भर्खरै सकिएको तिहारले खल्लो महसुस गराइरहेको छ। सबै कुरा त्यस्तै त हुन्छन्, आउँछन्–हर्ष र उमंगका साथ। जान्छन्– सबैलाई खिन्न बनाएर। सधैंभरी आफूसँगै रहिरहने कुरा के होला र? सँगै मर्ने सँगै जिउने कसम खाएर अग्नीलाई साक्षी राखेर विवाह गरेको श्रीमान त आफूभन्दा धेरै टाढा छन् भने अरु आफ्नो समीपमा रहुन् भन्ने अपेक्षा कसरी गर्न सक्छु र म?
बाबा र ममीको हार्दिक अनुरोधमा मैले क्याप्टेन प्रभातसँग त्यसदिन पहिलो पटक भेटेकीे थिएँ । एक त पाईलट भने पछि सानैदेखि भुतुक्कै हुने म। त्यसमाथि उनको उचाईं र शारिरीक बनोट नै यस्तो थियो कि, म त्यसै त्यसै आकर्षित भएँ उनीप्रति।
उनीसँग बोल्न थालेंपछि झन् उनको बोली मै लठ्ठिन थालेँ। बाबा र ममीको रोजाईंमा परेको क्याप्टेन मेरो रोजाईंमा पर्न समय लागेन। ममी र बाबाले आफूले सकेजति गरेर मेरो कन्यादान गरिदिनुभयो । ‘मारे पाप, पाले पूण्य’ भन्दै मेरो हात प्रभातको हातमा सुम्पिदिनुभयो।
बाबा र ममीको साथमा जस्तो सहज जीवन श्रीमानको साथमा नहुने रहेछ। हुन त प्रभात मेरो एकदमै ख्याल राख्थेँ। तर उनको मायाले मात्रै म खुशी हुन सकिन। किनकी उनीसँग मेरो लागि समय नै हुन्थेन। कहिले कता, कहिले कता। फ्लाईट परिरहन्थ्यो उनको । यद्यपि जति समय मसँग हुन्थे, कुनै कुराको कमी मलाई महसुस हुन दिदैँन थिए। म उनको पेशा सम्झेर आफ्नो मनलाई बुझाएर बस्थें।
प्रभातको परिवारमा उनको फूपूबाहेक अरु कोही थिएनन्। प्रभातले भने अनुसार उनको फूपूले उनकै लागि भनेर विवाह नगरी बस्नु भएको रहेछ। त्यसैले हाम्रो विवाहपछि हाम्रो साहरा भनेकै फूपू हुनु भयो। विवाहको पहिलो बार्षिकोत्सवमा मैले छोरालाई जन्म दिएँ।
छोरा पाएको देखेर सबै खुशीले गदगद भए। ‘यो त काटीकुटी प्रभात जस्तै छ,’ फूपूले बारम्बार भन्नुहुन्थ्यो। छोरा जन्मेपछि एकछिन फुर्सद भएन। प्रभात नहुँदा छोरा हेरेर मन बुझाउँथे। छोरा दुई बर्षको भएपछि मेरो पेटमा फेरि गर्भ रह्यो। यो कुराले सबै खुशी भए। मैले छोरीलाई जन्म दिएँ।
छोरीको न्वारनको दिन जब प्रभात भारतबाट फर्कदै थिए, त्यतिखेर उनको प्लेन दुर्घटनामा प¥यो। उनको दुर्घटनामा मृत्यु भएको खबर आयो।
‘यसैले खाई मेरो भदालाई,’ फूपूको अपत्यारिलो स्वर सुनियो। ‘के भन्नुभएको फूपू?’ मैले आश्चर्य मान्दै सोधें। उहाँले फेरि आक्रोश पोख्दै भन्नुभयो, ‘तिमीले जे सुन्यौ त्यही भनें।’ एक त श्रीमान गुमाएको पिडा त्यसमाथि फूपूसासुको त्यो अपत्यारिलो रूप।
त्यसपछिका दिनहरू मेरो लागि निकै कष्टकर बन्यो। दुई बच्चालाई हुर्काउँदै फूपूसासुको बचन सुन्दै दिन कटिरहेको थियो मेरो। घरमा जो आए पनि फूपू एउटै कुरा भन्नुुहुन्थ्यो, ‘यो जन्मिनासाथ मेरो भाईले संसार छोड्यो।’
म सोच्न बाध्य हुन्थे, ‘शहरमा बसेर पढेलेखेका मान्छेको पनि यस्तो सोच कसरी भयो?’ उनको छुरीजस्तो बोलीले मेरो मुटु छियाँछियाँ हुन्थ्यो। तर कसले देख्थ्यो र मेरो छियाँछियाँ भएको मुटु?
