नेविसंघ दाङका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकीले दुई वर्षअघि जिन्दगीमा आफूले गरेका कामको हिसाब गर्न बसे।
३६ वर्षको उमेरसम्म के गरेँ भनेर पछि फर्केर हेरे।
आफ्नो जम्मै समय साथीभाइसँग फगत गफ चुटेर बित्दो रहेछ, कि भने संगठनका ठूला नेताहरूको पछि लाग्दै विभिन्न कार्यक्रममा जाने र भाषण गरेर बित्ने।
सार्वजनिक मञ्च पाउँदा उनी कम्ता जोसिन्नथे। ती मञ्चमा धेरै पटक आर्थिक समृद्धि र कृषि क्रान्तिका भाषण गरे। दर्शक दिर्घाबाट निकै ताली पाए। त्यही तालीको तालमा उनले आफैंलाई समेत बिर्सिन्थे, जुनतारा झार्दिने कुरा गर्न के गाह्रो!
उमेरको उकालो चढ्दै गएपछि उनले आफ्ना भाषणबारे गम्न थाले। तौलिन थाले।
दिनभर गाउँघरको चौतारो, बजारका चिया पसलमा भुलेर, डुलेर, गफ दिएर समय खेर फालेको आत्मबोध भयो।
जीवनमा आत्मबोधले सबैभन्दा ठूलो ज्ञान दिने रहेछ भन्ने उनलाई लाग्छ।
'आफूले केही गरेमात्रै अरूलाई भन्न सुहाउँछ। मलाई नेता भएर भाषणमात्र गरेर हुन्न उदाहरण भएर पेश गर्नुपर्छ भन्ने आत्मबोध भयो,' उनले भने।
त्यही बोधले उनलाई लखर–लखर डुलेर र गफ चुटेर मात्रै महत्वपूर्ण समय खेर नफाल्ने निधोमा पुर्यायो।
तर गर्ने के?
आफ्नो हातमा सीप केही छैन! आजसम्म सिकेको भाषण राजनीतिबाहेक कुनै अरू इलममा काम लाग्दैन। तर केही न केही आर्थिक उपार्जन गर्ने हुटहुटी उनमा थियो। अनेक विकल्पमा घोत्लिए।