रयास गरेको छु ।

त्यसको सुरूवातमा यो कुरा पनि राख्नै पर्छ कि ज्ञानेन्द्र नाममा मच्चिएको पछिल्लो ताण्डवको निम्तो दिने मूल पात्र ओली, देउवा र प्रचण्ड नै हुन् । गणतन्त्रका राहु, शनि र केतु नै साबित भएका यी नालायकहरूको चरम सत्ता लिप्सा, कार्यक्षमताको अभाव र भ्रष्ट आचरणकै कारण जनतामा गणतन्त्रप्रति वितृष्णा आएको हो । त्यही वितृष्णाको फोहोर पोखरीमा ज्ञानेन्द्रले राजतन्त्रको बल्छी हाल्ने नादान कोसिस गरेका हुन् ।

गणतन्त्रलाई आजको रक्षात्मक स्थितिमा पुर्याउने तीन चण्डालमध्ये पनि  दोषको मात्राको हिसाबले सूची बनाउने हो भने शीर्ष स्थानमा ओली नै पर्छन् । यस पछाडि रहेका कारणलाई दुई किसिमले प्रस्तुत गर्न सकिन्छ । पहिलो, ओलीको प्रत्यक्ष क्रियाकलापसँग सम्बन्धित छ ।

२०६२/६३ को जनआन्दोलनका बेला नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नु भन्ने केपी ओलीले २०७२को संविधान जारी हुँदा पनि असहमति राख्दै ‘आफू इच्छाले हैन, लत्रेर आइपुगेको’ भने । त्यसपछि चारपटक प्रधानमन्त्री भएका उनले हरेक पटक संविधानको मर्ममाथि नै प्रहार गरे । दलहरू विभाजन गरेर कमजोर बनाए । राजावादीहरूलाई मलजल गरे । प्रकारान्तरमा गणतन्त्र नै कमजोर हुँदै गयो र यो अहिलेको स्थितिमा पुग्यो ।

यो सबै उनले आफूलाई पटक पटक प्रधानमन्त्री बनाउनकै लागि गरेका थिए  । त्यस क्रममा उनले के गरे  भनेर थेसिसमा हैन, के गरेनन् भनेर एन्टी थेसिसमै हेर्नेपर्ने हुन्छ । यस बारेमा लगभग सबै जानकार पनि छन् । त्यसैले यसपटक त्यसमाथि कुरा नगरौं ।

ओलीको दोस्रो कुकर्म भनेको राजावादी सर्पहरूलाई दूध पियाएर हुर्काउने हो । त्यसको केही फेहरिस्त यस्तो हुन्छ ।

कुरा राजेन्द्र लिङ्देनबाटै सुरु गरौँ । ओलीले झापा ५ मा चुनाव जित्न सधैँ झापा ३ मा राजेन्द्र लिङ्देनसँग तालमेल गरे । लिङ्देन ओलीको कृपा र एमालेकै मतले जित्दैआए । उनी सांसद मात्र भएनन्  उपप्रधानमन्त्री नै भए । राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष भए । अहिले उनी संसदमा ‘राजावादी यहाँ छ’ भन्दै छाती ठोक्दै ललकारिरहेका छन् । यहाँ, प्रश्न लिङ्देनको जीतको मात्र हैन, उनलाई जिताउन कसलाई हराइयो भन्ने पनि हो । यो कुकर्म गरेर ओलीले एक कट्टर गणतन्त्रवादी कृष्णप्रसाद सिटौलालाई हराए । यो भनेको अन्ततः गणतन्त्रलाई धक्का दिने काम हो, गणतन्त्रविरोधी काम हो । ओलीले यो कुकर्म एकपटक हैन, पटकपटक गरे ।

कमल थापाको कुरा गर्दा उनी २०६२/६३ को जनआन्दोलन दबाउने ज्ञानेन्द्रका गृहमन्त्री हुन् । उनै थापा ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री भए, त्यो पनि परराष्ट्रमन्त्री । त्यति मात्र पनि हैन, एमालेको सूर्यचिन्ह लिएर प्रतिनिधिसभाको उम्मेदवार नै भए । सामान्य अवस्थामा यस्तो सम्भावनाको कल्पना पनि गर्न सकिँदैन । तर, ओलीले बिना हिचकिचाहट यो कुकर्म पनि गरे । थापाका कुकर्ममार्फत पनि ओलीले गणतन्त्रमाथि नै प्रहार गरे ।

धवलशम्शेर राणाको कुरा गर्दा उनी २०७९ को आमनिर्वाचनमा एमालेसँगको तालमेलमा बाँकेबाट सांसद भए । अहिले उनी राजावादी राप्रपाको महामन्त्री मात्र छैनन्, राजावादी आन्दोलनकै कमान्डर छन् ।

जगमान गुरुङ एक पश्चगामी सोच भएका रुढीवादी व्यक्ति हुन् । उनका हरेक लुगामा राजाको ¥याल गनाउँथ्यो । यो सबै थाहा पाएर पनि ओलीले ऊ जतिको ठूलो प्राज्ञ अरू कोही देखेनन् । र, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइदिए ।  उनै स्वघोषित ‘नेपाल ऋषि’ जगमान गुरुङ अहिले राजसंस्था स्थापना संघर्ष समितिका संयोजक भएका छन् ।बैशाखसम्ममा राजा आएनन् भने सारा ज्योतिषशास्त्र नै जलाइदिन्छु भनिरहेका छन् ।  

