अमेरिकाको चुनाव सकिएको १२औं दिन भैसक्यो । तैपनि, राष्ट्रपति ट्रम्पले हार अस्विकार गरेर जग हसाउने र अमेरिकी प्रजातन्त्र र प्रतिष्ठाको धज्जी उडाउन छोडेका छैनन्।
पछिल्लो प्रक्षेपित परिणामअनुसार बाइडनको पक्षमा ३०६ र ट्रम्पको पक्षमा २३२ कलेज इलेक्ट्रल मत देखाइएको छ। जीतका लागि आवश्यक पर्ने २७० भन्दा धेरै माथि नघाइसके बाइडनले। अझ भनौं २०१६ मा जति इलेक्ट्रल मत लिएर ट्रम्प विजयी भएका थिए, संजोग नै भनौ यसपटक बाइडनले पनि त्यति नै मत ल्याए।२०१६ मा ट्रम्पले जितेका पाँच राज्य जर्जिया, मिचिगन, विस्कन्सन, एरिजोना र पेन्सेल्भेनिया बाइडनको पक्षमा गैसके। तैपनि ट्रम्पको घैटोमा घाम लागेको छैन।
यसैबीच, उनका तर्फबाट दायर गरिएका मुद्दाहरू एकपछि अर्को गरेर उनको विपक्षमा गैरहेका छन् । तैपनि उनले मुद्दा हाल्न छोडेका छैनन्।उनी वकिल फेरि फेरि मुद्दाको खेती गरिरहेका छन्। उनका आलोचक मात्र हैन, मूल्य र मान्यताको राजनीति गर्ने रिपब्लिकन पनि उनको यो क्रियाकलापबाट सन्तुष्ट छैनन्। उनीहरूको भनाइ छ, 'यसबाट अमेरिकाको प्रतिष्ठामा आँच आउने छ। अमेरिकी संस्थाहरूको अस्तित्वमाथि नै प्रश्नचिन्ह लाग्ने छ। अमेरिकी चुनावी प्रक्रिया र पद्धतिकै खिल्ली उडेको छ।'
आफू राष्ट्रपति भएर गराएको चुनावलाई धाँधली भनेर मात्र पुगेन, एउटै विधि र प्रक्रिया अपनाएर गरिएको चुनावमा आफूले जितेको राज्यमा ठीक र हारेको ठाउँमा बेठीक हुने अजब गजबको दृष्टान्त पनि उनले प्रस्तुत गरेका छन्। यो दृष्टिदोषले अन्तत: उनी त डुब्ने छन्, रिपब्लिकन पार्टी र अमेरिकाको प्रतिष्ठा पनि दाउमा लाग्ने छ।
अमेरिकी जनमत त उनको विपक्षमा गएकै छ, विश्व जनमत पनि उनको पक्षामा देखिएको छैन। विश्वका अधिकांश राष्ट्रले बाइडन ह्यारिसको जीतलाई अनुमोदन गर्दै वधाइ तथा शुभकामना पठाइसके। अब उनलाई वधाइ तथा हुभकामना नपठाउनेमा ट्रम्पका दुई मित्र राष्ट्र रूस र उत्तर कोरिया मात्र रहेका छन् जवकी यी दुबै देश अमेरिकामा जानी दुश्मन मानिन्छन्।
जनमत र अदालत दुबैबाट आफ्नो जिद्दीको पक्षपोषण नभएपछि ट्रम्पले आफ्ना समर्थकहरूलाई सडकमा उतारेका छन्। ब्याटलग्राउण्ड राज्यका केही सहरमा उत्रिएका उनका समर्थक शनिबार देशको संघीय राजधानी वासिङ्टन डीसीमै उत्रिए। हातमा स्टप द स्टिल (चोरीलाई रोक) लेखिएका प्लेकार्ड बोकेका उनका समर्थकहरूले चर्को नारावाजी गरेका थिए। ट्रम्प र उनका समर्थकहरू उनले जितेको चुनाव डेमोक्रेटले चोरेको ठान्छन्।
आफू राष्ट्रपति भएर गराएको चुनावलाई धाँधली भनेर मात्र पुगेन, एउटै विधि र प्रक्रिया अपनाएर गरिएको चुनावमा आफूले जितेको राज्यमा ठीक र हारेको ठाउँमा बेठीक हुने अजब गजबको दृष्टान्त पनि उनले प्रस्तुत गरेका छन्। यो दृष्टिदोषले अन्तत: उनी त डुब्ने छन्, रिपब्लिकन पार्टी र अमेरिकाको प्रतिष्ठा पनि दाउमा लाग्ने छ।
