कक्षा १२ को परीक्षा आजदेखि, कोरोना पुष्टि भएकालाई पनि सहभागी गराइदै

बिएल संवाददाता

काठमाडाै‌ं

कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि सञ्चालन हुँदै छ।

गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण रोकिएको थियो।
 
सैद्धान्तिकतर्फ कूल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो। परीक्षा आउने १६ गते सकिनेछ।

राष्ट्रिय परिक्षा बोर्डका अनुसार अहिले बिहान ८ बजे सुरु हुने परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै छन्।

परीक्षाका लागि देशभर ४ हजार १ सय ५ वटा परीक्षा केन्द्र तोकिएका छन्।

परीक्षामा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क भएर सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षार्थीलाई आग्रह गरेका छन्।

बोर्डले विद्यार्थी धेरै रहेका परीक्षा केन्द्रलाई स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन निर्देशन दिएको छ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने बताए। डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए/नभएको अनुगमन गर्ने उनले जनाए ।

परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालयलगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ।

स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ।

कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षा दिन सक्ने विद्यार्थीका लागि भने छुट्टै ठाउँको व्यवस्था गरिएको छ।

कार्यविधिमा एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थी राख्नुपर्ने भनिएको छ । दुई/दुई मिटरको दूरीमा मात्रै परीक्षार्थीलाई राख्नुपर्ने बोर्ड अध्यक्ष पौडेलले बताए।

परीक्षा बोर्डका अनुसार ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा दिइनेछ।

 

प्रकाशित मिति: : 2020-11-24 07:26:00

प्रतिकृया दिनुहोस्