समयः २००० साल
स्थानः त्रिचन्द्र कलेजको घन्टाघरस्थित पूर्व–पश्चिम फर्किएको नेपाल भाषानुवाद परिषद्को कार्यालय।
जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखन सहयोगीका रूपमा मासिक १५ रुपैयाँ तलब थाप्थे, श्यामदास वैष्णव। एक दिन कार्यालयमै हल्लीखल्ली भएछ, परिषद्का अध्यक्ष पुष्करशमशेर राणा र देवकोटाबीच केही कुरालाई लिएर मतभेद भयो र देवकोटा जागिर छाडेर गए!
यसले श्यामदासलाई ठूलो तनाव भयो। नहोस् पनि किन? वास्तवमा उनी देवकोटाकै सिफारिसमा जागिर खान त्यहाँ पुगेका थिए। त्यसैले उनलाई यो हल्ला स्वादिलो लाग्ने कुरै भएन। उनी कुरा बुझ्न तुरुन्तै देवकोटाको डिल्लीबजारस्थित घरमा हान्निए। आखिर भएको रहेछ के?
त्यो घटना श्यामदासको दिमागमा अहिले पनि आलै छ। खासमा उनीहरूबीच शाकुन्तल महाकाब्यको छन्दलाई लिएर मतभेद भएको रहेछ।
त्यति बेला शाकुन्तलको उठान थियोः
तिमी त नास्तिक बनिसकेछौ
खुलस्त आत्म नबन्न सक्छौ।
पुष्करको भनाई थियो, पण्डितहरूसँग कुरा भएर लेख्न बसेको हुनाले वार्णिक छन्दमै त्यो लेखिनुपथ्र्यो। तर, देवकोटाले वार्णिक र मात्रिक छन्दलाई मिलाएर तीन महिनाभित्रै शाकुन्तलजस्तो उत्कृष्ट महाकाब्यको रचना गरिसकेका रहेछन्। पुष्करको अडानप्रति देवकोटाले तत्कालै कुनै प्रतिक्रिया जनाएनन्। तर, उनले त्यो महाकाब्य पुष्करका भाइ बालकृष्ण समलाई पनि देखाए। देवकोटाको पहिल्यैदेखिको बानी थियो, आफूले लेखेको साहित्य सबैलाई देखाउने। तर, यति बेला समयलाई त्यो महाकाब्य देखाउनु उनका लागि तीतो अनुभव बन्यो। समले दाजुकै अगाडि देवकोटाको तरिफ गर्दै भनेछन्, ‘बडो राम्रो छ।’
पुष्करले सोचेछन्, आफू केही नबोल्ने। भाइलाई भनेर आफ्नो तेजोबध गराउने। उनले देवकोटालाई त्यहीँ हपारेछन्, ‘बाजे! मैले हुन्न भन्दाभन्दै भाइका अगाडि मेरो मानमर्दन गर्न खोज्ने?’
देवकोटा यस्ता कुरामा हतपती प्रतिक्रिया जनाउँदैनथे। तर, उनलाई पुष्करले उच्चारण गरेको ‘बाजे’ शब्द प्रिय लागेनछ। जुरुक्क उठेर प्रतिक्रिया दिएछन्, ‘म टपरे बाहुन होइन।’ यति भनेर ठमठम हिँड्न लागेका देवकोटालाई बीचमा रोक्दै पुष्करले सोधेछन्, ‘त्यो भए तिम्रो मान्छे के गर्छन?’