ममीबाबालाई त म केही भन्न सक्दिन थिएँ। मेरो कारणले उहाँहरूलाई केही चोट नपुगोस् भन्ने लाग्थ्यो। त्यसैले म मौन नै रहें। अनि एक रात फूपू सुतेको मौका पारेर दश महिनाकी छोरी र दुई बर्षको छोरालाई लिएर त्यस घरबाट निस्कें। निस्किन त निस्कें तर जाने ठाउँ कतै थिएन। त्यसरात बाटोको छेउँ मै दायाँतिर छोरी अनि बायाँतिर छोरालाई च्यापेर भोको पेट निदाए। भोलिपल्ट झिसमिसे उज्यालोमा कसैले घच्घचाएपछि झल्याँस्स बिउँझिएँ। पुलिस थियो, जो मलाई त्यहाँबाट हट्न आदेश दिइरहेको थियो।
नजिकै होटेल देखें अनि त्यतै गएर दुध मगाएर छोरा र छोरीलाई पिउन दिएँ। होटलको मालिकले दयालु भावले मलाई सोधे, ‘हेर्दा त राम्रै परिवारको जस्तो देखिनुहुन्छ। फेरि यो के गति बनाउनुभएको?’
खै उनको कुरा सुनेर मलाई के भयो, मैले उनमा आफ्नै दाईको छायाँ देखें। अनि सबै कुरा खुलस्त भनें। मेरो कुरा सुनिसकेर उनले भने, ‘केही पिर नगर तिमी मेरी बहिनीको उमेरकी रहिछौ। म तिमीलाई एउटा कोठा दिन्छु। अनि यही होटलमा काउन्टरमा बस्ने काम पनि दिन्छु। काम गर्छौ नि?’
उनको कुरा सुनेर मलाई ढुंगा खोज्दा देउता मिले झैं लाग्यो। उनले भने जस्तै म त्यही काम गर्न थालें। मेरो कामदेखि उनी प्रशन्न भए। उनले मलाई राम्रो तलब पनि दिन्थे।
छोरा छोरी हुर्किदै गए। उनीहरू राम्रो पढ्थे। मेरो दुःख देखेरै होला मसँग कहिल्यै केही कुराको माग गर्दैन थिए। म उनीहरूसँग खुशी र सन्तुष्ट थिएँ। ठूलो छोराले पढाई सकेर कमाउन सुरु ग¥यो अनि छोरी पढ्नको लागि अमेरिका गई। उसले उतैको केटा मन पराएपछि त्यतै विवाह गरेर बसी।
जब मेरो आर्थिक अवस्था राम्रो हुँदै गयो। मैले नचिनेको आफन्तहरु पनि साथ दिन आइपुगे। नत्र त यतिका बर्षसम्म मलाई साथ दिने भनेको मेरो ममी र बाबाबाहेक कोही हुनुहुन्नथ्यो।
मेरो बारेमा सबै थाहा पाएपछि उहाँहरूले मलाई आफूसँगै राख्नुभयो। उहाँहरूको साथ र आफूसँग बचेको पैसाले मैले ठूलो होटेल खोलें। होटलको लागि मलाई मान्छे चाहिएपछि मैले पत्रिकामा प्रचार गरें। त्यसपछि थुप्रै मान्छे जागिरको लागि अन्तरवार्ता दिन आए। ती मध्य मैले लगभग २० बर्षको कालो कालो वर्णको हिस्सी परेको केटालाई जागिर दिएँ।
