ओबामालाई नरुचाएकाे साउदीले दियाे वाइडेनलाई शुभकामना

बिएल संवाददाता

न्यूयाेर्क

साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजीज अल सउद र उनका छोरा क्राउन प्रिन्स मोहम्मद बिन सलमानले  अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनलाई बधाई तथा शुभकामना दिएको छ।

उनीहरुले सयुक्त रुपमा वाइडेन र कमला ह्यारिसलाई बधाई दिएका हुन्।

चुनावमा बाइडेनको जीतको खबर सार्वजनिक भएपछि थुप्रै अरब देशका राष्ट्राध्यक्षले बाइडेन र ह्यारिसलाई बधाई दिए तर साउदी अरब मौन रहेको थियो।

डोनाल्ड ट्रम्पसँग साउदी अरेबियाको सम्बन्ध राम्रो मानिन्छ। ट्रम्प र क्राउन प्रिन्स मोहम्मद बिन सलमान नजिक मानिन्छन्। 

 सन् २०१५ मा ट्रम्पले चुनावी अभियानको क्रममा इरानसँग भएको परमाणु सम्झौताबाट अलग हुने बताएका थिए। उनले चुनाव जिते लगत्तै  परमाणु सम्झौताबाट अलग भए। 

ट्रम्प राष्ट्रपति बनेपछिको पहिलो विदेश भ्रमण थियाे साउदी अरेबिया। 

यसका साथै ट्रम्पले साउदीका पत्रकार जमाल खाशोग्गीको हत्याको मामिलामा ढाकछोपका लागि सहयोग गरेको अभियोग लाग्ने गरेको छ।

पत्रकार खाशोग्गीको हत्या सन् २०१८ मा इस्थानबुलमा भएको थियो। सो हत्या सलमानको आदेशमा भएको आरोप लाग्दै आएको छ।

खाशोग्गीको हत्यालाई लिएर विश्वभरका नेताले साउदी अरेबियाको आलोचना गरेका थिए। 

वाइडेन पनि आलोचना गर्नेहरुमा पर्छन्। उनले खाशोग्गीको हत्याको मामिलामा जिम्मेवारी निश्चित गर्ने र यमन लडाईंलाई समाप्त गर्नेबारे पनि कुरा गरिसकेका छन्। यमनमा भइरहेको लडाईंमा साउदी नेतृत्वको पनि महत्वपूर्ण भूमिका छ जसले त्यहाँ गठबन्धन सेनाको नेतृत्व गरिरहेको छ।

यसअघि पुर्व राष्ट्रपति बाराक ओबामाको इरानप्रति तुलनात्मक रुपमा खुकुलो नीतिका कारण साउदी टाढिएकाे थियाे।

ओबामा प्रशासनमा उपराष्ट्रपतिका रुपमा रहेका वाइडेन सत्तामा आउने भएपछि साउदी र अमेरिकाबिचको सम्बन्धमा बिग्रने अनुमान गरिएकाे छ। 

प्रकाशित मिति: : 2020-11-09 07:45:00

प्रतिकृया दिनुहोस्