श्यामदास त्यो घटना सम्झन्छन्, ‘पुष्करशमशेरको इसारा मतर्फ थियो। देवकोटालाई त्यो बुझ्न गाह्रो भएन।’ भनिदिएछन्, ‘यहीँ बस्छन्।’
विदेशी पाठ्यक्रम नेपाली भाषामा अनुवाद गर्न खुलेको भाषनुवाद परिषद्को जागिर छाडेर देवकोटा हिँडेपछि विवादले चर्को रूप लियो। कुरा पुग्यो, शिक्षा विभागका डाइरेक्टर शारदाशमशेरको अफिससम्म। त्यति बेला भाषानुवाद परिषद् शिक्षा विभागकै मातहत थियो। त्यसैले शारदाले विवाद सुल्झाउन दुवै पक्षलाई तुरुन्त डाके। र, यही टुँगो लाग्यो, लेखकले लेखेपछि लेख्यो, लेख्यो। विवाद निकालेर हुँदैन। त्यो लेखकको अधिकारभित्र पर्छ।
१० दिनमै महाकाब्य
शिक्षा विभागको डाइरेक्टरले बोलिसकेपछि अरूले के भन्ने? त्यसपछि अंग्रेजी भाषाका प्रकाण्ड विद्धान पुष्करले मिलापत्र गर्ने हिसाबले भने, ‘मैले होच्याउने हिसाबले बाजे भनेको होइन। ब्लड प्रेसरको बिरामी छु। त्यसैको कारण निस्कियो होला।’ मिलापत्रपछि देवकोटा पुनः जागिरमा फर्किए। तर, देवकोटाको मनमा बाजे शब्द यति गहिरोसँग गाढिएछ कि लगत्तै उनले पुष्करशमशेरसँग अर्को महाकाब्य लेख्न अनुमति मागे।
‘त्यति बेला पुष्करले एक महिनामा लेख्न सक्छौ भनेर देवकोटाको महत्त्वकांक्षा जगाइ दिनुभयो,’ श्यामदास भन्छन्। तर, देवकोटाले १० दिनभित्र सुलोचना महाकाब्य लेखिदिए। र, त्यसको दुई पात्रमध्ये एउटा पुष्करलाई नै बनाए।
‘पुष्करलाई नै सुलोचनाको एउटा पात्र बनाएर उहाँले बाजे भनेर होच्याएको त्यो घटनाको उत्तर दिनुभयो,’ श्यामदास भन्छन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटामा लेखनको विलक्षण प्रतिभा त छँदै थियो तर उनको व्यक्तित्व पनि सामान्य थिएन। ७ वर्षअघि नागरिक पत्रिकाका लागि मलाई अन्तर्वार्ता दिनेक्रममा वरिष्ठ साहित्यकार मदनमणि दिक्षितले भनेका थिए– मदनमणिको दिदी विमलाको विवाह देवकोटाका भाइ मित्रनाथसँग भएको थियो। मदनमणि २००२ सालमा भारतको बनारसबाट एमए गरेर नेपालमा रहेका आफ्ना ठूलाबडासँग आशीर्वाद थाप्न आउँदा डिल्लीबजारस्थित देवकोटाकै घरमा बसेका थिए। त्यति बेला भिनाजु मित्रनाथले दाजु लक्ष्मीप्रसादलाई परिचय गराउँदै भनेछन्, ‘दाजु यिनी मेरा साला मदनमणि हुन्। भर्खरै एमए पास गरेर आएका।’
देवकोटा पासा खेल्न मग्न थिए। मुखमा तम्बाखुको पाइप चपाइरहेका। आफ्नै सुरमा मस्त। झस्किएझैं एक्कासि सोधेछन्, ‘ए मदन! एमए पास गरेको?’ यसपछि धूवाँको मुस्लो धुरीमाथि फुक्दै एउटा प्रश्न सोधेछन्, ‘तिमी भेडा बन्न सक्छौं?’ मदनलाई देवकोटाको त्यो प्रश्न उटपट्याङ लागेछ।
‘मलाई सुरुमा होच्याएजस्तो भान भयो। भिनाजुजस्तो मान्छे के बोल्नु?’ मदनमणिले अन्तर्वार्तामा भनेका थिए, ‘त्यही पनि उत्तर दिएँ। भेडाको मासु त खाएको छैन।’
