हाे कि हाेइन याे भुन, पढ्न नपाई गयाे जाेवन

काँ र उब्ज्या चन्द र सुर्ज्यारु
सरगर उब्ज्या चन्द र सुर्ज्या।
काँ र उब्ज्या बाह्र भाइ मष्टो?
छाया क्षेत्र उब्ज्या, बाह्र भाइ मष्टो।
काँ र उब्जिन नौ दुर्गा भवानी?
पञ्चकोसी उब्जिन नौ दुर्गा भवानी।

‘ब्यागग्राउण्ड’मा मुग्लेरीले लामो लय हाली गाएको मागलको धुन बजिरहेको छ। 

चन्द्रमा, सुर्य, बाह्र भाइ मष्टो र नौ दुर्गा भवानी, मान्न्या गन्या सबैको नाम जपेपछि गाउँका कुडा सुरु भया।  

हरेक नयाँ कर्ममा गुन्जिने मागलको धुन सामुहिक रुपमा गाउँका कुडा सुन्ने र सुनाउने काम थालेपछि झन् सुरिलो भइ गुञ्जेको छ, मुरलीको धुनझैं।

लाम्रामा गाउँमा कुडा गन्याहरुको मन फुरुङ्ग छ। आम्ना (आफ्ना) कुडा सुन्दिन्या मस्तै मान्ठ पायाकोमा पुराना पुस्ताका मान्ठ झन् मख्ख छन्। नयाँ पुस्ता पुराना कुडा जान्न पाइरहेकाले उत्साहित छ।

******

नाना नाई झडेका (साना भर्खर नाबी काटेका)देखि ठूला दाँत झड्याकासम्म थाडामै (छतमा) खेडिएका (जम्मा भएका) छन्। बुढा मान्ठ सकेजति पुराना कुडा सम्झिँन दिमाग खियाइरहेका छन्। तुन्नेडीहरु बुढा मान्ठले क्या प नजानेको कुडा सुनाइदिन्या हुन भनी कान थापेर सुनिरहेका छन्। मतलब उनीहरु सिक्न चाहिरहेका छन्।

गाउँमा मान्या गन्न्या देउता कसरी आया? क्यालै आया? न हामी फलाना देउताका पाली हुँ भन्नेलाई थाहा छ, न त अलि जानुबुझेका मान्ठलाई पुरै जानकारी छ। 

त्यसैले ‘ओक्तो र देउता’ सेसन चलाएर गाउँमा भयाभरीका देउताका धामी, डाँग्री खेडेर उनीहकै मुखबाट सुन्न पड्याको छ, देउता काँबाट आया भनी।

कुनै जमानामा लाम्रामा एकजनी निसन्तान आमा थिइन्। उनी खेतमा पानी हाल्न जाँदा वरिपरिकाले सन्तान नभएकी अपुत्या भनेर हप्काएपछि उनलाई सन्तानको प्राप्तिको भोग जागेर आउँछ।

लामो समयसम्म सन्तान नभएपछि डाक्टरकोमा जानू पर्छ। तर विज्ञानले आफ्नो चमत्कार देखाउन ढिलो गरेपछि देउताका भर पर्नुपर्थ्यो। 

निर्धनीलाई धन र निसन्तानलाई सन्तानु दिने देउताको खोजी भयो। यसै क्रममा भेटियो, कवा मष्टो। उसैले निसन्तान आमालाई सन्तान दिएपछि गाउँमा पुजा लाग्ने भयो, कवा मष्टोको। विभिन्न पुष्तामा सर्दै सर्दै १७ वर्ष यता नवराज चौलागाईं धामीको रुपमा पतुरिरहेका छन्।

गाउँमा भुत भुयाल धपाउनु परेमा १७ वर्षदेखि निरन्तर खटेका सुकिल्लो दमाई छँदैछन्। त्यसैले गाउँलेले भेइ(डर) मान्न छोड्याको पनि मस्तै भइगयो।

जुग जमानादेखि गाउँल्याहरु देउताका मात्र भर परेका छैनन्। लागो भागोका निम्ति देउता भया पनि, आंङ उब्ज्याको व्याथाको लागि ओक्तो मुलो चाइँदोछ। त्यसैले गाउँ ओक्तो मुलो(औषधी) लाई पनि प्राथमिकतामा राखिरहेको छ। झार जंगलमा पाइने जडीबुटीले आङ उब्ज्याको व्याथा धपाइएका छन्। 

लाम्रा गाउँमा २५ वर्षदेखि ओक्तो मुलो गन्न्या वैद्यको काम गरिरहेका छन्, प्रमानन्द चौलागाईंले। जीउमा भात्या खालो रड्न्या बित्तिकै एम्बुलेन्स बोलाएर अस्पताल कुद्ने नयाँ पुस्तालाई कतिपय सामान्य ब्याथाको गाउँमै छिटो र राम्रो उपचार हुन्छ भन्ने पनि थाहा थिएन। परम्परागत उपचार पद्धतिमा टेकेर आधुनिकताको विकास गर्न सकिन्छ भन्ने पनि थाहा थिएन। 

त्यसैले गाउँमा ओक्तोमुलो गर्न्या मान्ठ मरेसँगै उसको सीप र आविस्कार पनि मरेर गइरहेको छ। अब आश लाग्याको छ, मान्ठ मर्‍या पनि सीप र आविस्कार मर्न्या नाई।

