६५ वर्ष पुगेको मेरो जीन्दगीको यात्रा अघि बढाउन जीवनमा २ जना अभिभावक आए। यसमा दुवै जनाको अहम् भूमिका रह्यो।
पहिलो, आधा जीवन अर्थात ३२ वर्षसम्म मलाई मेरा वुवा कृष्ण पुनले जन्माउने, हुर्काउने पालनपोषण गर्नेदेखि प्रविणता प्रमाणपत्र तहसम्मको अध्यापन गराउनुभयो।
६५ वर्ष अगाडि हाम्रो समाजमा छोरा/छोरीलाई पढाउने लेखाउने त्यति चलन थिएन। तर पनि मेरो बुबाले हाइ स्कुलसम्म पढाउने अठोट गर्नुभयो। त्यहीँ आँटले मैले आइएस्सी सम्मको अध्ययन गर्ने मौका पाएँ।
संसारमा जन्म लिनु ठूलो कुरा होइन। जन्मेर बाँच्नुको अर्थ महत्वपूर्ण हुन्छ। आफ्ना सन्तानलाई हरेक अभिभावकले यहीँ सिकाउने प्रयत्न गर्छन्। नेपाली समाज अनुसार गुरू, माता र पितालाई भगवानको मानव रूप भनिन्छ। बुवा, पिता अनेक शब्द तर एकै रुप हुन्। रक्षक, पालनकर्ता, जन्म र कर्म दिने व्यक्ति र संसार चिनाउने व्यक्तिलाई बुबाको रुपमा परिभाषित गरिएको छ।
गाउँमा स्कुल नभएको त्यो बेलामा बाबा मलाई पढाउनकै लागि भनेर म्याग्दीको दुर्गम गाउँ नाँगीबाट चितवन बसाई सर्नुभयो। चितवनबाटै एसएलसी दिएको मलाई उच्च शिक्षाका लागि काठमाडौं पठाउनुभयो।
बाबाले त्यतिबेला दिएको शिक्षाले म १३ वर्षसम्म शिक्षक भएर विद्यार्थी पढाएँ। मेरो जीवनको पहिलो चरण सफल बनाउन जन्म दिने बाबाले खेलेको भूमिका अहम् रह्यो। उहाँ बित्नुभएको पनि आज ३३ वर्ष पुरा भइसक्यो।
जीवनको दोस्रो मोड, उच्च शिक्षाको लागि अमेरिका यात्रा
१३ वर्षसम्म चितवनकै एक विद्यालयमा शिक्षक पेशाको रूपमा जागिर खाएको मलाई विदेशमा गएर थप अध्ययन गर्न मन लाग्यो। त्यसपछि ३२ वर्षको उमेरमा सन् १९८७ मा मैले शिक्षण पेशा छाडेँ।
त्यतिबेला मसँग न पैसा थियो, न त कुनै उपाय नै। अमेरिकातिर पढ्न जान सकिन्छ कि, भनेर हरसम्भव प्रयास गर्दै काठमाडौंमा भौतारिएँ।
२०४३/४४ सालतिरको कुरा हो। त्यति बेला अहिलेको जस्तो इन्टरनेटको जमाना थिएन। विभिन्न विश्वविद्यालयको ठेगाना न्युरोडस्थित अमेरिकन लाइब्रेरीबाट प्राप्त गरेँ। ७ रूपैयाँको टिकट टाँस्दै विभिन्न युनिभर्सिटीमा छात्रवृत्तिको लागि भनेर थुप्रै चिठ्ठी लेखेर पठाएँ - कतै लाटोको खुट्टा बाटोमा परिहाल्छ कि! भनेर त्यसबेला नेपालबाट अमेरिका चिठ्ठी पठाउन ७ रूपैयाँको टिकट टाँस्नुपर्थ्यो।
सुरुवाती विश्वविद्यालयमा महावीर पुन डा. स्कोवसँग
करिब १८ महिनासम्म अथक प्रयास गर्दा पनि केही सिप लागेन। कुनै पनि विश्वविद्यालयले म माथि चासो देखाएनन्। अब केही नलाग्ने रहेछ भनेर निरास भएको मलाई एउटा पत्रले हर्सित बनायो।
सन् १९८८ मा मैले पठाएको एउटा पत्र नेब्रास्का युनिभर्सिटीको डिन कार्यालयमा पुगेछ। नेपाल भन्ने बित्तिकै उहाँमा केही चासो बढेछ। नेपाल भन्नाले हिमाल मात्रै सुनेका ती डिनमा जिज्ञासा जाँगेर होला अफिसमा केही सहकर्मीसँग सल्लाह गरेर मलाई नेब्रास्का युनिभर्सिटिमा छात्रावृत्ति दिने निधो गरेछन्।
