फिक्कलमा उद्धव उद्यान निर्माण

फाइल तस्बिर

 फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको छ। गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो। 

साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काका सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन्। उपचारका क्रममा कार्यकालमा नै उनको निधन भएको थियो।

गाउँपालिकाको रु १९ लाख ५० हजार र सङ्घीय सांसद कोषको रु १४ लाख गरी कूल ३३ लाख ५० हजारमा उद्यान निर्माण गरिएको हो। उद्यानमा पोखरी, छतसहितको प्रतीक्षालय, मञ्च, चिनियाँ दुबोको बगैँचा तथा चौतारा छन्।

गाउँपालिकामा आउने पर्यटकका लागि अवलोकनस्थल पनि निर्माण भएको छ। यसबाट राजनीतिमा लागेका व्यक्तिलाई असल काममा लाग्न प्रेरणा मिल्ने उनले बताए। 

विसं २०२८ वैशाख २८ गते जन्मनुभएका खड्काको २०५८ साल वैशाख ११ गते उपचारका क्रममा भारतको यम्स अस्पतालमा निधन भएको थियो। 

 तत्कालीन गाविस अध्यक्ष  खड्कालाई विकासप्रेमी र दूरदर्शी नेताका रुपमा स्थानीयवासीले चिन्ने गरेका छन्। विसं २०५४ मा निर्वाचित भएपछि खड्काले यस क्षेत्रमा मोटर बाटो र बिजुली बत्ती ल्याउने गरेको सङ्कल्प आज पूरा भएको स्थानीयवासीको भनाइ छ। रासस 


 

प्रकाशित मिति: : 2020-11-18 12:46:00

प्रतिकृया दिनुहोस्