महिला फुटबलको लागि रौतहट आधारभूमि नै हो। अहिलेको सिनियर राष्ट्रिय टोली होस् या उमेर समूहको, रौतहटका खेलाडीहरूको बाहुल्य हुने गर्छ।
अझ भनौँ महिला फुटबलको कप्तान जन्माउने जिल्ला नै हो रौतहट। त्यहीँको सानो गाउँ बागमतीकी लक्ष्मीकुमारी पौडेलले सोचेकी थिइनन् एक दिन नेपाली फुटबलमा बेग्लै छवि बनाउँछु भनेर।
गाउँमा पुरुष टिमसँगको प्रतिस्पर्धाले निखारिएका खेल कौसलले उनलाई नेपाली महिला राष्ट्रिय टिमको उत्कृष्ट मिडफिल्ड बन्न मद्दत गर्यो। ६० सालको दशकको सुरुमा घरबाट फुटबल खेल्न हौसला पाए पनि समाज भने उनलाई बाधक थियो।
केटी भएर जर्सी लगाएर मैदान उत्रनुलाई त्यतिबेलाको समाजले रुचाइँदैनथ्यो। तर, अरूको मतलब गरिनन्। यात्रा बढाइन्। जसले नेपाली फुटबलका लागि यादगार बन्न सफल भएकी छन्।
फुटबलको सुरुवाती चरण सम्झँदै लक्ष्मी भन्छिन्, ‘गाउँमा महिलाको फुटबल टिम थिएन, गाउँका केटाहरूसँग मिलेर कहिले खाली खुट्टा त कहिले पुरानो जुत्ता लगाएर खेलिन्थ्यो। शारीरिक रुपमा बलिया केटाहरूसँग भिड्न सारै गाह्रो हुन्थ्यो।’
घरनजिकै खेल मैदान भए पनि प्रशिक्षकको अभाव थियो। उनको खेल कौशलले अपेक्षाअनुरूप उचाइ लिन सकेको थिएन। २०६० साल साउन १ गते भने उनको खेल जीवनमा एकाएक परिवर्तन नै आयो।
शेरबहादुर दलार्मीले रौतहटमा महिला टिमलाई प्रशिक्षण दिने भए। तर लक्ष्मीको हकमा यो प्रशिक्षण लिन पाउनु कठिन भयो। घरबाट झण्डै १३ किलोमिटर टाढा चन्द्रनिगाहपुर पुग्न बिहान ४ बजे नै उठेर जानुपर्ने बाध्यता थियो। तर उनले हिम्मत हारिनन्। कहिले साइकल त कहिले बिहानै आउने बसमा झुन्डिएर खेल मैदानसम्म पुग्थिन्।