लामो समयको परिश्रम र प्रयासपछि सुवास इन्जिनियर सुवास बन्न सफल भएको छ। अमेरिकाको नाम चलेको विश्वविद्यालयमा इन्जिनियरिङको पढाई सकेपछि आफूले आफूलाई ऐनामा हेदै मख्ख पर्छ सुवास। बुवाआमाको पहिल्यैदेखिको सपना साकार गर्न सकेकोमा मनमनै गद्गद् भएको छ ऊ। 

अमेरिकामा इन्जिनियर पढे पनि आफ्नै देशको राम्रो कम्पनीमा काम गर्ने उसको ठूलो धोको छ। सुवास विगतलाई फर्केर हेर्छ, उसलाई त्यसै त्यसै कहाली लागेर आउँछ।  

सुवासको बुवा काठमाडौं कै कार्यालयमा समान्य सरकारी जागिरे हुनुहुन्थ्यो अनि आमा गृहणी। घरको आर्थिक अवस्था खासै राम्रो थिएन। तर आफू गरिबीको दलदलमा फसेर पनि बुवाआमाले उसको हरेक ईच्छा र आकांक्षा पूरा गरिदिनुभएको थियो। घरको एकमात्र सन्तान सुवास बुवाआमाको आशाको दीप थियो। त्यसो त सुवासले पनि उहाँहरूलाई कहिल्यै केही गुनासो गर्ने मौका दिएन। 

हरेक कुरामा अब्बल थियो सुवास। सायद त्यही लगन देखेरै होला बुवा भनिरहनुहुन्थ्यो, ‘बाबु तैंले हाम्रोलागि केही गर्नुपर्दैन बस् समाजको एउटा प्रतिष्ठित व्यक्ति बनेर हाम्रो जीवनलाई सार्थक बनाईदे।’ प्रवेशिकामा राम्रो अंक ल्याएर उर्तीण भएपछि के पढूँ के पढूँ भन्ने दोधार हुँदाहुँदै इन्जिनियर बन्नको लागि फिजिक्स नै रोज्यो उसले। कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याएपछि सुवासले अमेरिकाको एक नाम चलेको विश्वविद्यालयमा स्कोलरशीप पायो।  

स्कलरशीपमा नाम निस्केपछि भारी मन लिएर सुवासलाई अमेरिकाको लागि विदाई गर्न विमानस्थलसम्म आउनुभएको थियो, सुवासको बुवा र आमा। आमाको मन न हो सुवासलाई विदाई गर्ने बेला गहँभरि आँशुपार्दै उहाँले भन्नुभयो,‘बाबु आफ्नो राम्रो ख्याल राखेस् है।’  

आमाको आँशु देखेर भारी मन लिएर हवाइजहाज भएतिर मोडियो सुवास। त्यहीबाट सुरु भयो, उसको जिन्दगीको नयाँ अध्याय, संर्घषको नयाँ कथा। विरानो शहरमा विराना मानिसको बीच सुवास आफ्नो भविष्य खोजिरहेको थियो। कहिले भोकोपेट त कहिले रित्तो गोजी। यिनै समस्यासँग सुध्दै र संघर्ष गर्दै इन्जिनियरिङ पढिरहेको थियो ऊ। 

त्यही भेटिई आशिका। गोलो मुहार, ठूलो आँखा, मिलेको ज्यान अनि हेर्दा पनि निकै आर्कषक देखिन्थी ऊ। सुवास र आशिका एउटै विश्वविद्यालयमा पढ्थे। अमेरिका पुगेको महिना दिन बितिसक्दा पनि उनीहरू बीच खासै कुरा नभएपछि त्यसदिन आशिकाले नै परिचय सुरु गरी। ‘हाई आई एम आशिका पोखरेल,’ हात अगाडि बढाउँदै उसले भनी।

‘आई एम सुवास ढकाल,’ विरानो शहरमा आशिकालाई भेटेपछि राहतको सास फेर्दै सुवासले जवाफ दियो। आशिका जति राम्री देखिन्थी, त्यति नै मिलनसार पनि थिई। त्यही दिनदेखि उनीहरू दुई जनाको मित्रता झाँगिंदै गयो। 

