केही कुराको प्रयोग सामूहिक स्तरमा गरिन्छ, जस्तो कि खेल मैदान। यस्तै, केहीको प्रयोग व्यक्तिगत स्तरमा गरिन्छ, जस्तो लुगा।
पहिले सबैले सूर्य हेरेर समयको ज्ञान लिन्थे। पछि घण्टाघरमा घडी राखेर सामुदायिक स्तरमा गर्न थाले, अझ हाते घडी बनेपछि व्यक्तिगत स्तरमा।
हरेक कुरालाई व्यक्तिगत गर्न सके व्यापारको दायरा ह्वात्त बढ्ने कुरालाई नकार्न सकिन्न, जस्तो कि सामुदायिक घडीलाई व्यक्तिगत घडी बनाउँदा, मेनफ्रेम कम्प्युटरलाई पीसी बनाउँदा वा ल्यान्डलाइन फोनलाई सेलफोन बनाउँदा फोनको बिक्री बढे जस्तै।
पहिले दिसा सामूहिक रूपमा गरिन्थ्यो। समाजको विकाससँगै पारिवारिक स्तरमा चर्पी बन्न थाले। चर्पी सबैका लागि आवश्यक वस्तु हो तर पनि यो व्यापारको वस्तु बन्न सकेको छैन।
सभ्यताको प्रारम्भदेखि नै चर्पीको प्रविधि जहाँको त्यही छ। चर्पीको रूप (स्क्वाटिङ्ग वा बसेरः सेरामिक वा प्लास्टिक) परिवर्तन भयो तर सार भनेको दिसा खाल्टोमा खसाउने र त्यसलाई डाइजेष्ट गराउने नै हो।
यसको विकास नहुनुको कारण यो व्यापारको वस्तु कहिल्यै भएन र व्यापारको वस्तु नहुनुको कारण यसलाई व्यक्तिगत प्रयोगको वस्तु कसैले बनाएनन्।
उपभोक्ताले हरेक ‘प्रसन्लाइज्ड’ बस्तु स्लिम र फास्ट चाहन्छ, जस्तो कि स्लिम र छुनासाथ स्वात्त चल्ने फास्ट मोबाइल।
व्यक्तिगतस्तरमा बिक्रि हुनका लागि पूर्वसर्त भनेको नै स्लिम र फास्ट हुनुपर्छ। यो विभिन्न मोडेलमा पाइनुपर्छ, जसरी मोबाइल फोन विभिन्न मोडेलमा पाइन्छ र उपभोक्तालाई च्वाइस बढि हुन्छ। चर्पी जब स्लिम र फास्ट बन्छ तब मात्र यो व्यापारको वस्तु बन्छ।
केही व्यापारिक संस्थाले चर्पीमा अनुसन्धान गर्दैछन्। अनुसन्धानको उद्धेश्य चर्पीलाई सानो (स्लिम) बनाउने र डाइजेष्टिङ्ग टाइम घटाउने (फास्ट) हो। हेर्दा स्लिम, पोर्टेवल र दिसा गरेको १–२ घण्टामा नै डाइजेष्ट हुने फास्ट चर्पीहरू बन्दैछन्।
जब चर्पी पोर्टेवल बन्छ, अनि ‘पर्सनलाइज्ड’ हुन्छ, अनि व्यक्तिले विभिन्न मोडलको चाहना गर्न थाल्छ र बजार ह्वात्तै बढ्छ। कति स्लिम छ र कति फास्ट छ भन्नेमा विभिन्न मोडल विकसित हुनेछन्। अनि उपभोक्ताको बीचमा यो किन्नको लागि प्रतिस्पर्धा हुनेछ।
राम्रो मोडलको चर्पी किन्नु सान हुनेछ भन्ने एक किसिमको वातावरण नै तयार बन्ने छ। मोबाइल फोनमा योदेखि सकियो।
चर्पीको दुई किसिमका मोडेल बन्ने छन्, एउटा महङ्गो मोडेल र अर्को सस्तो मोडेल। तर सस्तो मोडेल किन्नु भनेको आफू गरिब देखिनु हो भन्ने उपभोक्तालाई लाग्ने छ। साथै बढि समयमा डाइजेष्ट हुने चर्पी स्वास्थ्यको लागि राम्रो होइन भन्ने ठानिने छ, यसले उपभोक्ता फास्ट र स्लीम चर्पी किन्नतिर लाग्ने छन्।
‘मेरो घरमा चर्पी छ, यसमा मलाई गर्व छ’ को सट्टा ‘मसँग चर्पी छ, यसमा मलाई गर्व छ’ हुनेछ।
चर्पीलाई व्यक्तिगतस्तरमा लगेर यसलाई बजारको वस्तु बनाउने वातावरणको सुरुवात गरिसकिएको छ। ‘ग्लोबल इन्डिकेटर’ मा नै सेयर ट्वाइलेटलाई ट्वाइलेट होइन भनेर यसले व्यक्तिगतस्तरको चर्पीको लागि बजार निर्माण गर्दैछ।
अनि चर्पी एउटा ठूलो व्यापारको वस्तु बनेर निस्कने छ।