मानव फाउण्डेसन जुम्लाले कारागारका कैदीलाई फलफूल वितरण गरेको छ । तिहारकाे अवसर पारी कारागारमै पुगेर शुभकामना आदानप्रदान समेत गरिएको हाे।
फाउण्डेसनकी अध्यक्षसमेत रहेकी चन्दननाथ नगरपालिकाकी नगर प्रमुख कान्तिका सेजुवालले कारागारमा रहेका १ सय १९ जना कैदीलाई फलफूल वितरण गरिएको बताइन्।
‘विभिन्न अभियाेगमा कारागारमा रहेका व्यक्तिहरुकाे तिहारमा न्यास्रो नहोस् भनेर शुभकामना आदान प्रदान गरिएको हो,’ उनले भनिन्।
फाउण्डेसन नेपाली कांग्रेसका तत्कालीन जुम्ला जिल्ला सभापति मानव सेजुवालको स्मृति र सम्मानमा स्थापना भएको सामाजिक संस्था हो।
उनकाे ७ वर्षअघि हवाइ दुर्घटनामा परि निधन भएको थियो।
फाउण्डेसनमार्फत् सामाजिक विकासको लागि विभिन्न सेवामूलक काम गर्ने उद्देश्य राखिएको अध्यक्ष सेजुवालले बताइन्।