काठमाडौं प्रशासन कार्यालयले मंसिर ३ गतेदेखि सेवा सुचारु गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाल बन्द रहेका नागरिकता वितरणलगायतका सेवा मंसिर ३ गतेदेखि सुरु गर्ने भएको छ।

प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा मंसिर ३ गतेदेखि खुला गर्ने जानकारी दिनेछ।

कोरोना महामारीको जोखिम उच्च रहेको र कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि सेवा असोज २५ गतेदेखि  स्थगित गरिएकाे थियाे। 

सूचना अनुसार कार्यालयले स्थानीय तहअनुसार निश्चित बार मात्र सेवा दिनेछ। जसअनुसार आइतबार काठमाडौं महानगरपालिकाको १ देखि ११ सम्मका बासिन्दाले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन्।

त्यस्तै मंगलबार काठमाडौं महानगरपालिकाको १२ देखि २१ सम्मकाले, बुधबार बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिकाको २२ देखि ३२ सम्मकाले र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन्।

पत्रपत्रिका, संघ संस्था दर्ता र नवीकरणसम्बन्धी सेवा पनि बार अनुसार बर्गीकरण गरेर दिइने कार्यालयले सूचनामा उल्लेख गरेको छ। 

संघसंस्था दर्ताको काम सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मंगलबार बिहीबार र पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्र हुनेछ। प्रतिलिपी पत्राचार सेवा प्रत्येक दिनको ४ बजेपछि दिनेछ।

प्रकाशित मिति: : 2020-11-12 14:22:00

प्रतिकृया दिनुहोस्