जनताका लागि महामारी बनेको कोभिड केही जनप्रतिनिधिका लागि भने कसरी मौका बनिरहेको छ, एउटा अर्को उदाहरण सप्तरीको बोदेबरसाइन नगरपालिकाले प्रस्तुत गरेको छ । यो नगरपालिकाले ३० रुपैयाँ पर्ने लाइफबोय साबुनलाई तीन हजार तिरेको विवरण तयार पारेको छ । त्यस्तै, क्वारेन्टिन व्यवस्थापनका नाममा किनिएका दर्जनौँ सामग्रीमा ढुकुटीबाट लुट मच्चाइएको छ ।
कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरूले गरेको खर्च सार्वजनिक गर्न केन्द्रबाट ताकेता भएपछि बोदेबरसाइन नगरपालिकाले बुधबार खर्च सार्वजनिक गरेको थियो । नगरपालिकाले कुल दुई करोड २१ लाख रुपैयाँको विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको तीन हजार आठ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो ।
२२ चैतमा ९५ पिस साबुनमा नगरपालिकाले तीन लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको थियो । यो विषयमा प्रश्न उठेपछि बोदेबरसाइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंह यादवले प्रस्टीकरण दिँदै भनेका छन्, ‘९५ थान होइन, ९५ कार्टुन साबुनको विवरण हो, यो प्रिन्ट मिस्टेक भएछ ।’