२३ किलो सुन काण्डमा नेपालबाट फरार भएका अशोकका दाजु बिहार चुनावमा विजयी

२३ किलो सुन–प्रकरणमा नेपाल प्रहरीले खोजी गरिरहेका अशोक सिन्हाका दाजु प्रमोद सिन्हाले नेपालसँग सीमा जोडिएको बिहार राज्यको विधानसभा चुनावमा रक्सौल निर्वाचन क्षेत्रबाट बिजय प्राप्त गरेका छन्। 

मंगलबार भइरहेको मतगणनामा सत्तारुढ गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) को तर्फबाट चुनाव लडेका प्रमोदले जित हात पारेका हुन्। भारतीय जनता पार्टी (भाजपा) का यी उम्मेदवारले कांग्रेसका सुरेश यादवलाई २६ हजारभन्दा बढी मतले पराजित गरे। उनले ४४ हजार ४३ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्दी सुरेश यादवले १८ हजार २ सय ३ मत प्राप्त गरेका थिए। 

प्रमोदका भाईलाई सुन–तस्करीको मुद्धामा नेपाल प्रहरीले कार्तिक १ देखि नै खोजी गरिरहेको छ। वीरगञ्जको रेशमकोटिस्थित गणेश अपार्टमेन्टबाट बरामद गरिएको अवैध २३ किलो २ सय ३७ ग्राम सुन र झन्डै २ किलो २ सय ६२ ग्राम चाँदीमा उनको नाम प्रमोदका भाई अशोकको नाम जोडिएको छ। 

अशोक अझै फरार छन्। उनी सुन बरामद भएको अपार्टमेन्टको तेस्रो तल्लाको ३ सय ३ नम्बर फ्लाटमा बसोबास गर्दै आइरहेका थिए। अशोक नेपाल–भारत सीमामा तस्करीका लागि कुुख्यात छन्। उनको नाम विगत दुुई वर्षदेखि निकै चर्चामा आएको नेपाल प्रहरीले बताएको छ। ‘उनको खोजी गरिरहेका छौं। सम्भवत उनी भारतमा लुकेर बसेका छन्,’ प्रहरी श्रोतले बिएल नेपाली सेवालाई बतायो। 

उनी रक्सौल भन्सारबाट दैनिक नेपाल भित्रिने ४–५ सय मालवाहक गाडीबाट हप्ता पनि असुली गर्थे। 

 
 

प्रकाशित मिति: : 2020-11-10 16:30:00

प्रतिकृया दिनुहोस्