 ‘ओक्तो र देउता’ सेसनले यस्तै जानकारी दियो। सञ्चालक हरिबाबु चौलागाईंले यस्तै कुडा खोतल्या।

******

देशले मानेका चालचलन, रितिरिवाज र गाउँले मानेका रितिथितिमा थोरै भएपनि भिन्नता छ। भाषा उस्तै भएपनि लवज ठाउँपिच्छे फरक छ। त्यसैले गाउँका संस्कार र संस्कृति पनि फरक छन्।

जन्मदेखि मृत्यु, विवाह ब्रतबन्ध आफ्नै खालका छन्। देशले तिहार वर्षमा एक पटक मात्र मनाइन्छ भनेर बुझे पनि जुम्लीहरु हरेक पर्वलाई तिहार भन्छन्। तिहारलाई कतिले तिथबार भन्छन् त कतिले तिउवार वा त्यार। त्यसैले हरेक चाडबाड, जुम्लीका लागि तिहार।

विहे ब्रतबन्धमा गाइने मागल, झोडा, चुट्किला, चरन, छोलीले विवाह गरेर घर छोड्दा गाउने विरह, सबैमा बिम्ब छन्, प्रतीक र अतरञ्जना छन्। देउता पुजाइ। काम सकिदा खेल्ने भुवा भैलो र पाठेभातले गाउँलाई संस्कृतिमा धनी बनाएका छन्।

अदृश्य धनलाई देखाउने काम गर्‍यो,  ‘लाम्रा संवादस् गाउँका कुडाुले। गाउँका कुडामा पनि ‘सस्कार संस्कृति’ सेसनले। 

रडी मान्ठ खडानन्द चौलागाईंले रड गर्दै गर्दै कुडा खोतले। रत्नशरण चौलागाईं, नन्दे सार्की, रामलक्ष्मी चौलागाईं, झुपु चौलागाईं, कृष्णप्रसाद उपाध्यायले धक फुकालेर बोले।

******

विभिन्न संस्कार र संस्कृतिमा बज्ने धुन। तीनको आविस्कार र विस्तारको इतिहास लामो छ। कर्णाली र भेरी नदिको नामाकरण समेत कर्णाल र भेरी बाजाबाट भयो। तीनै बाजा, विवाह र ब्रतवन्धमा बजिरहेका छन्।

तीनको विकास र विस्तारमा लागेको श्रम र सीपबारे माधवप्रसाद चौलागाईंले सीपालुसँग कुराकानी गरे।

जंगली अवस्थाबाट छानो, छाप्रो हुँदै आधुनिक भवन बनाउँदा सम्म लागेका सीप र विकास भएका भवन निर्माणका संहिता सबैमा जसको योगदान छ, उसैको आवाज गाउँका सबैले सुने। समग्रमा गाउँ सीप भएका सिपालु र बुद्धि भएकाहरुले चलाएको कुडा सबैलाई बुझाए।

परम्परागत सीपमा अनुसन्धान गर्न लागेका युवा वैज्ञानिक टक्कबहादुर नेपाली, आकर्षक भाँडा वर्तनदेखि धातुका गर गहना सम्म बनाउने हर्क कामी, बाजाका मनमोहक धुन निकाल्नमा खप्पिस भद्रविरे दमाई, पर्खाल लाउने र जस्ता भने उस्तै झ्याला, ढोका, खोपा बनाउने भक्त सार्की र पुने सार्की देखि आधुनिक घर बनाउने हस्त चौलागाईंले बहस गरे। 

कति सीप श्रम अनुसारको मोल नपाएर हराएका छन् भने कति नयाँ आविस्कार हुँदैछन्। टक्क बहादुरहरु सम्भावना खोज्दैछन्।

******

लाम्रा उहिलेदेखि अहिलेसम्म विभिन्न  सर्जक, साधकहरुको  जन्म गराउने कोख भएकी आमा हुन्।

त्यसैले ‘सर्जक र सृजना’बारेको सेसन चल्यो। यस सेसनमा जिल्लादेखि प्रदेश, देशसम्म नाम कमाएका सर्जक, खडानन्द चौलागाईं, माधव प्रसाद चौलागाईं, लाल प्रसाद चौलागाईं, हरिबाबु चौलागाईं र चन्द्रकला नेपाली सहभागी भए।

जसमध्ये चन्द्रकला एक क्रान्तिकारी सर्जक हुन। उनी हुड्के नाच्छिन। हुड्केको पुरुष युगमाथि धावा बोलेर महिलाको सहभागिता सुनिश्चित गराउने जस उनलाई नै जान्छ। त्यसैले निर्धक्क भन्न सकिन्छ उनी एक क्रान्तिकारी हुन। भलै उनले संसारका क्रान्ति र क्रान्तिकारीहरुलाई पढेकी छैनन्।

उनको संघर्षशील जीवनबारे छुट्टै छलफल गरौंला। ‘लाम्रा संवादः गाउँका कुडा’मा उनले यत्ति भनिन्, ‘जेठी(जुठाजु), ससुराका अगाडि धक फुकाया। जिल्ला बाहिर पुगे। हुड्के नाचे। मो भुन्ना अगाडि कोही नाइता छियानुन्।’

कुडा गर्दा गर्दै हुड्के गाइहालिन,‘हो कि होइन यो भन, पढ्न नपाई गयो जोवन।’
 

प्रकाशित मिति: : 2020-11-15 07:59:00

प्रतिकृया दिनुहोस्