अमेरिका आएदेखि सुवासले घरमा राम्ररी कुरा गर्न पाएको थिएन। सुवासको बुवासँग सानो नोकियाको श्यामश्वेत मोबाइल थियो। आमासँग माेबाइलनै थिएन। बुवासँग भएको सानो मोबाइलमा न फेसबुक प्रयोग गर्न मिल्थ्यो, न त भाइबर नै। सधैं कार्ड किनेर फोन गर्नुपथ्यो, उहाँहरूले छोरालाई। 

त्यो पनि सुवासको कारुणिक स्वर सुन्दासुन्दै कतिखेर कार्डको पैसा सकिन्थ्यो, उहाँहरूले पत्तै पाउनु हुन्नथ्यो। यो सब देखेर सुवासको मन कटक्क खान्थ्यो। हुन त सुवासले आफ्नै लागि पनि धेरैपछि मोबाइल किनेको थियो। पढाई सकाएर घर फर्कदा बुवा र आमा दुबैका लागि एउटा फोन किनेर लगिदिने मन थियो, उसको। 

उसले माेबाइल उठाएर आशिकालाई फोन गर्‍यो। आशिकाले एकै घण्टीमा फोन उठाई। आशिकासँग परिचय भएको पनि ५ बर्ष पुगिसकेको थियो। दुबै जना इन्जिनियर भइसकेका थिए। अनि दुबैले एकअर्कालाई मनपराउन थालेका थिए। तर पनि आफ्नो अभिभावकको अनुमतिमा मात्र विवाह गर्ने दुबैको निर्णय थियो। 

आजभोलि एकअर्कालाई कतै जानुपर्‍यो सँगै जान्छन्। आशिकाले फोन उठाएपछि सुवासले भन्यो–‘आशिका, बुवाआमाको लागि नयाँ मोडलको माेबाइल किनिदिनु छ सँगै जाउँ है।’ 

आशिकाले तुरुन्तै जवाफ दिइहाली, ‘हुन्छ म रेडी भएर निस्किन्छु है।’ सुवासले आफ्नो कमाईले पहिलोपटक बुवाआमाको लागि केही लगिदिन लागेको थियो। ऊ अत्यन्तै खुशी देखिन्थ्यो। खाईनखाई गरेर उसले पैसा जम्मा गरेर राखेको थियो, यही माेबाइलकिन्न। 

उसले बुवाआमा दुबैलाई आइफोन नै किनिदिने निर्णय गर्‍यो। एउटा मलमा पुगेर दुईवटा आइफोन ६ किन्यो। मन त उसलाई आइफोन एक्स नै किन्न मन थियो। तर के गर्नु मन मात्रै भएर पनि केही नहुने रहेछ। 

आफ्नो र आफ्नो अभिभावकको ईच्छापूर्ति गर्न पैसा पनि त चाहिँदो रहेछ। काम र पढाई सँगसँगै लगेर पनि उसले रामै्र पैसा कमायो। तर कमाएको पैसाले उसले आइफोन मात्रै किन्नु थिएन। बुवाआमाको जिम्मेवार छोरा बनेर घरको छानो पनि टाल्नु थियो। अनि परिवारमा खुशीको दीप पनि बाल्नु थियो।  

भोलिपल्ट उनीहरूको सधैंको लागि नेपाल जाने योजना थियो। त्यसैले अमेरिकाको अन्तिम रातमा आशिका र सुवास दुबैले बाहिरै डिनर गर्ने निर्णय गरे। दुबैले सँगै बसेर खाना खाए। सपिङ गरेर फर्केपछि दुबै आ–आफ्नो अपार्टमेन्ट फर्कदै थिए। 

आशिकाले सुवासलाई निकै खुशी देखिरहेकी थिई। सुवासका अगाडि तीनवटा खुशी एकैपटक आएको थियो। एउटा बुवाआमाको सपना पूरा गरेको खुशी अर्को घर फर्केर बुवाआमासँग भेट्ने खुशी अनि अर्को बुवाआमाको लागि आफूले केही गर्न सकेको खुशी। अर्थात् माेबाइलकिनिदिएको खुशी।  

आशिका र सुवासको फरक फरक अपार्टमेन्ट भएको कारणले गर्दा सपिङ गएर फर्केपछि दुबै आ–आफनो अपार्टमेन्टतिर लागे। सुवासले अपार्टमेन्ट पुगेर ढोका खोल्यो। 

