अमेरिकामा एकै दिन कीर्तिमानी १,४२,००० कोरोना संक्रमित

बिएल संवाददाता

न्यूयाेर्क
Breaknlinks
Breaknlinks

अमेरिकामा कोरोना भाइरसको संक्रमण घट्नुको सट्टा उल्टै बढ्दै गइरहेको छ। बिहीबार यहाँ एकै दिन १ लाख ४२ हजार कोरोना संक्रमित भेटिएपछि अर्को कीर्तिमान पनि बनेको छ। 

अमेरिका पहिलेदेखि विश्वमा सबैभन्दा कोरोना संक्रमित देश हो। यस्तै, यहाँ कोरोनाबाट मर्नेको संख्या पनि सर्वाधिक छ। एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएको पनि यो पहिलो मौका हो। 

अमेरिकामा राष्ट्रपति चुनाव सम्पन्न भएर डेमोक्रेटिक पार्टीका जो वाइडेन विजयी भए पनि कोरोना संक्रमणको घटना रोकिएको छैन। बरु उल्टै फैलिन थालेको छ। पछिल्लो १० दिनयता अमेरिकामा संक्रमितको संख्या दिनहुँ १ लाखको दरले बढेको छ। 

वाइडेनले प्रारम्भिक मतगणनामा आफू राष्ट्रपति विजयी भएलगत्तै कोरोनालाई नियन्त्रण गर्न विशेष टास्क फोर्सको गठन गरेका थिए। तर, त्यसले पनि खासै नतिजा दिन सकेको छैन। वाइडेनले अमेरिकी जनतालाई मास्क अनिवार्य लगाउन अपील गरेपनि यसको असर खासै भएको पनि देखिदैन। 

यसैबीच बुधबारदेखि लागु हुने गरेर न्युयोर्क शहरले ‘प्राइभेट पार्टी’ मा प्रतिबन्ध लगाएको छ। 

अमेरिकामा पछिल्लो समय जाडोयाम सुरु भएसँगै कोरोना संक्रमणको घटना बढेको न्युयोर्क टाइम्सले बताएको छ। स्वास्थ्य विभागका अनुसार पछिल्लो १० दिनमा अमेरिकामा ११ लाख २९ हजार ४ सय ६३ नयाँ संक्रमित देखापरेका छन्।
 
अमेरिकामा केही दिनअघि मात्र संक्रमितको संख्या १ करोड नाघेको थियो। हालसम्म यहाँ २ लाख ४८ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ। 

जाडोमा बढ्दो संक्रमणका कारण केही राज्यले कोरोनाको नियमलाई लिएर कडा नीति अपनाउन सक्ने अमेरिकाको विभिन्न पत्रपत्रिकाले लेखेका छन्।

प्रकाशित मिति: : 2020-11-13 08:34:00

प्रतिकृया दिनुहोस्