३९१ औँ हप्तामा वाग्मती सफाइ महाभियान

काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान ३९१ हप्तादेखि जारी छ। सफाइ महाभियानको ३९१ औँ हप्तामा आज पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ।
सफाइमा काठमाडौँ महानगरपालिका वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलगायत अभियानकर्मीको सक्रियता थियो। यसैगरी शङ्खमूल क्षेत्रमा भएको सफाइमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा त्यस क्षेत्रको नदी किनार सडकको सफाइ गरिएको थियो।

कुहिने र नकुहिने फोहरमा वर्गीकरण व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले बताए। यसैगरी गुह्येश्वरी माथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथको उत्तर र पश्चिमखण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा  पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाको व्यवस्थासहित सफाइ अभियान चलाइएको छ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएदेखि चाडपर्व, वर्षा हिउँद, भूकम्पको त्रास, कोरोना भाइरसको महामारी जस्ता बेलामा पनि सफाइ अभियानले निरन्तरता पाउँदै आएको छ। चैतदेखि कोरोना महामारीबाट बच्न जारी बन्दाबन्दीका बेला पनि नदी किनार नजिक आवास भएका अभियानकर्मीले सफाई महाअभियानलाई निरन्तरता दिँदै आएका छन्उ।

नदी किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले भने आ आफ्नो टोल सफाइसहित कोरोनाबाट बच्न जारी स्वास्थ्य सुरक्षाका विधिसँगै चेतना फैल्याउने काममा समेत सघाउ पुर्याउदै आएका छन्। वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै देशभर १०६ स्थानमा सफाइ अभियान जारी छ। ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ प्रत्येक हप्ताको शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म सफाइ अभियान हुने गरेको छ।
सफाइ महाभियान शुरु भएको सात वर्ष भए पनि उपत्यकाका मुख्य नदीको आशातीत सफा हुन नसकेको स्थानीयवासीको गुनासो छ। सफाइमा स्थानीयवासी एवं स्थानीय तहका जनप्रतिनिधिको ध्यान जान नसकेको अभियानकर्मीको गुनासो छ। रासस

प्रकाशित मिति: : 2020-11-07 21:00:00

प्रतिकृया दिनुहोस्