सङ्खुवासभाका १० वटै स्थानीय तहका एक हजार ९८० घरधुरीका फुसको छाना हट्ने भएको छन्।
शहरी विकास मन्त्रालयले गरीब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत जिल्लाका स्थानीय तहमा फुसको छानो हटाउन थालेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले जनाएको छ।
सरकारले नागरिकका घरको फुसको छानो भएकाहरुलाई जस्तापाता लगाउन अनुदान उपलब्ध गराउने भएको छ।
सुरक्षित नागरिक आवास कार्यक्रमले घरमा फुसको छानोमुनि बस्न बाध्य गरीब तथा विपन्न समुदायको अवस्थाको चाँडै अन्त्य हुने सुरक्षित नागरिक आवास समन्वय समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले जानकारी दिए।
फुसको छानो भएकै कारण हरेक वर्ष आगलागीको विपत्ति निम्तिने गरेको स्मरण गराउँदै सरकारले फुसको छानो विस्थापन गरी जस्तापाता लगाउन यस्तो अनुदान कार्यक्रम ल्याएको सांसद गौतमले जानकारी दिए। सांसद गौतमले भने, 'सङ्खुवासभाका १० वटै स्थानीय तहका फुसको छानो नहटेसम्म सुरक्षित नागरिक आवास कार्यक्रम चलिरहने छ।'
खाँदबारीका ३४०, चैनपुरका ३६०, धर्मदेवीका १८६, पाँचखपनका २४३ र मादीका १६५ घरधुरीले जस्तापाताका लागि रकम पाउनेछन्। त्यसैगरी चिचिलाका १२९, भोटखोलाका ६१, मकालुका १४४, सभापोखरीका १६३ र सिलिचोङका १७९ घरधुरीले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत अनुदान पाउने आयोजनाले जनाएको छ। सुरक्षित आवास निर्माणवापत रु ५० हजार उपलब्ध गराइने छ।
सेवाग्राहीलाई पहिलो किस्तास्वरुप रु ३० हजार उपलब्ध गराइने छ। घर निर्माणका लागि जस्तापाता खरीद गरेको बिल भर्पाइ पेश गरिसकेपछि बाँकी रकम पाँच प्रतिशत व्यवस्थापन खर्च कटाएर उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ।
कार्यविधिले तोकेबमोजिमका सम्भावित लाभग्राही प्रत्येक वडास्तरबाट लाभग्राहीको तथ्याङ्क सङ्कलन भइरहेको सुरक्षित नागरिक आवास समन्वय समितिका सदस्य जिल्ला समन्वय समिति अध्यक्ष सुमन शाक्यले बताए।
सरकारले देशभरका २० हजार घरधुरीलाई सुरक्षित आवासका लागि करीब रु एक अर्ब बराबरको बजेट वितरण गर्न लागिरहेको छ। उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउन सम्बन्धित स्थानीय तहमा मन्त्रालयले फाराम पठाएको छ।
मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्न आफूहरु कटिबद्ध रहेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका आयोजना प्रमुख एकराज अधिकारीले बताए। रासस