बाँके र गोरखामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका १५ का ७५ वर्षीय पुरुष र पालुङटार नगरपालिका ७ च्याङलीका ८३ वर्षीय पुरुषकाे मृत्यु भएकाे हाे।
भेरी अस्पतालमा उपचार गराइरहेका घोराहीका पुरुषको मंगलबार बिहान मृत्यु भएको हो।
कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएको उनको मंगलबार बिहान १० बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए। उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो।
यता पालुङटारका ८३ वर्षीय पुरुषको उपचारको क्रममा मंगलवार विहान ७ बजेर २५ मिनेटमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए।
दुई हप्ता अघि कोरोना संक्रमण पुष्टि भएका उनी यही कात्तिक २७ गते अस्पताल भर्ना भएका थिए। उनको आइसियूमा उपचार भइरहेको थियो। उनी फोक्सोको क्यान्सरका बिरामीसमेत रहेको अस्पतालले जनाएको छ।
योसँगै गोरखा जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ।