‘झिरकूली मरी’

Breaknlinks
Breaknlinks

जीवन अनवरत संघर्ष हो। सपनाको उजेली रहुन्जेल आशाका जुनेली लिएर बाच्ने एक दर्पण छाँया पनि रहेछ जीवन। यी र यस्तै संर्घषसँग साक्षात्कार गर्दै झिरकूली पनि बाँचिरहेकी छिन्। 

झिरकूली एक सुदूूर हिमाली जिल्लाको गरिब परिवारमा जन्मेकी थिइन। छोराको रहरै रहरले सातौं छोरी मध्येकी जेठी छोरी झिरकूली नै हुन्। उनी जन्मेको एक वर्षपछि नै अर्को बहिनी जन्मेकी हुँदा आमाको स्तनपान पनि  राम्ररी प्राप्त गर्न पाएकी थिइनन्। 

झिरकूली दुई वर्षकी भएपछि ग्वाँली भइसकेकी थिइन, किनकि आमा सुत्केरी र बाबु भने ज्याला मजदुरी गर्ने गर्दथे। झिरकूली ओखलमा धान कुट्दथिन् र त्यही चामल (फाको) सुर्के थैलोमा राखी ग्वाली वस्तुभाउ हेर्न जाँदा बोकेर जान्थिन्। 

सानो बालापन, खुट्टामा चप्पल नहुँदा दिनभरी काँडाले घोच्दथ्यो। दुई–तीन राठीवस्तुभाउ बाख्राहरु चारदिशा तिर जान्थे। साँझपख बटुलेर घर पुर्‍याउन उनलाई निकै कठिन हुन्थ्यो र अर्को संगीको साहारा लिन पर्थ्यो। 

साँझ आमाबावुका लागि जे–जसो पकाउन, मसिना दाउराको सानो मुठो तयार पार्थिन्। कहिले घर ल्याउँन्थिन्, त कहिले ल्याउन नसकी रुँदै घर फर्किन्थिन्। दिनभरीको भोक, प्यास, कलिला खुट्टा काँडाले घोचेका घाउहरुले झिरकूली रातभरि ननिदाई छटपट गर्थिन्।

झिरकूलीको सबैभन्दा जेठो बाख्राको नाम मालबाख्रो थियो। कयौं दिन वनपाखा, साँझसम्म मालबाख्राको लागि चाहरेकी थिइन, उनले। त्यो बाख्रासँग झिरकूलीको गहिरो मायाप्रेम थियो। बाख्रो बुुढो हुँदै गयो। उनकी आमा सुत्केरी हुँदा पोषणयूक्त खानेकुरा खान नपाउँदा कमजोर भई, बहिनीलाई कूपोषणसमेत भएको थियो। 

स्थानीय वैध्यले बाख्राको कबाब बनाई खुवाउनुपर्ने सुझाव दिएपछि आमाबुुवाले त्यही मालबाख्रो मार्ने तयारी गरे। उनको असहमतिको बाबजुद  एक दिन त्यही बाख्रो काटे, जुनदिन झिरकूली आँशुमा डुब्ने गरि रुएकी थिइन। 

त्यसपछिका वस्तुभाउ चराउने दिनहरु झिरकूलीका लागि के नपुगेको के नपुगेको जस्तो लाग्थ्यो। उनी एक्लो भएको महसुस गर्थिन र निरास पनि थिइन। 
झिरकूलीकी आमा लगातार सात सन्तानकी आमा भइन्। अनि गाउँलेहरूले रुढिवादी भनाई सुनाउन लागे– जेठी छोरीको विवाह गरेपछि छोरा हुन्छ रे।

झिरकूलीका आमाबुुवाले जता–जताबाट छोरीको विवाहको कुुरा आउँथ्यो,  हुन्छ भन्दै स्वीकार गर्थे। झिरकूली १३ वर्षकी मात्र थिइन्, बाआमाले कन्यादान गरिदिए, छोरा पाउने आशामा। तर, दुर्भाग्य झिरकूलीको आमा त्यसपछि कहिलै जतकाल (गर्भवती) भइनन्। गाउँलेका सुझाव काम लागेनन्।

झिरकूली माइतीघरमै सानोदेखि ग्वाली गोठाली लागेकी घाँस–दाउरा लेकवेशी गर्न जानेकी चेली थिइन्। उनको विवाह भएको दिन साथीसंगी सबैले रुँदै बिदाई गरे। 

डोली चढेर जाँदै गर्दा झिरकूलीले आमा, गोठका गोरु, अगेनाको आगो कसले गरिदेला, क्या म घरधुरी भाग गर्दा हुँ भन्दै करुणा (कारुना) गर्दै विदा भइन। 

झिरकूलीको आमाबा पनि छोरीलाई बिदा गर्दैगर्दा भावबिह्वल भई आँशुले भिजे। 
विना आगा, विना पानी पाक्यो पकवान।
छोरीको पराईको देश धन्य भगवान।।

छोरीलाई पराईको घर नगई नहुने भन्दै झिरकूलीकी आमालाई सम्झाई बुझाई गर्दै सहानुभूती दिँदै थिए भने झिरकूलीको डोली एकाएक घर तलको चौतारी हुँदै पोइली घरतिर लाग्यो। 

झिरकूलीकी आमाले दाइजो दिइएको एक बाख्रो र केही भाँडाकुुँडा, हँसिया, कुुटो लगायतको बोरा बोकेको दृष्य पनि जन्तसँगै देखिन्थ्यो । 

झिरकूलीको जन्ती पोइलीघर पुग्यो। सेतो कमेरोले पोतेको झुपडी घर नजिकै पुगेर झिरकूलीको डोली रोकियो। खै दुलही कस्ती छिन् भन्दै एकाएक अर्धवैशे महिला र तन्नेरी केटीहरुको जमात घुम्टी खोल्दै झिरकूलीको अनुहार नियाल्दै थिए। 

घरपैसो गर्न झिरकूलीको आमाजू (लोग्नेको दिदी) लागिपरेकी थिइन। भाईको विवाह भनेपछि केही दिन स–परिवार नै दिदी–भिनाजुु र भान्जाभान्जी माइतीघर आएका थिए। 

झिरकूलीको लोग्ने काल्या गर्भमै हुँदा बुबा प्रदेशी नै उतै बेपत्ता भएको खबर आएको थियो। काल्या दुई वर्षको हुँदै उसकी आमाको पनि स्वर्गे भएको थियो। 

काल्याकी दिदीले लालनपालन गरि हुर्काएका भाईको विवाह गरी भाईबुहारी भित्र्याउन पाउँदा उसकी दिदी खुसीले भक्कानिएर रोएकी थिइ।  सायद टुहुरो भाईको जिम्मेवारी पूरा गर्दैगर्दा आमाको अभाव खड्केर होला। सबै जन्ती साँझको भोजन गरि लाखापाखा लागे, गाउँलेको सदा साहयताले जसरी काल्याकी दिदीको विवाह भएको थियो, त्यसरी नै काल्याको पनि विवाह सम्पन्न भयो।

काल्याकी दिदीले पनि पँधेरो चुलो चौको, घर अँगेनो सबै चिनजान गराई उनी पनि आफ्नो घरतिर लागिन। काल्या र झिरकूलीको एकल जीवन वैवाहिक जीवनमा रुपान्तरण भई घर व्यवहार सुरु भयो। 

काल्याको पनि अभावै अभावको जीवन थियो। अर्काकै मेलापाखामा काम गरि गुजारा गर्ने गर्दथ्यो। झिरकूली पनि त्यही अनुसार मेलापात गर्दै गई। केही महिनासँगै बसेपछि विवाहको ऋण तिर्नु पर्छ, प्रदेश जान्छु भनी काल्या भारत लाग्यो। 

थोरै समय आफ्नो सानो बारीमा र बढी समय गाउँले कै खेतबारीमा काम गरि पेट पालेकी झिरकूली एकै पटक दुई छोरीकी आमा भई। छोरीहरु जन्मेपछि काल्याले खबर पायो र प्रदेशबाट घर आयो। विवाहको ऋण तिर्यो, एकजोर लुगाफाटो लगायतको व्यवस्था गर्यो। छरछिमेकीको मेलापात गरी घरगुजारा चलायो। 