कोठाभित्र लुगैलुगा छरपस्ट छरिएर हेरिसक्नु छैन। सुवासले छिटोछिटो गरेर कोठा सफा गर्‍यो र सुटकेशमा कपडा मिलाउन थाल्यो। सबैभन्दा पिर त उसलाई बुवा र आमाको लागि किनेको दुईवटा आइफोन कता राखुँ भन्ने भइरहेको थियो। लुगाको बीचमा बडो जतनले आइफोन राख्यो। सबै लुगा प्याकिङ गरिसकेर सुत्न गयो। 

आशिका र सुवासको नेपाल जाने बिहानको फ्लाइट थियो। घर पुगेर बुवाआमालाई त्यो आइफोन दिँदा उहाँहरू कति खुशी हुनुहुन्छ होला भन्ने सोच्दा सोच्दै सुवास निन्द्रादेविको काखमा पुग्यो।  

७ बजे बिहान अमेरिकाको विमानस्थल पुगिसक्नुपर्ने थियो। त्यसैले ५ बजे नै आशिकाले फोन गरेर सुवासलाई उठाई। बिहान उठ्नासाथ सुवासलाई अघिल्लो दिन किनेको आइफोनको याद आयो। हत्तपत्त उठेर सुट्केशमा प्याक गरेर राखेको आइफोनलाई एक नजर लगायो अनि आइफोन पाएपछिको बुवा र आमाको त्यो खुशीको कल्पना गर्यो। छिटोछिटो तयार भएर आशिकालाई लिन गयो अनि दुबै जना सँगै विमानस्थल पुगे।  

बितेका ५ बर्षमा सुवास एकपटक पनि नेपाल फर्किएको थिएन। त्यसैले उ सोच्दै थियो– ‘काठमाडौंको आफ्नो घर अगाडिको बाटो पिच भयो कि भएन होला? बाटोभरी थुपारिने फोहरको डंगुरको व्यवस्थापन भयो कि भएन होला? के गर्ने जहाँ जति बर्ष बसेपनि देशको चिन्ता त सधैं भइरहने रहेछ। यदी मेरो देशमै राम्रो विश्वविद्यालय भएको भए अर्काको देशमा दु:ख गरेर पढ्नुपर्ने थिएन।’ तर सोचेर मात्रै के गर्नु बर्षेनी युवाहरू कुनै न कुनै बहानामा विदेशिएकै छन्। नेपालको अवस्था सधैं उस्तै।  

लामो समय प्लेनको यात्रा गरेपछि दुबै प्लेनबाट ओर्लिदै नेपाललाई निहाले। नेपालमा खबरै नगरी गएको कारणले विमानस्थलमा उनीहरूलाई लिन कोही आएका थिएनन्। विमानस्थलभित्र हरेक कुरा महंगो। सुवासलाई निकै भोक लागिरहेको थियो। ‘आशिका पहिला यो विमानस्थलबाट बाहिर निस्केर होटलमा गएर केही खाउँ अनि बल्ल बाटो लागौं हुन्न? यहाँभित्र त छोइसक्नु छैन महंगीले।’ 

सुवासको प्रस्ताव आशिकाले सहजै स्विकारी। एकछिनपछि दुबैको गन्तव्य फरक हुनेवाला थियो। त्यसैले एकछिनको समय सँगै बसौं भन्ने दुबैको मनसाय थियो। 

होटलमा गएर खाजा खादैं गर्दा आशिकाले भनी, ‘साच्चै अब बुवाआमा तिम्रो सफलता देखेर कति खुशी हुनुहुन्छ होला हगि?’ सुवासले मुसुक्क हाँसेर जवाफ दियो, ‘छोराछोरीको सफलतामा भित्रैबाट खुशी हुने भनेकै बुवाआमा त हो नि। अरुको खुशी त केबल देखावटी हो।’

केहीबेर मौन रहेपछि खाजा खाएर रित्तिएको प्लेटलाई निहाल्दै सुवासले भन्यो, ‘ल हिँड अब ट्याक्सी लिएर आ–आफ्नो घर जाउँ।’ त्यति भनेर उनीहरु दुबै जना हिँड्दै थिए। अचानक पछाडिबाट आएको गाडीले हानेर सुवासले बोकेको सुटकेशलाई हुत्यायो। धन्न सुवासलाई केही भएन। तर घर पुगेर हेर्दा सुटकेशभित्रको आइफोन चर्किसकेको थियो। चर्केको आइफोनको सिसामा उसले बुवा र आमाको अनुहार नाचिरहें झैं महसुस गर्‍यो। 

प्रकाशित मिति: : 2020-11-15 09:58:00

प्रतिकृया दिनुहोस्