फ्रेञ्च राष्ट्रपतिको चेतावनी– हिंसालाई कुनै हालतमा स्वीकार गरिन्न

इस्लाम धर्मलाई आतंकवादसँग जोड्दा विश्वव्यापी आलोचना खेपिरहेका फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोले हिंसालाई आफूले स्वीकार नगर्ने चेतावनी दिएका छन्। 

उनले मुस्लिम समुदायको आफूले सम्मान गर्ने र मुसलमानहरूको पैंगम्बर मोहम्मदको काटुर्न बनाएको कुरामा आफू आहात भएको तर हिंसालाई कुनै पनि हालतमा स्विकार नगर्ने बताए। 

धार्मिक दंगाका कारण दुई साताभित्र फ्रान्समा दुईवटा हमला भइसकेको छ। कक्षा कोठामा विवादास्पद कार्टुन प्रदर्शन गर्ने आफ्नै शिक्षकको टाउको एक मुस्लिम युवाले काटेका थिए। यसपछि निस सहरमा चर्च बाहिर एक महिलासहित तीन व्यक्तिलाई चक्कु प्रहारबाट हत्या गरिएको थियो। 

शनिबार पनि अज्ञात बन्दुकधारीले चर्चका एक पादरीको गोली हानि हत्या गरेका छन्। यो घटनामा एकजना संदिग्ध पक्राउ परेका छन्। 

लगातारको आक्रमणपछि सरकारले देशभरि सैनिक सुरक्षालाई कडा पार्नुका साथै बढाएको पनि छ। म्याक्रोले यो घटनालाई इस्लामिक आतंकवादसँग जोडेर हेरेका थिए। यसपछि मुस्लिम देशले फ्रान्सको सामान बहिस्कार गर्ने अभियान नै चलाएका छन्। 

एउटा मिडिया हाउससँग कुरा गर्दै राष्ट्रपति म्याक्रोले मोहम्मद पैगम्बरको कार्टुन बनाएको विषयमा आफूले समर्थन नगर्ने बताएका छन्। कार्टुनले धेरै मानिसको भावनामा चोट पुगेको भन्दै उनले यो पुरै मुद्धालाई गलत तरिकाले ब्याख्या गरिएको बताए। 

उनले अभिव्यक्ति स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्ने बताए। 

फ्रान्सको मुद्धा सेलाउन नपाउँदै क्यानडामा पनि एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ। क्युबेक सहरमा आइतबार भएको घटनामा दुई व्यक्तिको निधन भएको छ। ५ जना घाइते छन। 

आक्रमणकारीलाई समाउन प्रहरीले पुरै क्षेत्रको घेराबन्दी गरेको छ। एकजना पक्राउ परेको बताइए पनि सबै कुरा बाहिर आएको छैन।

प्रकाशित मिति: : 2020-11-01 16:52:00

प्रतिकृया दिनुहोस्