‘छात्रवृत्ति दिने र सकेको मद्दत गर्ने,’ भन्ने व्यवहोराको पत्र पाएपछि डेड वर्ष भौतारिएर हार खाइसकेको ममा एकाएक नयाँ उमंग छायो।
त्यही चिठी र उहाँको जिज्ञासाले उच्च शिक्षाको लागि मेरो अमेरिका यात्रा तय भयो। यो कुरा मलाई उहाँले निकै पछि मात्रै सुनाउनु भएको थियो।
म अमेरिका पुग्दा नेपालबारे उहाँले धेरै कुरा अध्ययन गरिसक्नुभएको रहेछ। त्यहाँ मेरो बस्ने, खानेदेखि पढ्ने सबै बन्दोवस्त मिलाइएको रहेछ।
उहाँ हुनुहुन्थ्यो डा. लियोनर्ड स्कोव, नेब्रास्का युनिभर्सिटिका डिन। उहा पछि भाइस चान्सेलर पनि हुनुभयो। यो नै मेरो जीवनको महत्वपूर्ण दोस्रो मोड थियो।
७ वर्ष अमेरिका बसेर मैले स्नातकोत्तरसम्म अध्ययन गरेँ। बिच बिचमा २-३ पटक नेपाल आएँ।
डा. स्कोव
जति पढे पनि, जे पढे पनि मेरा लागि सबै निःशुल्क थियो। अमेरिकामा बसुन्जेल मलाई खर्चको कहिले अभाव भएन। दैनिक १८-१९ घण्टासम्म पनि पढ्न पाएँ।
नेपालमा हुँदा १० कक्षासम्म लटरपटर पढियो, काठमाडौं पढ्दा दुःख गरेरै वित्यो। युनिभर्सिटीको भरपुर शिक्षा मैले अमेरिकामा पाएँ, भरपुर ज्ञान बटुल्ने अवसर मैले त्यहीँ पाएँ। यसका लागि डा. लियोनर्ड स्कोव मेरो जीवनको दोस्रो अभिभावक बनेर आइदिनुभयो।
साढे दुई दशकदेखि निरन्तर सामाजिक विकासको काममा
स्नाकोत्तरको पढाइ सकेर नेपाल फर्केपछि पनि उहाँले मलाई निरन्तर सहयोग गरिरहनुभयो। म नेपाल आएपछि कुनै जागिर खाईनँ। स्वयं सेवकको रूपमा काम गरे। उहाँले आफ्ना साथीभाइसँग दुई चार पैसा संकलन गरेर मलाई पठाइदिनुहुन्थ्यो।
यसले मलाई गाउँ गाउँ पुगेर सामाजिक विकासको काम गर्न ठूलो सहयोग र प्रेरणा मिल्यो। उहाँको सहयोगलेनै हो मैले नेपालमा स्वतन्त्र भएर काम गर्न पाएको हो।
नेपालमा गएर यसो गर्नू, उसो गर्नू भनेर मलाई कसैले अह्राएको वा सल्लाह दिएको होइन। सामाजिक विकासको काम म आफैंले सुरू गरेको हुँ। तर मैले गर्ने हरेक सामाजिक काममा उहाँको सधै हौसला, प्रेरणा र सद्भाव रह्यो।
यहीँ सहयोगलाई औपचारिकता दिन उहाँले अमेरिकामा‘हिमाञ्चल एजुकेशन फाउन्डेशन’ भन्ने संस्था स्थापना गर्नुभयो। त्यसपछि यही संस्थामार्फत सहयोग जुटाएर पठाउन थाल्नुभयो।
संस्थाकै सहयोगले नेपालका विभिन्न दुर्गम गाउँमा विद्यालय सञ्चालन, शिक्षकको तलवदेखि विभिन्न किसिमको आय आर्जनका सा-साना आयोजना र अन्य समाजिक विकासका कार्य निरन्तर अगाडि बढ्यो।
पछिल्लो पाँच वर्ष यता उहाँ उमेर र स्वास्थ्यको कारण आराम गर्दै हुनुहुन्थ्यो। डा. स्कोवलाई अल्जाइमरको लक्षण देखा परेदेखि उहाँको जिम्मेवारी अर्को प्रोफेसरले लिएका छन्।
डा. स्कोव सहकर्मीसँग
मेरो जीवनको दोस्रो चरण अर्थात पछिल्लो ३२/३३ वर्षको दौरानमा उहाँ मेरो दोस्रो अभिभावकको रूपमा रहनुभयो। मेरो हरेक सामुदायिक विकासको काममा वहाँको उत्प्रेरणा र सहयोगको सदैव साथ रह्यो।
