पूर्व विदेश मन्त्री जोन केरीलाई अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनले जलवायु परिवर्तन विशेष दूतको जिम्मेवारी प्रदान गर्ने घोषणा गरेका छन्।
जनवरी २० मा वाइडेनले सत्ता सम्हालेपछि जोन केरी जलवायु परिवर्तन विशेष दूत हुने भएका हुन्।
उनी जलवायु परिवर्तनको काम हेर्ने गरि जिम्मा पाएर राष्ट्रिय सुरक्षा परिषदमा बस्ने पहिलो अधिकारी हुने छन्।
बाराक ओबामाको दोस्रो कार्यकालमा विदेश मन्त्री रहेका जोन केरीले सन् २०१५ मा जलवायु परिवर्तन सम्बन्धी महत्वपूर्ण पेरिस सम्झौतामा हस्ताक्षर गरेका थिए। ट्रम्प प्रशासनले हालै मात्र अमेरिकालाई सो सम्झौताबाट औपचारिक रुपमा बाहिर निकालेको छ।
यद्यपी उनले सन् २०१९ मा केरीले ‘वर्ल्ड वार जिरो’ नामक जलवायु परिवर्तन सम्बन्धी विशेष अभियान थालेका थिए। उनले सो अभियानमा विश्वका नेता तथा सेलिब्रेटीहरुलाई एकसाथ ल्याउन प्रयास गरेका थिए।
सोमबार जलवायु परिवर्तन सम्बन्धी राष्ट्रपतिको विशेष दूतका रुपमा आफू चयन भएको घोषणा भएसँगै केरीले ट्वीट गरेर अमेरिकामा चाँडै नै जलवायु संकटलाई राष्ट्रिय सुरक्षा चुनौतिका रुपमा लिने बताएका छन्।
सन् २०१५ को नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा, जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघिय प्रारुप महासन्धि (युएनएफसीसीसी) का १ सय ९७ पक्षराष्ट्रहरुको सम्मेलनमा गरिएको सम्झौता नै पेरिस सम्झौता हो।
जसमा विश्वव्यापी तापक्रम वृद्धिलाई पूर्व औद्योगिरकणको समयको तुलनामा २ डिग्रीभन्दा तल राख्ने र अझ सम्भव भएसम्म १.५ डिग्रीभन्दा तल राख्न प्रयत्न गर्ने सहमति भएको थियाे।
सम्झौतामा हस्ताक्षर गरेका १ सय ९५ राष्ट्रहरुमध्ये हालसम्म १ सय ५१ राष्ट्रहरूले सम्झौतालाई अनुमोदन समेत गरिसकेका छन्। दुई राष्ट्रहरु सिरिया र निकारागुवाले भने हस्ताक्षर नै गरेनन्।
लामो समयदेखिको द्धन्द्धका कारण सिरिया उपस्थित हुन सकेन भने निकारागुवाले जिम्मेवार राष्ट्रहरूले गर्नुपर्ने हरितगृह ग्याँसको उत्सर्जन कटौती स्वेच्छिक मात्र भएको, बाध्यकारी नभएको भन्दै आफूले हस्ताक्षर नगर्ने बतायो।
यद्यपि विकसित मुलुकहरूले, विश्वले अपेक्षा गरेभन्दा धेरै अगाडिनै अनुमोदन गरेपछि, सन् २०२० पछि कार्यान्वयनमा आउने अपेक्षा गरिएको सम्झौता सन् २०१६ को नोभेम्बरदेखि नै लागू भएको हो।
पेरिस सम्झौतामा हस्ताक्षर गर्ने राष्ट्रहरुले सम्झौता कार्यान्वयनका लागि आवश्यक पर्ने लगानीमध्ये सम्भवत अमेरिकाप्रति ठूलो रकम सहयोगको याचना गरिरहेका छन्।
अमेरिकाले पेरिस सम्झौताको पालना र कार्यान्वयनको क्रममा बोक्नुपर्ने थप व्ययभारबाट मुक्त हुने ट्रम्प प्रशासनले निर्णय गरेकाे थियाे।
हरित गृह ग्यास उत्सर्जन नियन्त्रण वा कम गराउनुपर्ने क्रममा अमेरिकाले आफ्ना ठूला कलकारखाना बन्द गर्नुपर्ने थियाे। तापक्रम उत्सर्जन कम गर्ने प्रक्रिया अन्तर्गत विद्यमान ठूला कलकारखानामा अर्बौं डलर रकम थप लगानी गर्नुपर्ने हुन्छ। यसै क्रममा कामदार, कर्मचारीलाई कटौति पनि गर्नुपर्ने हुन्छ र धेरै अमेरिकीहरुको रोजगारी गुम्न जाने देखिन्छ।
अर्कोतर्फ, थप लगानी गर्नुपर्दा उत्पादन लागत बढ्न जाने र विश्व बजारमा आफ्ना उत्पादनको मूल्य वृद्धि भई प्रतिस्पर्धामा टिक्न नसक्ने अवस्था आउन सक्छ। त्यसमाथि देशको औद्योगिक माग र आपूर्तिबीच असन्तुलन उत्पन्न हुने जोखिम पनि सृजना हुने देखेर ट्रम्प प्रशासन यसबाट पछाडि हटेकाे थियाे।
यता वाइडेनले पनि आफू सत्तामा पुगे लगत्तै पेरिस सम्झौतामा अमेरिकालाई सामेल गर्ने बताएका छन्। उनले सम्पूर्ण रुपमा जलवायु परिवर्तनको काममा केन्द्रित हुने गरि काम गर्ने छन्।
अन्य पदमा काे?