बैध्य बाको सल्लाह अनुसार झिरकूलीको दार्इजो बाख्रो सुत्केरी कवावको लागि काट्यो र श्रीमतीको सुत्केरी स्याहारा पनि गर्यो। सधै अर्का कै खेतबारीमा कामगरि गुजारा चलाउँदा चलाउँदा बैचेन भएको गरिबीको भारी  बिसाउन काल्या फेरि भारततिर लाग्यो।

झिरकूली दुई छोरी आधापेट खाना र एकसरो नानामा झेलिरहेकी हुन्थि। त्यही बीचमा सुदूूरपश्चिमका हिमाली जिल्ला डोटीमा मोटरबाटो पुग्यो। 

यातायातका साधन डोटीको सिलगढी पुग्न लागे। पैसा हुनेले खाद्यान्न किनेर त्यहाँबाट बझाङ्ग, बाजुरा, अछामसम्म दश र प्रन्ध्र घण्टाको उकालो बाटो बोकेर खान्थे। तर पैसा नहुने बल हुने वा भारी बोक्न सक्नेहरुका लागि पनि खुसीको खबर थियो। बझाङ्ग, बाजुुरा, अछाम, डोटीको संगमभूमी खप्तडमा नेपाली सेनाको गुल्म स्थापना भयो। जसको नजिकको सामान ढुवानी गर्ने स्थान डोटीको सिलगढी नै थियो। नेपाली सेनाले आफ्नो समान ढुवानी गर्ने भरियालाई भारि बोकी दिएबापत पैसा नदिई चामल खाद्यन्न दिन्थे। यो खबर झिरकूलीले पनि सुनी।

दुइटी छोरी छिमेकीलाई दुईचार दिन हेरिदिन आग्रह गरि झिरकूली खप्तड पुगी। सेनाले हुन्छ, भारी बोक्न जानुहोस् भनेपछि झिरकूली अन्य गाउँले सँगै डोटीको सिलगढी गई र पहिलोपटक पचास के।जी। चामल बोकी उकालो लागि र सहजै सेनाको गुल्मसम्म पुगी। 

त्यसपछि फेरि झिरकूली सिलगढी गइ र अर्को खेप तयार गरि अब भने झिरकूलीले पचास नभई १ क्वीन्टल बोकी। उकालो मेलाको बाटो लहरा पहरा समाउँदै पसिनाले भिजिरहँदा झिरकूलीको सपना भने अघिल्लो खेपको २५ के।जी र यस पटकको ५० केजी चामल पाउने र सोही चामलले छोरीहरुलाई पनि पेटभरी खाना खुवाउने सपना बुन्दै उकालो लागी। 

पिठ्यूको एकसय केजीको भारीले होइन गरिबीको हजारौ के।जी।को भारीले थिचिरहेको थियो झिरकूलीलाई। उकालोको प्रवाह नगरी छिटो छोरीहरुलाई चामलको भातले पेट भर्ने आशा हुनाले उकालो नाप्दै गर्दा सात महिनाको गर्भवती थिइन उनी। सिलगढीबाट खप्तड जाने झिग्रानाबाट माथि मेलाका उकालो नब्वे डिग्रीको उकालो छ, पानीको खोच पनि। त्यही उकालोमा झिरकूलीको गोडा थरथर काम्न थाल्यो। छोरीहरुको यादले आतंक मच्चाई रहेको झरकूली थचक्क बसिन्। मूखबाट रगत बान्ता भएपछि त्यहीँ लडिन् र सदाका लागि विदा भइन्। पचासरपचास केजीको सेता दुईवटा चामलको बोराले थिचिएको थियो, झिकूलीको शरीर। त्यो चामलको बोराले होइन गरिबी र अभावले थिचिएको जिन्दगी दुःखसँगै बिदा भयो, सदाका लागि।

प्रकाशित मिति: : 2020-11-07 18:40:00

प्रतिकृया दिनुहोस्

यो पनि पढ्नुहोस्