कहिले काहीँ सोच्छु - यदि मेरो चिठीमा डिनले नेपालबारे अलिकति पनि चाख नलिएको भए वा वास्ता नगरि कतै फाल्दिएको भए आज मेरो जीवनको अर्कै मोड लिने निश्चित थियो, आजको महावीर पुन पक्कै हुने थिइनँ।
मेरो जीवनको सन् ११८८ अर्थात २०४५ देखि अहिलेसम्म डा. स्कोवलाई दोस्रो अभिभावको रूपमा लिएको छु। यी दुई ब्यक्तिले नै मलाई आजको महावीर बनायो।
मेरो आधा जीवन जन्म दिने बाबाले हेर्नुभयो भने बाँकी आधा डा. स्कोवले। दुवै अभिभावकप्रति मेरो प्रगाढ माया छ, सधै श्रद्धाले शीर झुक्छ।
डा. स्कोवको नेपाल भ्रमण
१६ वर्ष अगाडि ७० वर्षको उमेरमा उहाँ छोरासँगै नेपाल घुम्न आउँदा म जति खुसी सायदै कोही थिएन होला। त्यतिबेलाको एउटा रोचक घटना झलझली आइरहेको छ।
म्याग्दीको बेनीबजारबाट मेरो गाउँ नांगी पुग्न मज्जाले हिँड्डा पनि ७ घण्टा लाग्थ्यो। पाको उमेर भएकाले उहाँलाई हेलिकप्टरको व्यवस्था गर्ने सोच बनाएको थिएँ। तर त्यसबेला नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा थियो।
हेलिकप्टर कम्पनीले माओवादीको स्वीकृति पाएपछि मात्र उडाउने भन्यो।त्यतिबेला कुनै माओवादी सम्पर्कमा नभएकाले पैदलै हिड्नुपर्ने भयो। त्यतिबेला उहाँले हिँडेरै जाने आँट गर्नुभयो। निकै उकालो र लामो यात्रा भएकाले बाटोमा रात पर्यो। कुनै एउटा गाउँको कुनामा रात विताएर अर्को दिन मात्रै नाँगी पुगियो।
एक हप्तासम्म प्रोफेसरले गाउँका विद्यालय, सामाजिक विकासका आयोजनाको अवलोकन गरेर बिताउनुभयो।
भिडियाे: शनि शाक्य
फर्किदा भने माओवादी साथीहरू भेटिएकाले हेलिमा फर्कियौं। खोप्रा डाँडामा पर्यटक बस्ने सानो क्याम्पिङ ग्राउण्ड र वास बस्ने सामुदायिक लज, चौरी गोठ र महरे डाँडामा वाइरलेस इन्टरनेट रिपिटर टावर अवलोकन गर्न हेलीमा पुर्याएँ।
आफूले सहयोग गरेका आयोजना देख्दा उहाँ निकै खुसी र भावुक हुनु भएको थियो।
मलाइ पनि यी आयोजना देखाउन पाएकोमा खुसी लागेको थियो। त्यसपछि हेलिमै पोखरा फर्कियौं।उहाँले फेरि पनि नेपाल आउने वाचा गर्नुभएको थियो, तर त्यो दिन कहिले आएन।
सम्झनामा डा. स्कोव
अस्ती अचानक उनै मेरा अभिभावक डा. स्कोवको मृत्युको खवर पाउँदा म स्तब्ध भएँ। दुइ वर्ष अगाडि मात्र अमेरिका जाँदा उहाँसँग भेट भएको थियो। अर्को साल भेट्न आउने बाचा गर्दै छुटेको हाम्रो भेट त्यो नै अन्तिम रह्यो।
गत जुलाइ-अगष्टमा अमेरिका जान तम्सिएको पनि थिएँ, तर विश्वव्यापी कोरोना महामारीले गर्दा जान सकिनँ। साह्रै दुःख लाग्यो। त्यही दुई वर्ष अगाडिको भेट नै मेरो आदरणीय गुरू र असल अभिभावकसँगको अन्तिम भेट हुनपुग्यो।
८५ वर्षेको उमेरमा मेरा अत्यान्तै प्रिय अभिभावकको निधनले मलाई गहिरो चोट पुर्याएको छ।
२०४४ सालमा मैले जन्म दिने वुवा गुमाएँ, संयोगले त्यसको लगत्तै अर्को अभिभावक पाएको थिएँ। तर आज मैले दोस्रो अभिभावकसमेत गुमाएको छु। निः शव्द छु। राष्ट्रिय आविस्कार केन्द्र सुरू गर्दा होस् या गाउँ गाउँमा वाइरलेस इन्टरनेट पुर्याउनु तथा सामुदायिक विकासका हरेक काममालाई सधै उत्प्रेरणा, हौसला र सहयोग गर्ने व्यक्ति थिए डा. स्कोव। मेरो हरेक काममा जन्मदिने बाबाको आशिर्वाद र डा. स्कोवको छत्र छायाँ सधै रह्यो।