वाइडेनले फेडरल रिजर्भीकी पूर्व अध्यक्ष ज्यानेट येलेनलाई वित्त मन्त्रीका रुपमा चयन गर्ने भएका छन्।
यस्तै उनले राष्ट्रिय गुप्तचर निकायको निर्देशकका रुपमा एभ्रिल हाइनेसलाई मनोनयन गर्ने घोषणा गरेका छन्। सिआइएकी पूर्व उप निर्देशक हाइनेस निर्देशकमा मनोनित हुने पहिलो महिला हुन्।
यता होमल्याण्ड सेक्युरिटी मन्त्रीका लागि एलेजान्ड्रो मायोर्कास मनोनित भएका छन्। उनी सो पदका लागि मनोनित हुने पहिलो ल्याटिनो हुन्।
वाइडेनले ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा ज्याक सुलिभानलाई मनोनित गरेका छन्। ओबामाको दोस्रो कार्यकालमा उनले वाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेका थिए।
कूटनीतिज्ञ लिन्डा थोमस–ग्रिनफिल्डलाई वाइडेनले संयुक्त राष्ट्रसंघमा अमेरिकी दूतका रुपमा नियुक्त गर्ने घोषणा गरेका छन्।
यता लामो समयदेखि आफ्ना सहयोगी रहँदै आएका एन्टोनी ब्लिङ्कनलाई विदेश मन्त्रीका रुपमा नियुक्त गर्ने सोमबार घोषणा गरेका छन्।
ब्लिङ्कन ओबामा प्रशासनमा उप विदेश मन्त्री तथा डेपुटी नेशनल सेक्युरिटी एड्भाइजर थिए।
उनले अमेरिकालाई विश्व मञ्चमा पुनः सहकार्यको बाटोमा ल्याउने गरि वाइडेनको महत्वपूर्ण परराष्ट्र नीतिको नेतृत्व गर्ने अपेक्षा गरिएको छ।
वाइडेनले घोषणा गरेका केही पदमा घोषित गरेका नामलाई माथिल्लो सदन सिनेटबाट पारित गरिनु पर्छ।
वाइडेनले भनेका छन्, ‘अमेरिकाको स्थान प्राप्तिका लागि म पहिलो दिनमै टिम तयार होस् भन्ने चाहन्छु। विश्वले सामना गरिएका ठूला समस्यालाई चुनौति दिनका लागि टिम तयार रहनु पर्छ। यस्तै हाम्रो सुरक्षा, समृद्धि र मूल्यहरुलाई स्थापित र थप विकसित गर्नका लागि पनि। यो टिमको मुल मर्म नै त्यहि हो।’
अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई पराजित गर्दै वाइडेन विजयी भएका हुन्।
राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ। तर वाइडेनले ३०६ मत पाउने निश्चित छ। वाइडेन कुल मतमा ६० लाख भन्दा बढिको अग्रता लिएका छन्।
ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ।
चार वर्ष पहिले पपुलर मत (कुल मत) मा हिलारी क्लिन्टन भन्दा झण्डै ३० लाख मतले पछि परेर पनि ट्रम्पले ३०६ इलेक्टोरल कलेज मत पाएका थिए।