जेठ २०७४ मा महोत्तरीको औरही नगरपालिका–२, मुसहरी टोलकी ३५ वर्षीया उर्मिला देवी सदा घरायसी कामकाजको लागि ऋणको खोजीमा थिइन्। आर्थिक विपन्नताको कारण गाउँघरका साहु महाजन कहाँ हार–गुहार गर्दा समेत ऋण कतै ऋण पाइनन्।
औरहीमै सञ्चालित साझा लघुवित्त सहकारीमा मासिक रुपमा केही रकम जम्मा गर्ने गरेकीले उर्मिलाले त्यहाँ पनि ऋण मागको प्रस्ताव गरिन्। संस्थाले इन्कार गर्यो।
सहकारीमा ऋण माग्न पुगेकी उनलाई त्यहीँ कार्यरत विजय चौधरीले आफूले व्यक्तिगत ऋण लगानी गर्ने गरेको कुरा सुनाए। तर ‘बजारको हजार’ ब्याजदरमा। अर्थात ५० हजार ऋणमा औरहीमा प्रत्येक शुक्रबार र मंगलबार लाग्ने हरेक बजारको एक हजार रुपैँया ऋण तिर्नुपर्ने। बाध्य भएर उर्मिला घरको जोहो टार्न चौधरीसँग ५० हजार ऋण लिइन्।
चौधरी विगत पाँच वर्षदेखि बजारको हजार ब्याजदरमा ऋण लगानी गर्ने औरही बजारका नामुद मिटरब्याजी हुन्।उर्मिलालाई ५० हजार रुपैँया ऋणको महिनामा आठ हजार रुपैँया ब्याज तिनुपर्ने भयो। कतैबाट पैसाको आम्दानी थिएन। तापनि उर्मिलाले मासिक रुपमा ६ हजार रुपैँया चौधरीलाई ब्याज बुझाउन थालिन्।