डा. स्कोव पाइलटकाे रुपमा
उहाँ मेरो प्रोफेसर भए पनि हामी बाबुछोरा र साथि भाइ जस्तै भयौं। कुरा, विचार सबै मिल्ने।
मानिसको चोला हो , सबैले एकदिन मर्नु पर्छ। आफ्नो इष्टमित्र र मद्दत गर्ने मान्छे सदाको लागि गुमाउदा दुःख त लाग्छ नि। तर के गर्ने, मृत्यु साश्वत सत्य हो ? हामी सबै एक दिन त्यही बाटो भएर जानुपर्छ।
प्रत्यक्ष रूपमा डा. स्कोवलाई नदेखे, नभेटे, नचिने, नाम नसुनेको भए पनि सारा नेपालीलाई मेरो अनुभव साट्छु - मैले गरेका हरेक सामाजिक कामदेखि राष्ट्रिय आविस्कार केन्द्रसम्म आइपुग्नुमा उहाँको महत्वपूर्ण भूमिका छ। उच्च शिक्षादेखि आजसम्म मेरा हरेक क्रियाकलापमा प्रत्यक्ष सहयोग गर्ने, उत्प्रेरणा र भरथेग गर्ने ब्यक्ति उहाँ नै हुनुहुन्थ्यो।
पाइलटसमेत रहनु भएको उहाँ नेपालको बारेमा चासो राख्ने असल मित्र पनि हुनुहुन्थ्यो। आज हामी माझ नरहे पनि उहाँले सिकाएको ज्ञान र देखाएको बाटो र हौसला मेरो मन भित्र अमर भएर रहनेछ। उनका श्रीमति र तीन छोरा छन्।
प्रारब्धको खेल वा प्रकृतिको लीला नै भन्नुपर्छ, मेरा दोस्रो अभिभावकको पूरै जीवन एउटा सिधा राजमार्गमा मात्र दौडिएको थियो। जीवनमा उहाँ कहिल्यै पनि काम नपरी कतै गएको वा कतै बढी समय बिताएको मलाई थाहा छैन।
कुनै एउटा दार्शनिकको भनाइ उहिल्यै पढेको थिएँ- जीवनको एक क्षण पनि कर्तव्यबाट खाली छैन। उहाँको जीवनमा यो कुरा यसरी लागू भयो कि आफ्ना न्यूनतम कर्तव्य सकेपछि उहाँले धर्ती नै छाड्नुभयो।
उहाँको हौसला, प्रेरणा, सहयोग र मार्गनिर्देशले नै आज महावीर पुन बनेको हुँ। आज मेरो मन निकै भारी भएको छ, उहाँको मृत्युको खबरले स्तब्ध बनाएको छ। जिन्दगी बगिरहेको खोला जस्तो हो।
अब बाचुञ्जेल मानव जीवनको कल्याणकारी काममा लाग्नेछु। निरन्तर नेपाली समाजमा सेवा गरेर डा. स्कोवको ऋण तिर्न सक्छु कि भन्ने आशा छ। अन्तिम सास रहुञ्जेल मानव कल्याणको लागि सेवा गरिरहन पाऊँ। यहीँ नै डा. स्कोवप्रति मेरो सच्चा श्रद्धान्जलि हुनेछ।
आफूसँग जोडिएका र परिवारका मान्छेबारे भावना ब्यक्त निकै गाह्रो हुनेरहेछ। किन ब्यक्त गर्ने ? जब कि मेरो मान्छे त अब फर्किने हैन। कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने ? थाहा धेरै छ, कति भनौं ? के के लुकाउँदा र के भन्दा हुने हो, पढ्नेले झ्याउ पनि मान्लान् ? यस्ता धेरै प्रश्नको एकमुष्ठ जवाफ मनले खोज्ने रहेछ।
लकडाउनले परदेशमा दिवंगवत भएका आफन्तबारे लेखेरै श्रद्धाञ्जलि दिनु अन्यथा पनि नहोला।
मेरो जिवनमा तपाईँको प्रभाव जिवन परन्त रहिरहनेछ , तपाइको अभाव सधै खड्किरहनेछ।
अलविदा, मेरो जीवनको दोस्रो अभिभावक, डा. स्कोव !
(महावीर पुनसँग सुरेन्द्र रानाले गरेकाे कुराकानीमा आधारीत)
भिडियाे