बोलिभियामा पूर्वराष्ट्रपति माेरालेसकाे पार्टीलाई बहुमत, सत्ता हस्तान्तरण नाेभेम्बर आधाबाट हुने

ल्याटिन अमेरिकी देश दक्षिण बोलिभियामा वामपन्थी नेता राष्ट्रपति चुनिएका छन्। 

अक्टोबर १८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा मास पार्टीका लुइस आर्से निर्वाचित भएका हुन्। उनी पूर्वराष्ट्रपति इभो मोरोलस सरकारका अर्थमन्त्री समेत रहेका थिए।

मास पार्टीकै पूर्व विदेशमन्त्री एवं आदिवासी नेता डेभिड चोकाह्वान्का उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। 

गतवर्ष नोभेम्बरमा भएको दक्षिणपन्थी सैनिक विद्रोहपछि बनेको सङ्क्रमणकालीन सरकारले तीन महिनाभित्र सम्पन्न गर्नुपर्ने निर्वाचन जनदवावमा एक वर्षपछि मात्र गराएको हो। 

निर्वाचनमा ‘समाजवादउन्मुख आन्दोलन पार्टी’ (मास) ले बहुमत प्राप्त गरेकाे छ।

बोलिभियाको सर्वोच्च निर्वाचन परिषद्ले २३ अक्टोबरका दिन घोषणा गरेको अन्तिम मत परिणाम अनुसार आर्से ५५.१० प्रतिशत मतका साथ निर्वाचित भएका हुन। प्रमुख प्रतिद्वन्द्वीका रूपमा नागरिक समुदाय गठबन्धन (सीसीए) का उम्मेदवार कार्लोस मेसाले ३२ प्रतिशत र अर्का अति दक्षिणपन्थी नेता लुइस फर्नान्डो कामाचोले १४ प्रतिशत मत प्राप्त गरेका छन्। 

निर्वाचन परिषद्का अनुसार ७३ लाख ३२ हजार ९२६ सूचीकृत मतदातामध्ये ६४ लाख ८३ हजार ८९३ जनाले मतदान गरेका थिए। जुन कुल मतदाता सङ्ख्याको ८८.४ प्रतिशत हाे। जसलाई बोलिभियाको इतिहासमा सबैभन्दा धेरै मत खसेकाे त्यहाँका समाचार एजेन्सीले जनाएका छन्। 

गतवर्ष अक्टोबरमा भएको निर्वाचनमा इभो मोरालेस स्पष्ट बहुमतका साथ निर्वाचित भएका थिए। तर नोभेम्बरमा दक्षिणपन्थी पार्टीहरुलाई साथ दिएर सेना र प्रहरीको नेतृत्वले विद्रोह गरेपछि मोरालेसले देशमा गृहयुद्ध हुन नदिन भन्दै राजिनामा दिएर अर्जेन्टिनामा निर्वासित भएका थिए। त्यसको तीनमहिनाभित्रै अर्को राष्ट्रपतीय निर्वाचन हुनुपर्ने भए पनि विभिन्न बाहानामा निर्वाचन हुन सकेको थिएन।

१३० सदस्यीय सिनेटका एक तिहाइ सिटका लागि सिनेटरहरुको निर्वाचनसमेत भएको निर्वाचनमा मास पार्टीका उम्मेदवारहरु बढी विजयी भएका छन् र संसद्को दुबै सदनमा मास पार्टीले बहुमत प्राप्त गरेकाे छ।

मत परिणाम सार्वजनिक भएपछि पूर्वराष्ट्रपति मोरालेसले पद छोड्ने बेला भने ट्वीट गरेका छन्, ‘मास पार्टीले स्पष्ट विजय पाएको छ। हामीले आफ्नो प्रतिवद्धता पूरा गरेका छौं, हामी पुनः दसौं लाखको सङ्ख्यामा पुगेका छौं। निर्वाचनमा बोलिभियाली जनताले शान्तिपूर्वक मतदानमा भाग लिए र देशको बहुराष्ट्रिय प्रजातन्त्रप्रति आफ्नो समर्थन पुष्टि गरे। सङ्क्रमणकालीन सरकार र सेनाले जनमतको कदर गर्नुपर्छ।’

राष्ट्रपतिमा निर्वाचित नेता लुइस आर्सेले बोलिभियाली जनताले प्रजातन्त्र पुनःस्थापना गर्न र देशलाई फिर्ता लिन सफल भएको बताउँदै आफूहरूले सबैको लागि शासन गर्ने र घृणारहित तवरले परिवर्तन ल्याउने बताएका छन्।

बोलिभियामा सहज रुपमा सत्ता हस्तान्तरण हुन सकेमा भएमा नोभेम्बरको आधाबाट आर्सेले आफ्नो कार्यकाल सुरू गर्नेछन्। सर्वोच्च निर्वाचन परिषद् –टीएसईका अध्यक्ष साल्भाडोर रोमेरोले कार्यपालिका र व्यवस्थापिका दुबैमा नोभेम्बरको मध्यदेखि निर्वाचित सत्ताले जिम्मेवारी थाल्ने बताएका छन्।

विपक्षी पार्टी र नेताहरूले समेत निर्वाचनको मतपरिणाम र मास पार्टीको स्पष्ट विजय स्वीकार गरेका छन्। नागरिक समुदाय गठबन्धनका उम्मेदवार कार्लोस मेसाले निर्वाचनमा मास पार्टीको जीत र आफ्नो हार स्वीकार गर्दै भनेका छन्, ‘पहिलो भएका उम्मेदवार र सीसीएका उम्मेदवारको मतअन्तर धेरै फराकिलो छ। प्रजातन्त्रमा विश्वास गर्ने जो कोहीलाई यस निर्वाचनमा विजयी को बने भन्ने कुरा स्पष्ट छ। एक पटकको जीत सधैँका लागि जीत र एक पटकको हार सधैँका लागि हार हुने गर्दैन।’

सैनिक विद्रोहबाट आएकी अन्तरिम राष्ट्रपति जियानिन एनेजले पनि मास पार्टीको जीतलाई स्वीकार गर्दै आर्से र चोकाह्वान्कालाई बधाई दिएकी छिन्। ‘हामीसित अझै आधिकारिक मतगणनाको परिणामले मास पार्टीले स्पष्ट बहुमत पाएको देखिएको छ। म विजयी उम्मेदवारहरुलाई बधाई दिन्छु र उहाँहरुलाई प्रजातन्त्र दिमागमा हालेर बोलिभियामा शासन गर्न अनुरोध गर्दछु,’ उनले ट्वीट गरेकी छिन्।

प्रकाशित मिति: : 2020-11-07 08:08:00

प्रतिकृया दिनुहोस्