विनय नाम गरेको त्यो केटा मेरो होटेलको स्टाफ मात्रै नभई समयसँगै मेरो जीवनको हिस्सा बन्न पुग्यो। विनय मलाई निकै माया गथ्र्याे। मेरो खुट्टा दुख्दा खेरी खुट्टा मिचिदिने देखि लिएर मेरो सानो सानो घरको काममा पनि सहयोग गथ्र्याे। त्यसरी त्यो बेलादेखि सुरु भएको हाम्रो सम्बन्ध अझै पनि कायमै छ।
विनयले मेरैलागि भनेर विवाह नगरी बसेको छ। उ मलाई निकै माया गर्छ। मलाई कसैसँग फोनमा कुरा पनि गर्न दिदैंन। उ सधैं भनिरहन्छ, ‘तिमी अरुसँग कुरा गरेको मलाई मनपर्दैन के।’ उमेरले मेरो छोरा समान भएर पनि मलाई ‘तिमी’ नै भनेर सम्बोधन गर्छ। उसँग धेरैपटक म फिल्म हेर्न गएको छु। तर जतिपटक घुम्न गए पनि पैसा मैले नै तिरें। उसको लागि पैसा खर्च गर्न मलाई कुनै गाह्रो लाग्दैन।
एकदिन होटलमा काम सकेपछि उसले मलाई भन्यो, ‘मलाई एकलाख जति पैसा चाहिएको थियो।’ मैले केही नबोली एकलाख रुपैंयाको चेक उसको नाममा काटेर दिएँ। ऊ खुशी भयो। उसलाई देखेर म झन् खुशी भएँ। त्यसपछि उसले ओहोरदोहोर गर्न समस्या भएको बताएपछि मैले उसलाई गाडी पनि किनिदिएँ। उसले आफ्नो अनेक दुःख देखाएर मसँग पैसा लिइरह्यो ।
जब मैले औंला दिन थालें, उसले डुडुल्को निल्न खोज्यो। उसलाई पैसा दिँदादिँदा म ऋणमा डुब्न थालें । होटेल उसको जिम्मामा थियो। तर उसले होटल राम्रोसँग सम्हाल्न सकेन।
‘सीमा हामी यो होटल बेचिदिउँ,’ उसले एकदिन बडो सानका साथ भन्यो। उसको कुरा सुनेर मेरो कानले विश्वास गर्न सकेन। मैले चर्को स्वरमा भनें, ‘यो के भन्दै छौ तिमी? मैले कति दुःख गरेर यो होटेल खोलेको छु, थाहा छ नि तिमीलाई?’
जति चर्को आवाजमा बोले पनि म उसको कुरालाई नकार्न सक्दिन थिएँ। मेरो कमजोरी नै त्यही थियो। उसले भनेपछि मैले होटेल बेचें। विनयले मसँग फेरि पैसा माग्यो। मैले उसँग भविष्यको कल्पना गरेरै उसलाई फेरि पैसा दिएँ।
जब रित्तिन थालें विनय अनेक वाहना बनाएर मबाट टाढिन थाल्यो। त्यसपछि उसले मेरो फोन समेत ब्लक गर्याे। सायद गल्ती मेरै थियो, आफ्नो छोराको उमेरको केटासँग मैले जीवन बिताउने सपना कसरी देखें? सबैकुरा सम्झेर मलाई आफैंदेखि घृणा लाग्यो। छोरा सम्झें, छोरी सम्झें, बाबा अनि ममी सम्झें।
रात निकै छिप्पीसकेको थियो। चुपचाप बिरालोको चालमा गएर ड्रयरबाट मुसा मार्ने औषधी झिकें। अचानक कसैले ढोका ढक्ढकायो। मेरो हातबाट औषधिको बोतल खस्यो। मैले हतार हतार त्यो बोतल लुकाएँ। छोरा आएको रहेछ। उसले अनौंठो भावमा मलाई सोध्यो, ‘ममी यो विनय भनेको को हो?’