राष्ट्रपति ट्रम्पले अमेरिकी भाषामा भनिने प्रेसिडेन्ट इलेक्ट बाइडनलाई सत्ता हस्तान्तरणमा पूरै असहयोग गरेका छन्। उनले पाउँनुपर्ने कुनै पनि किसिमको मान्यता, सहयोग र सद्भाव उनले पाएका छैनन्। तैपनि उनी कत्ति पनि हतास नभइ आफ्नो तयारीलाई अगाडि बढाइरहेका छन्। खासगरी उनले आफ्नो ध्यान अमेरिकामा बढ्दो कोरोना संक्रमणलाई कसरी काबुमा ल्याउनेमा केन्द्रित रहेको छ। यसका लागि उनले एक विशेषज्ञ टोलीको घोषणा गरेर काम अगाडि बढाएका छन्।
अमेरिकी संविधानअनुसार चुनावले डिसेम्बर ६ सम्ममा सबै किसिमको वैधता पाउने र अर्को वर्षको जनवरी २० मा पुरानो राष्ट्रपतिले नयाँ राष्ट्रपतिलाई ह्वाइट हाउस खालि गर्नुपर्ने हुन्छ। यो परम्पराअनुसार ट्रम्पले २०२१ को जनवरीको २० मा ह्वाइट हाउस खालि गरिदिनुपर्ने हुन्छ।
यसैबीच अर्को एउटा कोणबाट उनले जनवरी २० मा ह्वाइट हाउस छोडेनन् भने के हुन्छ ? भन्ने खालको प्रश्न पनि उठेको छ। तर, अमेरिका अहिले नै त्यो कोणबाट सोची हाल्ने अवस्थामा पुगिसकेको छैन। अरूको त कुरै भएन, स्वयं ट्रम्पका कट्टर समर्थकलाई पनि थाहा छ, त्यो दिन ट्रम्पले ह्वाइट हाउस छोड्नेछन्। तर, पनि उनीहरू ट्रम्पलाई खुशी पार्न सडकमा उत्रिएका छन्। यसरी उत्रिनेमा धेरै त पेड भोलिन्टियर नै हुन्छन्।
यसैबीच अमेरिकामा कोरोना कहर फेरि बहुरिएको छ। शुक्रबार एकै दिन एकलाख ८८ हजार अमेरिकीमा कोरोना संक्रमण देखियो। तर, यसैबीच कोरोना खोप पनि तयार भएको शुभ समाचार आएको छ। ९० प्रतिशत सफलता दर रहेको फाइजरको खोप डिसेम्बरदेखि नै बितरण गर्न थालिने बताइएको छ।
तर, यो खोप पनि चुनावपछि मात्र तयार गरिदिएको भनेर राष्ट्रपति ट्रम्प खुशी छैनन्। उनले सिधै यसमा आफूलाई नोक्सान हुने राजनीति भएको आरोप नै लगाएका छन्। यही झोकमा उनले न्युयोर्कलाई खोप नदिने पनि घोषणा गरेका छन्। उनले भने कुमोको न्युयोर्कलाई खोप दिइने छैन। अमेरिकाको कोरोना इपिसेन्टर मानिएको न्युयोर्कका डेमोक्रेटिक गभर्नर कुमो ट्रम्पका आलोचक हुन्। ट्रम्पको आलोचना गरेकै कारण न्युयोर्कले यो दण्ड पाउन लागेको हो। गत वर्षसम्म न्युयोर्ककै बासिन्दा रहेका ट्रम्पले सिटी र राज्यस्तरका सम्भावित मुद्दाबाट बच्न फ्लोरिडा बसाइ सारेका छन्।
अब अमेरिका कसरी अगाडि बढ्छ ? यसको ठ्याक्कै उत्तर त कोहीसँग पनि छैन। तर, यसको उत्तर धेरै हदसम्म ट्रम्पसँगै छ। उनको व्यवहार कस्तो हुन्छ ? त्यसैको आधारमा अमेरिकाको आगामी दिनको मार्गचित्र बन्ने हो।तर, अहिलेसम्मको उनको व्यवहार हेर्दा उनी आफू सकिए पनि अमेरिकालाई थप ठेस लगाएर जाने सुरमा देखिएका छन्।यसले अन्तत: उनको बाँकि जीवन सहज हुनेभन्दा पनि कष्टकर हुने संकेत गर्दैछ। खासमा स्याडिस्ट र इगोइस्टहरूको अन्तिम दिन यस्तै हुने हो। उनी अमेरिकी इतिहासकै सबैभन्दा स्याडिस्ट र इगोइस्ट राष्ट्रपति हुन् भन्नलाई कुनै आइतबार पर्खनु पर्दैन।
आगे उनकै मर्जी । हेर्दै जाउँ, बाँचे देखिन्छ।