दुर्गा प्रसाईको त के कुरा भयो र ? विवादास्पद छवि भएका बहुलठ्ठी प्रसाइले त ओलीसँग हजुरबुबाकै नाइटो गाँसे । सबै किसिमका प्रक्रिया मिच्दै ओलीले उनलाई एमालेको केन्द्रीय सदस्य मात्र हैन, एउटा विभागको नेतृत्व नै सुम्पे ।  त्यतिबेला ओलीको छत्रछायामा प्रसाईँले के गरे भन्दा पनि के गरेनन् भन्ने स्थिति छ । अहिले उनी राजा फर्काउने आन्दोलनको कमान्डर भएर उपद्रो मच्चाइरहेका छन् । यी कसैका निजी सत्य हैनन्, आजको समयका अकाट्य तथ्य हुन् । नेपालमा ज्ञानेन्द्रका नाममा पछिल्लो ताण्डव मच्चाउन यी सबै परिघटनाहरूको सामान्य हैन, महत्त्वपूर्ण योगदान छ ।

प्रश्न यी सारा राजावादी सर्पहरूलाई दुध पियाएको मात्र हैन,  किन यति धेरै संख्यामा श्रृङ्खलावद्ध राजावादी सर्पहरू हुर्काइयो भन्ने पनि हो । एउटा संजोग होला, दुईवटा पनि संजोग होला– तर श्रृंखलावद्ध रूपमा यति धेरै संजोगहरू कसरी हुन सक्छन् ? आफैँमा यो एक गम्भीर प्रश्न हो ।

कुरा यति मात्र पनि हैन, ओलीले यी सारा कुकर्म गरेर पनि केही नगरेजस्तो अभिनय गर्दैआएका छन् । उनले आजसम्म यी तमाम कुकर्मको जिम्मा लिएर गल्ती भयो भनेर कतै मुख खोलेका छैनन्, उल्टै यदाकदा आफ्नो निर्णयप्रति गर्व गरेका भनाइ बाहिर ल्याएका  छन् । यति धेरै राजावादी सर्पहरू हुर्काएर गणतन्त्रविरुद्ध मञ्चन गरिएको यो ताण्डवप्रति उनलाई कुनै ग्लानी छैन ।

अझ, लाजमर्दो कुरा त के छ भने एमाले भन्ने पार्टीमा यो कुकर्मका लागि ओली जिम्मेवार हुन् भन्ने कुनै नेता÷कार्यकर्ता देखिएको छैन । उल्टै ओलीको देवत्करण गरेर उनलाई यस्ता श्रृंखलावद्ध कुकर्म गर्न प्रोत्साहित गरिएको छ ।

परिणामतः बेलगाम ओली आजको ताण्डवका लागि मूल कारक बन्ने अवस्था उत्पन्न भयो । एक कोणबाट मात्र हैन, दुवै कोणबाट । पहिलो कोण, आज ताण्डव गर्ने राजावादी सर्पहरूलाई दूध पियाएर । दोस्रो कोण, गणतन्त्रलाई नेतातन्त्रमा बदलेर यसलाई काम नै नलाग्ने तन्त्रका रूपमा साबित गरेर ।

गजबको अर्को कुरा त के पनि भएको छ भने ओली नै प्रधानमन्त्री भएको बेला उनले हुर्काएका राजावादी सर्पहरूले गणतन्त्रविरूद्ध विषवमन गरिरहेका छन् । अप्रत्याशित रूपमा ठूलो धन–जनको क्षति भएको छ । यो क्षति हुनुमा सरकार प्रमुखका हैसियतले प्रमुख जिम्मेवारी ओलीकै हो । यहाँ पनि प्रश्न उठाउन सकिन्छ, कतै आन्दोलनलाई उग्र बनाउन ओली आफैँ लागेका त थिएनन् ? त्यसो नहुँदो हो त शान्ति सुरक्षाको पुग्दो प्रबन्ध गरेर प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सकिन्थ्यो । तर, त्यस्तो प्रयत्न नै भएन । कुनै बेलाको मार्सी नाति पक्राउ नपरेर फरार भएकोमा पनि ओलीतिरै चोर औला उठेको छ । 

राजावादीहरूको यो रैती-परेडले ज्ञानेन्द्रको फेरि राजा हुने 'सपना' नराम्ररी ऐँठनमा परेको छ । तर, पनि दक्षिणको विछ्यौनाको देखिएको यो सपनाको तन्द्रा त्यति छिट्टै  जाला जस्तो छैन । अझ पनि केही थप उपद्रोहरू हुनेवाला जस्तो देखिन्छ । विडम्बना नै भन्नुपर्छ, यो उपद्रो सम्बोधन गर्नुपर्ने सरकार प्रमुख ओली नै यतिबेला राजावादीहरूसँगको हिमचिमका कारण गम्भीर प्रश्नहरूको घेरामा छन् ।

अब हेर्नु छ, ओलीले राजावादी सर्पहरूलाई दूध पियाएर विषवमन गर्ने अवस्थामा पुर्‍याएको कुकर्मका लागि जिम्मेवारी लिएर जनतासामु सार्वजनिक रूपमा माफी माग्छन् वा आफ्नो राजावादी ‘हिँडेन एजेन्डा’कै पटाक्षेप गर्छन् ? त्यसका लागि नेपाली जनता अब धेरै पर्खन तयार छैनन् । समयले पनि उनलाई त्यति धेरै समय दिनेवाला छैन । ओलीलाई पनि राम्ररी थाहा छ, ढाँटेको कुरा काटे मिल्दैन ।

प्रकाशित मिति: : 2025-04-03 04:38:00

प्रतिकृया दिनुहोस्