छोराको प्रश्नले मेरो अनुहारभरी पसिना आयो। मैले उसलाई केही भन्न सकिन। मेरो मौनतामा उसले के बुझ्यो, थाहा छैन। तर उ केही नबोली मेरो कोठाबाट निस्कियो। मैले आफैंले आफैंलाई धिक्कारें।
भोलिपल्ट मेरो फोनमा अपरिचित नम्बरबाट फोन आयो। मैले फोन उठाउनासाथ उताबाट आवाज आयो, ‘आफ्नो छोराको माया लाग्छ भने केही रकमको व्यवस्था गर्नु हैन भने तिम्रो छोरालाई म जीवित छोड्ने छैन।’ विनयको त्यो आवाजले मलाई असह्य पिडा भयो। जुन मान्छेले मसँग बारम्बार पैसा मागेर मलाई रित्तो बनाएर गयो, उ अझै मसँग पैसाको अपेक्षा गर्दैछ। त्यो पनि मेरो छोरालाई प्रयोग गरेर। एउटी आमाले सबै सहन सक्छे तर आफ्नो सन्तानलाई कसैले हानि पुर्याएको सहन सक्दिन।
मैले उस्तै आक्रोशको साथमा भनें, ‘ठिक छ जे मन लाग्छ गर, सकेजति गर। यो द्धन्दमा जीत कसको हुन्छ म पनि हेर्छु।’ उताबाट राक्षसी हाँसो छुट्यो। मैले फोन राखेर तुरुन्तै वकिललाई फोन गरेर भेट्न गएँ। मानहानीको मुद्दा हालिदिएँ। कस्तो दिन आयो, जसलाई मैले आफूभन्दा बढी माया र विश्वास गरेकी थिएँ, उसैलाई मुद्दा हाल्नुपर्याे। मैले मुद्दा हालेको थाहा पाएपछि विनय मसँग धेरै रोयो। धेरै बिन्ती गर्याे तर मैले सुनिन।
त्यसपछि विनय जेलभित्र थुनियो। जीवनमा नचाहँदा नचाहँदै मान्छे धेरै कुरा गर्न बाध्य हुन्छ । विनयलाई जेल पुर्याउने मेरो धोको थिएन। तर त्योबाहेक मसँग अरु कुनै विकल्प पनि थिएन। म उसलाई जेलमा भेट्न गएँ र भने, ‘तिमीले मेरो सबथोक खोस्यौ। तिम्रै कारणले म आज ऋणमा चुर्लुम्म डुबेकी छु। यति हुँदाहँुदै पनि म चुपचाप सहेर बसें। किनकी म तिमीलाई माया गर्थें। तर आज जब कुरा मेरो छोराको ज्यान लिनेसम्म पुग्यो मैले सहन सकिन। मसँग जे गर्यौ त्यो अरु कसैसँग नगर्नु। नारी देवी मात्र हैन, उस्तै पर्याे भने कालीको रुप पनि धारण गर्न सक्छे।’
विनयले केही बोल्न सकेन। म यति भनेर उसको अनुहार पनि नहेरी फर्के। घर पुगेर छोरालाई अंगालेर धेरैबेर रोएँ। म रुनुको कारण उसले बुझेन। तर उसलाई सुरक्षित राख्न सकेकोमा म निकै हर्षित थिएँ।
विधिको लेखान्तः प्रेमदेखि सुरु भएको सम्बन्ध अन्त्यमा जेलमा पुगेर टुंगियो।