ओलीले नटेरेपछि दाहालले फेरि समय थपे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका छन्। कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटर दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए। तर ओलीले उक्त समयसीमाभित्र बैठक नबोलाएपछि दाहालले मंगलबार फेरि ओलीलाई भेटेर बिहीबारका लागि सचिवालय बैठक राख्न प्रस्ताव गरेका छन्।

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार दुवै अध्यक्षले बैठक राख्ने र त्यहाँ प्रस्ताव गर्ने अजेन्डालाई प्रतिष्ठाको विषय बनाउँदै गए झन् अप्ठेरो हुनेछ। अहिले ओली र दाहाल दुवै एकअर्काको रणनीति ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दा पनि ओलीले आलटाल गर्ने र बैठक माग गर्ने पक्षले पनि समयसीमा बढाउँदै जाँदा यस्तो स्थिति सिर्जना भएको हो। पछिल्लो समय ओली सचिवालय बैठक बोलाउन लचिलो भए पनि उनले मिति तोक्न सकेका छैनन्।

‘ओलीले सचिवालय बैठकका लागि महासचिव विष्णु पौडेललाई तयारी थाल्न भन्नुभएको छ, तर बैठक बिहीबारै बस्छ भन्नेचाहिँ छैन, अर्को दिन पनि हुन सक्छ,’ स्थायी कमिटीका ती सदस्यको दाबी छ, ‘दाहालले भनेकै मितिमा बैठक बस्नुपर्छ भन्ने छैन। बैठक बोलाउन छलफल भइरहेका छन्।’ महासचिव पौडेलले पनि परामर्शमा बैठक बस्नुपर्ने भन्दै सबै शीर्ष नेताहरूसँग छलफल अघि बढाएका छन्। तर यो विषयमा नेताहरू खुलेर बोल्न चाहँदैनन्।

प्रकाशित मिति: : 2020-11-11 08:03:00

प्रतिकृया दिनुहोस्