काठमाडौंको १० दिने बसाइ सकेपछि मदनमणि बनारस फर्किए। बनारसको ठूला गल्लीमा त्यति बेला स्थानीय कुस्तीबाजहरू आफ्नो बल प्रदर्शन गर्न हातमा पिर्का बोक्थे र भेडाको सिङलाई घचेटेर पछाडिसम्म पुर्याउँथे। त्यो भेडा दौडिएर फेरि कूस्तीबाजको पिर्कामा ठोकिन नआउँदासम्म यो क्रिया अनवरत चलिरहन्थ्यो। बनारसमा मदनमणि यस्तै एक साँझ टहलिरहेको बेला एउटा भेडा दौडिँदै आएर कुस्तीबाजले बोकेको पिर्कामा बजारियो। पिर्कामा ठोकिँदा भेडाको सिङबाट आगोको झिल्को निस्किएको देखेपछि झल्यास्स भएछन्, महाकविले भन्न खोजेको कुरा।
४ महिनाअघि मदनमणिको ९६ वर्षको उमेरमा निधन भएको थियो। उनले अन्तर्वार्तामा भनेका थिए, ‘यसपछि मलाई लाग्यो, महाकविले के भन्न खोजेका रहेछन्– पढेर के गर्छौ? क्रान्तिकारी बन्न सक्छौं? कति गहिरो कुरा गर्नुभएको रहेछ। हाम्रो बुद्धिले सोच्न के भ्याउनू।’
विलक्षण प्रतिभा
डिल्लीबजारका नृपेन्द्रसिंह केसी अहिले पनि एउटा घटना सम्झेर चमत्कृत हुन्छन्। केसीका पिताजी सुब्बा वीरेन्द्रसिंह र देवकोटाका ठूला दाजु लेखनाथ मिल्ने साथी थिए। फेरि घर नजिकै। त्यसैले उनको पनि देवकोटाको घरमा आवतजावत भइरहन्थ्यो। तर, विद्धताका कारण देवकोटासँग बोल्न आँटचाहिँ आउँदैन्थ्यो। एकदिन डिल्लीबजारस्थित पीपलबोटमा साइकलको पन्चर टाल्न जाने क्रममा जम्काभेट भयो, देवकोटासँग।
उनी पनि त्यहाँ पन्चर टाल्न देवकोटाभन्दा अगाडि पुगेका रहेछन्। तर, देवकोटा आएपछि उनले आफ्नो पालो छोडिदिए। देवकोटाले आफ्नो साइकल पन्चर टालेको एकटकले हेर्दाहेर्दै दुईवटा चुरोट तानिसिध्याए। उनले नृपेन्द्रलाई प्रश्न गरेछन्, ‘काजीले साइन्स पढेको होइन?’ त्यति बेला नृपेन्द्र आईएस्सी पढ्थे। केही हच्किँदै मुन्टो हल्लाएछन्।
त्यत्तिकैमा देवकोटाले अर्को प्रश्न छोपिहाले, ‘तिमीलाई थाहा छ, पृथ्वी एन्टी क्लब घुम्यो भने के हुन्छ?’
८६ वर्षीय नृपेन्द्र भन्छन्, ‘मैले अहिलेसम्म त्यसको उत्तर भेटेको छुइनँ। उहाँ टायर बनाएको हेर्दाहेर्दै कति गहिराइमा डुबिसक्नुभएको रहेछ।’
नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशी पनि महाकविको विलक्ष्मण प्रतिभाको विषयमा राम्रै जानकार थिए। २ वर्षअघि ९१ वर्षको उमेरमा मृत्युवरण गरेका जोशीले २०७१ सालमा ‘नेपाल म्यागजिन’ का लागि मलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘राणा शासनलाई चुनौती दिने उद्देश्यस्वरूप २००३ सालमा नेपाली कांग्रेसले देवकोटालाई भारतको बनारस पुर्याउन सफल भएको थियो।
देवकोटा बनारस पुगेपछि काठमाडौंमा खैलाबैला मच्चियो। किनभने, काठमाडौंमा राणाजीका प्रायः सबै छोराछोरी अध्ययनका लागि देवकोटाको घर धाउँथे। त्यति बेला काठमाडौंमा एउटा भनाइ निकै प्रचलित थियो, जसले देवकोटासँग पढ्छ, त्यो फेल हुन सक्दैन।
बनारसमा देवकोटाले नेपाली कांग्रेसको मुखपत्र युगवाणीको सम्पादन पनि गरे। त्यो पत्रिका कृष्णप्रसाद भट्टराईका भाइ गोपालप्रसादले निकाल्थे। त्यति बेला जीविकोपार्जनका लागि देवकोटा बनारसबाट प्रकाशित हुने अर्को साहित्यिक पत्रिका उदयको प्रुफ पनि हेरिदिन्थे। यसबापत उनले २५ पैसा पारिश्रमिक पाउँथे।
बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठले ५ वर्षअघि दिएको अन्तर्वार्तामा भनेका थिए, ‘देवकोटाले हाम्रो पत्रिकामा प्रुफ हेरेबापत पिताजी (काशीप्रसाद श्रेष्ठ) ले २५ पैसा दिनुहुन्थ्यो।’ उनी देवकोटालाई ‘भर्सटाइल’ र मुडी भन्न रुचाउँथे। ‘मन लागे बोल्ने, नभए नबोल्ने। कविता फुर्यो कि सुनाइहाल्नुपर्ने।
देवकोटा बनारसमै हुँदा कोलकाता पढ्न बसेका जोशीलगायत नेपाली विधार्थीले २००५ सालमा सम्मानका लागि उनलाई बोलाएका थिए। कोलकाताको कलेज स्ट्रिटस्थित महाबोधि सोसाइटीको हलमा महाकविलाई अभिनन्दन गर्दा हिन्दी र बंगालीका साहित्यकारको पनि उपस्थिति थियो। जोशीले यो घटनालाई आफ्नो किताब ‘अध्यारोबाट उज्यालोतिर’ मा पनि उल्लेख गरेका छन्–‘उहाँले अंग्रेजी कविता तामाङ सेलोमा सुनाएर सबैलाई चकित पार्नुभयो।’
देवकोटा एक महिना कोलकाता बसे। यहीँ देवकोटाका विधार्थी देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीको बरखीमा उनलाई अंग्रेजीमा केही सानेट लेख्न आग्रह गरेका थिए। जुन पछि मुम्बईको ‘ब्लिट्ज साप्ताहिक’ मा छापियो। कोलकातामै बस्दा देवकोटाले ‘आँसु’ कविता पनि लेखे। त्यो कविता पनि उपाध्यायकै अनुरोधमा देवकोटाले मुखैले भनेका थिए।
कागजमा उतार्ने काम भने जोशीले गरे। पछि पारसमणि प्रधानको सम्पादकत्वमा दार्जीलिङबाट प्रकाशित हुने ‘भारती’ मा छापियो। ‘उहाँलाई खालि विषय मात्र चाहिन्थ्यो। त्यसपछि धाराप्रवाह आउने। रोकिनै गाह्रो,’ जोशीले अन्तर्वार्ताको क्रममा भनेका थिए।
देवकोटाको लेखनशैलीको विषयमा सबैभन्दा भुक्तभोगी उनकै परिवार हो। ‘१२ बजे खाना खानु छ भने ९ बजे पका भन्ने। तर, उठ्दै नउठ्ने,’ देवकोटकी ७६ वर्षीय माइली छोरी अम्बिका रिमाल पुरानो कुरा सम्झन्छिन्, ‘आमाले कलम खोस्दे भन्ने। बहिनी मीरा र म जान्थ्यौं। तर, कहाँ सक्ने? कति बलियोसँग पक्डिने।’
देवकोटाको अर्को रोचक पक्ष भनेको उनी हार्मोनियममा उत्तिकै राग हाल्न सक्थे। ‘बुबाको स्वर केटीको जस्तो सुरिलो थियो। यसैले हाम्रो घरमा साहित्यकारको मात्र होइन, उस्तादको पनि जमघट रहन्थ्यो। कहिलेकाहीँ नातिकाजी पनि आएको सम्झन्छु,’ अम्बिका भन्छिन्।
देवकोटा जुवाका पनि सोखिन थिए। यस्तै, एकपल्ट छक्का दाउ खेल्दा देवकोटाले खुब पैसा जितेका थिए। तर, त्यहीँ बस्ने अरूले जितौरी मागेछन्। सबैलाई जितौरी दिँदादिँदै घर फर्कदा फेरि खल्ती रित्तो।
‘बुवाले जुवा जितेको घटना पनि आमालाई रमाइलो पाराले सुनाउनुभयो। तर, पैसा माग्दा उत्तर आयो, सबैलाई जिताह दिँए,’ जेठी छोरी सावित्री रेग्मी भन्छिन्। ९२ वर्षीय सावित्री आफ्नो पितामा बालबच्चाहरूप्रति अगाध स्नेह रहेको सुनाउँछिन्। भन्छिन्, ‘उहाँ कुनै पनि बच्चा निन्याउरो अनुहार लगाएर बसेको हेर्न सक्नुहुन्थेन।’
गाईलाई तीन खर्पन काउली
देवकोटा मानिसलाई मात्र होइन, पशुलाई पनि उत्तिकै आदरभावले हेर्थे। एकपल्ट त तीन खर्पन काउली बोकेर घर पुगेछन्। त्यत्रो तरकारी देखेर अत्तालिएकी पत्नी मनदेवीले भनिछिन्, ‘किन यत्रो काउली ल्याएको?’
