नकारात्मक समाचार आउन थाले,अब पत्रकार बन्नको लागि योग्यता ताेक्नुपर्छ: सञ्चारमन्त्री

बिएल संवाददाता

काठमाडाै‌ं

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन्।

मन्त्री गुरुङले सञ्चार गृह र पत्रकार के उद्देश्यले मिडिया क्षेत्रमा प्रवेश गरेको र अहिले यो क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको समेत बताए। 

‘पछिल्लो समयमा मानिसलाई एकदमै निराश बनाउने खालका नकारात्मक समाचार आउन थालेको छ। त्यसले मिडियाको विश्वसनीयतामा नै प्रश्न उठेको छ,’ उनले भने।

उनले पत्रकार बन्नको लागि निश्चित योग्यता चाहिने बताए। ‘सञ्चार कानुनमा म अब मर्यादित पत्रकारिताको बुँदा पनि थप्छु। जिम्मेवार पत्रकारिताको मापदण्ड र न्यूनतम व्यवसायिक मर्यादा आवश्यक छ र पत्रकारिताका नकारात्मक सूचीहरुलाई सकारात्मक सूचिमा परिवर्तन गर्न आवश्यक छ।’

यस्तै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले ब्रेकिङ गर्ने दबाबले समाचारको तथ्यलाई असर गर्ने गरेको बताए।

‘विश्वमा आमसञ्चार माध्यमहरुको संख्या तीव्र रुपमा वृद्धि भएको छ।  यसले पाठकलाई फरक दृष्टिकोणसहित पढ्ने अवसर प्राप्त भएको तर गलत र भ्रामक समाचारले जनतालाई मिसलिड गर्छ। त्यसैले तथ्यगत समाचार सम्प्रेषण गर्दै पत्रकारले जिम्मेवार पत्रकारिताको अभ्यास गर्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-11-10 12:19:00

प्रतिकृया दिनुहोस्