लोकेन्द्र भट्ट
लैङ्गिक समानताको नारा लगाइए पनि सबैजसो दलको नेतृत्व तहमा महिला सहभागिताको अवस्था निराशाजनक छ । प्रमुख राजनीतिक दलहरूको संगठनात्मक संरचनामै महिला प्रतिनिधित्व उत्साहप्रद देखिएको छैन ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस यतिबेला १४ औँ महाधिवेशनको तयारीमा जुटेको छ । आसन्न महाधिवेशनमा पार्टीको नेतृत्व तहमा महिला सहभागिताको विषय जबरजस्त उठ्ने देखिएको छ । यद्यपि १४ औँ महाधिवेशनबाट मूल नेतृत्वमा महिला स्थापित हुने सम्भावना भने न्यून छ ।
काँग्रेसको सात दशक लामो इतिहासमा मातृकाप्रसाद कोइराला, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा गरी ६ जना सभापति भए । यिनीहरु सबै देशको प्रधानमन्त्री पनि भए । तर ७० वर्षभन्दा लामो समयसम्म पनि काँग्रेसको नेतृत्वमा महिला पुग्न सकेनन्, पुरुषले मात्र त्यो अवसर प्राप्त गरे ।
काँग्रेसबाट सरकारमा उपप्रधानमन्त्री र पार्टीको पदाधिकारीमा उपसभापतिभन्दा माथि महिलाले अहिलेसम्म अवसर पाएको अवस्था छैन । गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले काँग्रेसबाट सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री हुने सौभाग्य पाएकी थिइन् । माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री भएकी थिइन् ।
यता, पार्टीमा शैलजा आचार्यलाई उपसभापति बन्ने सौभाग्य जुरेको थियो । नेपाल महिला संघकी संस्थापक अध्यक्षसमेत रहेकी नेतृ मङ्गलादेवी सिंह र आचार्यले पार्टीमा निर्णायक तहमा भूमिका निर्वाह गरेका थिए । यी अपवादमुलक उपलब्धि पनि नेतृत्वको कृपाकै आधारमा ती महिला नेतृले प्राप्त गरेका थिए, यद्यपि उनीहरु आफै ती पदका लागि योग्य नभएका भने होइनन् ।