अहिले पनि त्यो घटना सम्झँदा हाँस्ने अम्बिका भन्छिन्, ‘बुबा उल्टै रिसाउनुभयो। तिमीहरूलाई मात्र मीठो खान मन लाग्छ? गाईलाई लाग्दैन भनेर।’
देवकोटासँग २००२ सालमा पनि यस्तै घटना दोहोरिएको थियो। त्यति बेला उनी त्रिचन्द्र कलेजमा पढाउँथे। काठमाडौंका प्रायः सबैलाई थाहा हुन्थ्यो, देवकोटाको तलब आउने दिन। त्यसैले उनीसँग उधारो माग्नेदेखि पुरानो हिसाब चुक्ता गर्नेहरूको लर्को नै लाग्थ्यो, बाटोमा। फेरि देवकोटा कसैलाई नाइनास्ती गर्न नसक्ने! यस्तैमा एकपल्ट देवकोटा कलेजबाट तलब थापेर घर फर्कदै थिए। मैतीदेवीमा एउटा माग्नेले चार आना मागेछ। त्यति बेला बाटोमा पैसा बाँड्दाबाँड्दै उनको खल्ती रिक्तिसकेको पत्तै पाएनन्। यत्तिकैमा उनलाई झल्यास्स याद आएछ, साथीहरूले एक सय रुपैयाँको नोट कोटको माथिल्लो खल्तीमा राखिदिएका छन्। वास्तवमा त्यो नोट उनको घरसम्म पुगोस् भन्ने हेतुले राखिएको थियो। तर, उनले त्यही नोट निकालेर त्यो माग्नेलाई दिन खोजे। उनीसँग त्यति बेला कलेजकै अर्का साथी पनि थिए। उनले देवकोटाको हात ट्याप्प समाते। र, भने, ‘सबै दिनुभयो भने छोराछोरीले के खान्छन्?’
तर, देवकोटा मान्नेवाला कहाँ थिए र! उत्तर दिएछन्, ‘मेरो परिवारलाई भगवानले हेर्छ।’ त्यही पनि साथीले माग्नेको आवश्यकता चार आना मात्र भएको बताउँदै देवकोटाको ध्यान अन्यत्र मोड्न खोजे। उनले यसका लागि आफैँले खुद्राबनाएर ल्याउने समेत आग्रह गरे। तर, देवकोटाले मानेनन्। उनले आफ्नो उठिसकेको हात नफर्किने बताउँदै माग्नेलाई सय रुपैयाँको नोट नै दिए।
‘तर, घर फर्किएपछि बुबाले आमालाई भन्नुभयो, बज्यै! छिमेकीसँग मागेर चलाउँदै गर्नू। म पछि तिरिहाल्छु नि!’ अम्बिका सम्झन्छिन्।
समालोचक तारानाथ शर्माले २००९ सालमा दार्जीलिङस्थित दामोदर सदनमा देवकोटालाई भेटेको घटना अहिलेसम्म बिर्सन सकेका छैनन्। त्यति बेला उनी उतै स्कुल पढ्दै थिए। एकाबिहान दामोदर सदन पुग्दा महाकवि दाँत माझ्न व्यस्त थिए। तर, भेट्न आएको खबर सुनेपछि देवकोटा निकै खुसी भए। त्यो दिन सूर्यविक्रम ज्ञवालीलगायत त्यहाँ रहेका सबै साहित्यकारको घुम्ने कार्यक्रम तय थियो। तर, तारानाथलाई भेटेपछि महाकविले भनेछन्,‘तिमीहरू जाओ। कञ्चनजंघा हेर, पोताला हेर। म भोलिको नेपालसँग कुरा गर्न चाहन्छु।’
‘त्यसपछि मलाई झ्याप्प अँगालो हाल्नुभयो,’ देवकोटाले त्यति बेला सोधेको प्रश्न अझै याद गर्ने गरेका शर्मा भन्छन्,‘मैले कवि बन्ने इच्छा बताएँ। तर, उहाँले भन्नुभयो, ओहो! आगो बल्छ। नबन कवि। बरु इन्जिनियर बन।’ त्यति बेला तारानाथको कपीमा देवकोटाले लेखेका रहेछन्ः
कविता सविता मेरी ‘ल बिता!’
‘ल बिला!’ भनेँ
त्यसैको प्रेमले जल्दै आगो आँसु दुवै बनेँ।
–लक्ष्मीप्रसाद देवकोटा
१४ अगस्ट १९५२
(स. यो लेख गत वर्ष लक्ष्मी पुजाको दिन प्रकाशित भएको थियो।)