बिहारमा सातौं पल्ट नितिश कुमार, नेपालको सीमा जोडिएको क्षेत्रबाट दुई उप–मुख्यमन्त्री

नेपालसँग सीमा जोडिएको र निकै महत्वपूर्ण मानिने बिहार राज्यमा सातौं पल्ट नितिश कुमार मुख्यमन्त्री नियुक्त भएका छन्। उनले सोमबार साँझ राजधानी पटनामा मुख्यमन्त्री पदको सपथ ग्रहण गरे। 

भारतीय राजनीतिमा सातौं पल्ट मुख्यमन्त्री बन्ने नितिश पहिलो नेता हुन्। उनी यसअघि भारतीय जनता पार्टीको सरकारमा केन्द्रिय रेल मन्त्री पनि नियुक्त भएका थिए। 

सन् २००० मा मुख्यमन्त्रीको रूपमा बिहारी राजनीतिमा उदाएका नितिशलाई विकाश प्रेमि नेताको रूपमा चिनिने गरिन्छ। 

उनी मुख्यमन्त्री नियुक्त भएपछि बिहारको सडकमा स्तरोन्नती भएको थियो। जनता दल युनाइटेड (जदयु) का अध्यक्ष रहेका नितिश कुमारको दल यसपालि तेस्रो स्थानमा भएपनि उनको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) ले बहुमत प्राप्त गरेको थियो। 

भारतीय जनता पार्टी (बिजेपी) को विधायक दलको बैठकमा नितिशलाई नै मुख्यमन्त्रीमा दोहर्‍याउने सहमति बनेपछि उनी सातौं पल्ट बिहारको राजनीतिमा स्थापित भएका हुन्। 

उनीसँग उप–मुख्यमन्त्रीको पद सम्हालिरहेका सुशिल मोदीलाई केन्द्रमा लैजाने नीतिअनुरुप यसपालि बिहारमा उनको राजनीति ब्रेक लागेको छ। 

उनको स्थानमा बिजेपीका तारकिशोर प्रसाद र रेणु देवीलाई उप–मुख्यमन्त्रीको पद सुम्पिएको छ। 

सोमबार १४ नेताले मन्त्री पदको सपथ ग्रहण गरेका छन्। यसमा जदयुबाट ५ बिजेपीबाट ७ र हम तथा वीआईपी पार्टीबाट १–१ जना मन्त्री बनेका छन्। 

नितिशपछि दोस्रो नम्बरमा तारकिशोर प्रसाद रहने छन्। तारकिशोर बिराटनगर–जोगबनी नाकासँग जोडिएको कटिहार क्षेत्रबाट चुनाव जितेर चौथो पल्ट सांसद बनेका थिए। 

यस्तै, तेस्रो नम्बरमा रहेकी रेणु देवी पनि वीरगञ्ज सीमा नजिकै रहेको बेतिया क्षेत्रबाट पाँचौ पल्ट सांसद चुनेर उप–मुख्यमन्त्री बनेकी हुन्।

प्रकाशित मिति: : 2020-11-16 19:40:00

प्रतिकृया दिनुहोस्